विदेश जान नदिन २ जना सिपाहीलाई पागल बनाइयो !

विदेश जान नदिन २ जना सिपाहीलाई पागल बनाइयो !

नेपाली सेनाभित्र बदमासीका नयाँ रुप देखिन थालेको छ । राष्ट्रसंघीय मिसनमा जानको निम्ति हानाथाप गर्ने क्रममा आफ्नै सहकर्मीलाई पागल प्रमाणित गराइएको आरोप छ ।

मिलेमतोमा पागल घोषित गराएर अवसरबाट वञ्चित गराइएका ती सैनिक अहिले सेनाको ब्यारेकभित्र ड्युटीमा रहेको बताइन्छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरास्थित रणबम गणमा कार्यरत सिपाही धर्मसिंह कार्की र घमनसिंह खड्कालाई कागजी रुपमा मानसिक रोगी प्रमाणित गरेर विदेश जानबाट वञ्चित गराएको बताइन्छ । गणले फिल्ड अस्पताल धनगढीको बोराडाँडीलाई अस्ति लेखेको पत्रमा थप उपचारबारे जानकारी गराइदिन अनुरोध गरिएको छ ।

सहसेनानी हेमराज जोशीले लेखेको पत्रमा भनिएको छ, ‘त्यस अस्पतालमा उपचार तथा काउन्सिलिङपश्चात् निजहरुलाई ड्युटीमा लिन सकिने वा नसकिने, विस्तृत स्वास्थ्य अवस्था के कस्तो छ खुलाई यस गणमा पठाइदिने व्यवस्था हुन अनुरोध ।’

त्यसअघि उनीहरुको जिल्ला अस्पताल डडेलधुरामा उपचार गराइएको पनि गणले स्पष्ट पारेको छ । डडेलधुरा अस्पतालले निजहरुलाई ड्युटीमा खटाउन नसकिने रिपोर्ट दिएको पनि सेनाले उल्लेख गरेको छ ।

उक्त अस्पतालका मानसिक रोग विज्ञले त्यस्तो रिपोर्ट दिएको आधारमा कार्की र खड्कालाई मिसन जानबाट रोकिएको हो ।

यता बिरामी भनिएका सैनिकका परिवारले डाक्टरले बिरामीलाई चेक नै नगरी औषधि लेखेको आरोप लगाएका छन् । पीडित सिपाहीहरुले पनि त्यस्तै बताएका छन् । तर उनीहरु अहिले ब्यारेकमा तोकिएको जिम्मेवारीमा रहेको स्रोतको दाबी छ ।

स्वास्थ्य परीक्षणमा संलग्न डाक्टर निरञ्जन भट्टराईले भने शान्ति सेनाको विषय आफूलाई थाहा नभएको बताए । करारमा डडेलधुरा अस्पताल गएका बखत आएका बिरामीलाई परीक्षण गर्ने क्रममा उनीहरु पनि जाँच्न आएको उनको भनाइ छ । कतिपय मानसिक रोगीको उपचार उनीहरुको परिवारले दिएको विवरणको आधारमा पनि गरिने भट्टराईको दाबी छ ।

अहिले तीमध्ये एक जना काठमाडौंको छाउनी अस्पतालमा थप उपचारको निम्ति आएपछि आफूलाई फोन गरेर सोधेको जानकारी दिँदै भने, ‘त्यस्तो अवस्थामा रहेका बिरामीलाई केही समय हातहतियार,सवारी साधन र अन्य जोखिमयुक्त कामबाट टाढै बस्ने सल्लाह दिइन्छ । उनीहरुको रोगको लक्षणअनुसारको औषधी र सल्लाह दिएको हुँ ।’

उताबाट फर्केपछि डा. भट्टराई मानसिक अस्पताल लगनखेलमा कार्यरत छन् ।

 

टिप्पणीहरू