टेकुमै फोहोर रोकियो,नुवाकोटको त कुरै नगरौं

टेकुमै फोहोर रोकियो,नुवाकोटको त कुरै नगरौं

राजधानीका सडकमा फोहोर नउठेको धेरै भयो । अधिकांश चोक र सडक किनारा नै सिसडोलको पर्यायवाची भएका छन् । महानगरपालिकाको टेकुस्थित फोहोर संकलन तथा प्रशोधन केन्द्रमै स्थानीयले अवरोध पुर्याएका छन् ।

नवनिर्वाचित मेयर र उपमेयर फोहोर व्यवस्थापनको लागि भन्दै नुवाकोटको सिसडोल र बञ्चरेडाँडा पुगेका छन् । त्यहाँका स्थानीयले पनि वर्षौंदेखि समाधान नगरिएका माग अघि सारेका छन् । यता टेकुस्थित महानगरपालिकाको वातावरण व्यवस्थापन तथा कृषि विभाग ट्रान्सफर स्टेशनमा स्थानीयले फोहोर बोकेर आएका सवारी साधनलाई रोकेका हुन् ।

उनीहरुले हिजैदेखि स्टेशनको ढोका बन्द गराएका छन् । फोहोरका कारण दुर्गन्ध फैलिनुका साथै बिभिन्न प्रकारका रोग फैलिएकाले अन्यत्रबाट फोहोर ल्याउन नपाइने उनीहरुको माग छ । स्टेशनमा भएका फोहोर पनि तत्काल हटाउनु पर्ने माग राख्दै राजु महर्जनको नेतृत्वमा स्थानीयले हिजो हिजो धर्ना दिएका हुन् ।

स्टेशनमा दैनिक ८० देखि ९० वटा फोहोरका गाडी पुग्थे । उता सिसडोल र बन्चरेका स्थानीयले पनि बिरोध गरेका कारण टेकु थप दुर्गन्धित भएको हो । राजधानीका अधिकांश सडक र चोक फोहोरको थुप्रोमा परिणत भएका छन् । समस्या समाधानमा मेयर बालेन साहको प्रयास जारी रहेको महानगरपालिकाको दाबी छ ।

टिप्पणीहरू