किन पटक पटक उठ्छ गाँजाको वैधानिकता सम्बन्धी माग ?

किन पटक पटक उठ्छ गाँजाको वैधानिकता सम्बन्धी माग ?

नेपालमा गाँजा ओसारपसार तथा बेचबिखन कानुनी रुपमा अपराधिक क्रियाकलाप हो । अंग्रेजीमा क्यानाबीस भनिने गाँजा प्रतिबन्ध लगाइएको झण्डै पाँच दशक हुन लागिसकेको छ ।

उत्पादन र बिक्री दुवैमा प्रतिबन्ध भएको गाँजालाई पुनः वैधानिक गर्न माग गरिएको छ । गाँजालाई फुकुवा गर्ने कि प्रतिबन्ध लगाउने अहिले सामाजिक बहसकै विषय बनेको छ । नेपाल गाँजा वैधानिक महाअभियान नै चलाएर गाँजामा भएको प्रतिबन्ध फुकाउन सरकारलाई दबाब दिन थालिएको हो ।

‘घरघरमा रोजगार, गाँजा नै नेपालको प्रथम व्यापार’ नाराका साथ महाअभियान चलाइएको छ । आफ्नो माग पूरा गर्नुपर्ने भन्दै युवाहरुले संघीय संसद भवन, बानेश्वर अगाडि शान्तिपूर्ण आन्दोलन जारी राखेका हुन् । उनीहरुले अस्ति राष्ट्रपति विद्यादेवी भण्डारी संसद भवनमा संवोधन गर्न जानुअघि पनि बानेश्वरमा प्रदर्शनको प्रयास गरेका थिए ।

मुलुकलाई आर्थिक, सामाजिक, पर्यटकीय हिसाबले समृद्ध बनाउन गाँजा खेती गर्न अनुमति दिनुपर्ने आन्दोलनमा संलग्न युवाहरुको जोड छ । क्यान्सर, एचआईभीजस्ता रोगको निम्ति अचुक औषधी हुने भएकाले पनि गाँजा उत्पादन र बेचबिखन खुला गरिदिनुपर्ने महाअभियानका सञ्चालक रबिन्स डाँगीको भनाइ छ ।

गाँजालाई लागूऔषध र कुलत भनेर भ्रमको भुमरीमा पार्ने काम भइरहेको डाँगी बताउँछन् । उनले नियमन तथा व्यवस्थापन गरेर गाँजा उत्पादनलाई स्वीकृति दिन सरकारसँग माग गरेका छन् ।

फेरि किन उब्जियो गाँजाको वैधानिकताको विषय ?

अहिले संघीय संसदमा प्रतिनिधि सभाको बैठक चलिरहेको हुनाले उनीहरुले गाँजामा वैधानिकताको विषय उठाएका हुन् । नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री शेरबहादुर तामाङले गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्नेसम्बन्धमा दर्ता गरेको विधेयक संसद्बाट पारित गर्न उनीहरुले माग गरेका छन् । अन्यथा अध्यादेश जारी गर्नुपर्ने उनीहरुको भनाइ छ ।

सांसद् तामाङले २०७६ फागुन १९ गते संसदमा पेश गरेको विधेयकमा गाँजा खेती खुल्ला गरी वैज्ञानिक अनुसन्धान, खाद्य र व्यवसायिक प्रयोजन, औषधि उत्पादनका लागि उपलब्ध गराउन प्रस्ताव गरिएको छ । गाँजा खेतीलाई व्यावसायिक बनाइ विदेश निर्यात गर्दा अर्थतन्त्रमा टेवा पुग्ने प्रस्तावनामा उल्लेख छ ।

त्यसैले पनि गाँजालाई गैरअपराधिक बनाउनुपर्ने भनिएको हो । ५० हजार युवाको संलग्नता रहेको महाअभियानमा विगत चार वर्षदेखि एउटै कुरा उठिरहेको बताइन्छ । सरकारले कस्तो पदार्थलाई लागुपदार्थ भन्ने नै नबुझेको उनीहरुको आरोप छ ।

गाँजा कडा नशालु पदार्थ नभए पनि सरकारले त्यसअन्तर्गत नै राखेको युवाहरु बताउँछन् । आजसम्म गाँजा सेवन गरेर कसैले कुनै अपराध नगरेको उनीहरु दाबी गर्छन् । गाँजालाई लागुऔषध भन्नै नमिल्ने ठहरसमेत गरिएको छ ।

संघीय संसदमा पेश भएको विधेयकमा के छ ?

‘गाँजा खेती (व्यवस्थापन) ऐन, २०७६’ मा गाँजाको गैरकानुनी उत्पादन, बिक्री वितरण तथा उपयोगलाई नियन्त्रण गर्ने सम्बन्धमा आवश्यक कानूनी व्यवस्थाबारे व्याख्या गरिएको छ । विधेयकमा एक घर परिवारमा घरायसी प्रयोजनका लागि बढीमा ६ वटासम्म गाँजाको बोट उमार्न सकिने उल्लेख छ । त्यसैगरी, कपडा बनाउन र औद्योगिक प्रयोजनका लागि पनि यसको खेती गर्न पाउनुपर्ने भनिएको छ ।

अनुमतिपत्र नलिई गाँजा खेती गर्न, ओसारपसार गर्न वा निकासी गर्न पाइनेछैन । यसको नियमन भने प्रस्तावित बोर्डबाट गरिने विधेयक लेखिएको छ । कसैले पनि पत्रपत्रिका तथा रेडियो, टेलिभिजन, एफएम, इन्टरनेटलगायत सञ्चारमाध्यममा गाँजाबाट बनेका पदार्थको विज्ञापन वा प्रवद्र्धन गर्न नपाउने विधेयकमा उल्लेख छ ।

युवा पुस्तामा गाँजाको मोह बढ्दो

गाँजा मध्य र दक्षिण एसियाको रैथाने बाली हो । नेपालको पनि तराई र पहाडी क्षेत्रमा गाँजा पाइन्छ । पछिल्लो समय मुलुकमा लुकीछिपी गाँजा खेतीसमेत गर्ने गरिएको छ । यसको सेवन मनोरञ्जनको निमित्त गरिने भएकाले युवा पुस्तामा गाँजाको मोह बढ्दो छ ।

आनन्दको लागि पनि यसको सेवन गरिन्छ । अरुको देखासिकी गर्नाले पनि युवा पुस्ताहरुलाई गाँजा लतझै लागेको बताइन्छ । दुःख, पीडा कम गराउने मनोवैज्ञानिक प्रचारका कारण युवाहरु गाँजा सेवन गर्न रुचाउँछन् । भगवान शिवको प्रसादको संज्ञा दिदै नेपाली समाजमा गाँजा ग्रहण गरिने पाइन्छ ।

गाँजा विभिन्न रोगका निम्ति धेरै उपयोगी हुने अनुसन्धानकर्ताहरुको ठहर छ । शारीरिक पीडा, अपच, अनिन्द्राजस्ता स्वास्थ्य समस्याको उपचारका निमित्त यो निकै नै प्रभावकारी हुने अनुसन्धानकर्ताहरुको निष्कर्ष छ ।

शरीरमा क्यान्सर फैलाउने कोष मार्न र रक्सी तथा अन्य हानिकारक लागुऔषधको लत छुटाउन पनि उपयोगी हुने बताइएको छ । तर, यसको फाइदा मात्र नभएर बेफाइदा पनि उत्तिकै छ । युवा पुस्ता नै गाँजाको लतमा लठ्ठिए भने मुलुकको स्थिति के होला ?

के भन्छ सरकारी निकाय ?

गृह मन्त्रालयअन्तर्गत लागुऔषध नियन्त्रण व्युरोले गाँजा लागुऔषधमै पर्ने ठहर गरेको छ । व्युरोका मुख्य लागुऔषध नियन्त्रण अधिकारी भीष्मकुमार भुसालका अनुसार विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनले नै गाँजालाई लागुऔषधमा राखेको हो ।

तर, औषधिजन्य प्रयोजनका निम्ति गाँजाको प्रयोग गर्न पाइने उनको भनाइ छ । औषधीजन्य प्रयोजनकै लागि भनेर गाँजा खुला गर्नुपर्ने प्रस्ताव कानुन मन्त्रालय पठाएको नियन्त्रण अधिकारी भुसालले जानकारी दिए । औषधिजन्यबाहेक अन्य प्रयोजनमा गाँजाको प्रयोग गर्न नपाइने उनी बताउँछन् ।

कुनकुन मुलुकमा वैध छ ?

प्रायः पश्चिमा मुलुकहरुमा गाँजाको सेवन र बिक्री वितरण खुल्ला गरिएको छ । व्यक्तिगत, मेडिकल र अनुसन्धानात्मक प्रयोजनका निम्ति केही वर्षयता गाँजालाई मान्यता दिइएको हो । अमेरिकाका विभिन्न १८ प्रान्तमा गाँजामाथिको प्रतिबन्ध फुकुवा छ । अष्ट्रिया, फ्रान्स, जर्मनी, फिनल्याण्ड, पोल्याण्ड, स्पेन, स्लोभाकिया, नर्वे, साइप्रसलगायतका मुलुकमा औषधिजन्य प्रयोजनका निम्ति अनुमति दिइएको छ ।

[pdf-embedder url=”https://www.janaaastha.com/wp-content/uploads/2022/05/i.pdf”]

टिप्पणीहरू