एक्ला बालेन हुलका हुल,कसरी फुट्ला विकासको मूल ?

एक्ला बालेन हुलका हुल,कसरी फुट्ला विकासको मूल ?

अघिल्लो स्थानीय तह निर्वाचनमा विवेकशील नेपाली दलकी रञ्जु दर्शनाले काठमाडौँ महानगरको मेयरमा २३ हजार ४ सय ३९ मत प्राप्त गरिन् । काँग्रेस,एमाले र माओवादी केन्द्रजस्ता ठूला पार्टीको दबदबा रहेको नेपाली राजनीतिमा रन्जुले पाएको मत चानचुने थिएन । त्यस्तै,स्वतन्त्र उम्मेदवार रहेका पूर्व शहरी विकास सचिव किशोर थापाले पनि १८ हजार ४९६ मतसहित चौथो स्थान हासिल गरे । रन्जु र किशोरले माओवादी केन्द्रका उम्मेदवारलाई निकै पछि पारेर क्रमश: तेस्रो र चौथो स्थान बनाएका हुन् ।

०७४ सालको संघ र प्रदेश चुनावमा पनि विवेकशील साझाका उम्मेदवार रवीन्द्र मिश्रलाई काठमाडौँका मतदाताले गहिरो प्रेम प्रकट गरेकै हुन् । काठमाडौँ-१ बाट उम्मेदवारी दिएका मिश्रले पटक-पटक चुनाव जितेका र मन्त्रीसमेत भैसकेका नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहलाई कडा चुनौती दिएका थिए । तथापि सिंहसँग उनी मात्र ८ सय १९ मतले पराजित भए ।

त्यतिबेला भर्खरै दर्ता भएको विवेकशील साझाको मजबुत संगठन थिएन । तैपनि सत्ता–राजनीतिमा लामो समय हालीमुहाली गरेका पुराना र ठूला राजनीतिक दलका प्रभावशाली नेतालाई चुनावमा कडा टक्कर दिएको थियो ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीले काठमाडौँमा अकल्पनीय सफलता पायो । जनयुध्दको रापतापसहित आएको माओवादीप्रति काठमाडौँका मतदाताले आफ्नो मतमार्फत निकै ठूलो विश्वास र भरोशा प्रकट गरेका थिए ।

“काठमाडौँका मतदाताको पुराना पार्टी र सत्ताप्रतिको असन्तुष्टीको मत के बालेनको जीतको आधार बन्ला त ? संगसंगै उनले चुनाव जिते भने काठमाडौँका जनतामा जगाएको आशा पूरा गर्न सक्लान् ? सधैँ सत्ताको विपक्षमा उभिने यहाँका मतदाताले पाँच वर्षपछि अर्को पात्र खोज्नुपर्ने अवस्था आयो भने बालेनको जीतको सार्थकता रहला कि नरहला ?”

संघीय राजधानीसमेत रहेको काठमाडौँमा तुलनात्मक रुपमा शिक्षित मतदाता छन् भनिन्छ । कतिपयले चैं काठमाडौँमा हुने चुनावी परिणामको उथलपुथललाई सत्ताको विपक्षमा उभिने यहाँका मतदाताको मनोविज्ञानसँग जोडेर हेर्ने गरेका छन् । दलतन्त्रले गाँजेको नेपाली समाजमा काठमाडौँले हरेक चुनावमा आफूलाई फरक कित्तामा उभ्याउने गरेकाले पनि यसो भनिएको होला ।

६२/६३ को राजनीतिक परिवर्तन पछिका तीन वटा चुनावलाई मात्रै हेर्ने हो भने काठमाडौँका मतदाताले सत्ताको विपक्षमा आफूलाई उभ्याएको देखिन्छ । ठूलो आशा, भरोशा र विश्वास जगाएर आएको माओवादी २०७० सालको दोस्रो संविधानसभा निर्वाचनसम्म पुग्दा काठमाडौँमा शून्य हुन पुग्यो । प्रभावकारी विकल्प नदेखेपछि काठमाडौँका मतदाताले फेरि कांग्रेस र एमालेलाई नै अर्को मौका दिए ।

यतिबेला काठमाडौँमा बालेन साहको चर्चा छ । पुराना पार्टीबाट वाक्क दिक्क भएका काठमाडौँका मतदातामाझ भरोशा र विश्वास बोकेर मैदानमा उत्रिएका उनले काठमाडौँ महानगरको मेयरको दौडमा आफूलाई कांग्रेस र एमाले जस्ता जनस्तरसम्मै जरा गाडेका पार्टीलाई कडा चुनौती दिएका छन् । मतगणनाको प्रारम्भदेखि नै अग्रता बनाएका बालेनले महानगरका चार वटा वडामा मतगणना जारी रहँदा वर्षौदेखि राजनीतिमा लागेर कपाल फुलाएका एमालेका केशव स्थापित र कांग्रेसका सृजना सिंह पछि परेका छन् ।

“सबैतिर दलतन्त्रले गाँजिएको समाजमा बालेनहरु सेना बिनाका सेनापति जस्तो भए भने कसरी काम गर्लान् !

बालेनले एमालेको गढ मानिएका वडाहरुमा स्थापितले भन्दा बढी मत पाइरहेका छन् । ०७४ को चुनावमा एमालेले जितेको वडा नम्बर १,२,३ र ३२ मा बालेनको पक्षमा लहर देखिएको छ । नक्साल,कमलपोखरी क्षेत्र रहेको वडा नम्बर १ एमालेको प्रभाव क्षेत्र हो, त्यहाँ स्थापितभन्दा उनी बलिया छन् भने वडा नम्बर २ (लाजिम्पाट) वडा नम्बर ३ (महाराजगन्ज), वडा नम्बर ४ (बालुवाटार) र ३२ (कोटेश्वर)मा पनि उनले उत्साहजनक मत पाएका छन् ।

मतगणनामा सहभागी एक प्रतिनिधिका अनुसार हालसम्म मत गनिएका ती वडामा कांग्रेस र एमालेका मतदाताले एक भोट लौरोमा हालेर बाँकी आ-आफ्नो पार्टीमा हालेको पाइएको छ । भोटको यो ट्रेन्ड कोर सिटीमा पनि कायम रहे बालेनले चुनाव जित्ने अवस्था रहेको बताइन्छ ।

अब प्रश्न उठ्छ,काठमाडौँका मतदाताको पुराना पार्टी र सत्ताप्रतिको असन्तुष्टीको मत के बालेनको जीतको आधार बन्ला त ? संगसंगै उनले चुनाव जिते भने काठमाडौँका जनतामा जगाएको आशा पूरा गर्न सक्लान् ? सधैँ सत्ताको विपक्षमा उभिने यहाँका मतदाताले पाँच वर्षपछि अर्को पात्र खोज्नुपर्ने अवस्था आयो भने बालेनको जीतको सार्थकता रहला कि नरहला ? चुनावी परिणाम कुरेर बसेका उनका समर्थकहरुको मनमनमा उठिरहेको सवाल हो यो ।

अर्कोतिर स्वतन्त्रले काठमाडौँ हाँक्न सक्दैन भन्ने जवर्जस्त धारणा पनि छ । पुरानो र घिसेपिटे राज्य संयन्त्रको परिधिमा बसेर काठमाडौँका जनताको आकांक्षा पूरा गर्न पक्कै पनि उनलाई सहज हुने छैन । सबैतिर दलतन्त्रले गाँजिएको समाजमा बालेनहरु सेना बिनाका सेनापति जस्तो भए भने कसरी काम गर्लान् ! अनि अहिले घर्लप्पै भोट खन्याएका राजधानीका मतदाता एक वर्षमै उनै बालेनको विकल्प खोज्न अग्रसर नहोलान् भन्न सकिंदैन ।

बालेनले मेयर जितेर हिन्दी सिनेमाको “नायक” अनिल कपुरले झैँ रातारात ‘चकाचक’ पार्न पक्कै पनि सक्दैनन् । सबैभन्दा महत्वपूर्ण कुरा उनीसँग आफ्नो टीम छैन । उपमेयरदेखि वडा सदस्यसम्म सबै दलबाटै निर्वाचित भएर आउने छन् । मेयर र उप-मेयर फरक दलको हुँदा नगरसभामा लफडा भएका कयौँ उदाहरण देखिएका छन् । यदि बालेनले चुनाव जिते भने सबैभन्दा ठूलो चुनौती त्यहि हुनेछ । यात्रुले भरिएको जहाजको एक्लो पाइलट जस्तै भएर काठमाडौँले खोजेको विकल्प दिन बालेनलाई पक्कै पनि सजिलो हुने छैन ।

टिप्पणीहरू