फरक पेशाका महिलाको बढ्दो राजनीतिक मोह

फरक पेशाका महिलाको बढ्दो राजनीतिक मोह

राजनीतिमा महिला सहभागितामा केही चुनौती बढिरहेको अवस्थामा पनि फरक पेशा र व्यवसायमा व्यस्त महिलाहरुले राजनीतिक पार्टी रोज्ने प्रवृत्ति बढेको छ । योसँगै विभिन्न राजनीतिक पार्टीमा आबद्ध भई वर्षौंदेखि योगदान दिएका महिला नेतृहरु अवसरबाट वञ्चित भएको गुनासो पनि आउन थालेको छ ।

राजनीतिलाई नै पेशाको रुपमा लिँदै सक्रिय राजनीति गरिरहेका महिला नेतृहरु अहिले नेतृत्व तहमा कम देखिन्छन् । यसो हुँदा स्वयम् उनीहरु निराश बन्दै अरु काम र पेशा रोज्ने अवस्थातिर पुग्ने स्थिति आएको छ ।

तर अर्कोतर्फ अन्य क्षेत्रका महिलाहरुको राजनीतिमा नयाँ अनुहार देखिने क्रम बढेको छ । वषौँदेखि राम्रोसँग राजनीति पनि नबुझेका बरु दुई चार पैसा कमाउने र अन्य क्षेत्रमा चर्चा कमाएका महिलाहरुमाथि अहिले राजनीतिक दल र तिनका नेताको नजर पर्न थालेका छन् ।

यसको उदाहरण आसन्न स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकामा नेकपा एमालेबाट उपमेयर पदमा उठेकी उम्मेदवार सुनिता डंगोललाई लिन सकिन्छ । पहिले मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी उनलाई सोझै पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दलबाट उम्मेदवार बनाउने निर्णय गरेका हुन् ।

यसैगरी स्वतन्त्र व्यक्तिहरु चुनावको मुखमा वा चुनाव उठ्नैका लागि दलमा प्रवेश गर्ने क्रम यसपटक पनि देखिएको छ । काठमाडौं महानगरको उपमेयरकी उम्मेदवार डंगोलले यसअघि एमालेको साधारण सदस्यसमेत नलिएको बताइन्छ । तर, उनी यो चुनावमा उक्त दलबाट उम्मेदवार बनेकी छन् ।

उनी बाहेक एमालेमा थुपै महिलाहरु पार्टीभित्र लामो समयदेखि योगदान दिँदै आएका छन् । पार्टी नेतृत्वले उनीहरुको कुनै मूल्याङ्कन नगरी पार्टीभित्र सोझै नयाँ अनुहारलाई अवसर दिनु नितान्त दुःखको विषय भएको एमालेका महिला नेतृहरुको गुनासो छ । तर उनीहरु खुलेर त्यो कुरा राख्न सक्ने अवस्थामा देखिँदैनन् ।

यी हुन् राजनीतिका नयाँ अनुहार

दशकअघि मिस नेवाः को ताज पहिरिएकी सुनिता डंगोल राजनीतिमा नयाँ अनुहार हुन् । रेडियो र टिभीमा विभिन्न शो चलाएकी उनले कोरोना महामारीमा कल्लीजात्रा नाम दिएर नेपाल भाषाको कक्षा सञ्चालन गरेकी थिइन् । उनले त्यतिबेला नेपाल भाषा कक्षाको शिक्षिकाको रुपमा आफूलाई उभ्याएकी थिइन् ।

तर २९ वर्षीया डंगोल काठमाडौं महानगरपालिकामा लामो समयदेखि आवद्ध रहेको खबर पनि बाहिरिएको छ । उनी कुनैबेला काठमाडौं महानगरपालिकामा सहायक विज्ञको रुपमा कार्यरत थिइन् । उनी रञ्जना लिपीकोसमेत विशेष जानकार हुन् ।

यस्तै, एमालेले विराटनगर महानगरमा पनि फरक पेशामा आवद्ध महिलालाई उपमेयरको प्रत्यासी बनाएको छ । एमालेको उपमेयर उम्मेदवार बनेकी शिल्पा निरौला कार्की पेशाले फेशनडिजाइनर भएको बताइन्छ ।

साथै, उनी कोशी अस्पताल विकास समितीको सदस्य पनि रहेकी थिइनन् । उम्मेदवारीमाथि दाबी विरोध प्रस्तुत हुने क्रममा उनको उम्मेदवारी प्रचलित कानुन विपरित भएको उजुरीपछि मात्र उनले अस्पतालको सदस्य पदबाट राजीनामा दिएकी हुन् । तर, उनी सुनिता जस्तो गैरपार्टी सदस्य उम्मेदवार भने होइनन् । एमालेको विराटनगर महानगर कमिटीको उपाध्यक्ष पनि हुन् ।

वर्षौंदेखि राजनीतिक भूमिकामा रहेका महिलालाई फरक क्षेत्रका नव आगन्तुक महिलाले विस्थापित गर्ने शृंखलास्वरुप अभिनेत्री करिश्मा मानन्धर केही पहिले एमालेमा प्रवेश गरेको कतिपय महिला नेतृहरुको ठहर छ ।

अघिल्लो निर्वाचनताका डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको केन्द्रीय सदस्य रहेकी उनी यसपटक एमाले प्रवेश गरेकी हुन् । अभिनेत्री मानन्धरको मूल पेशा राजनीति होइन । उनी चलचित्र क्षेत्रमा लामो समयदेखि सक्रिय छिन् ।

उता राप्रपाकी नेतृ रेखा थापालगायत थुप्रै महिलाहरु अन्य क्षेत्रबाट राजनीतिमा प्रवेश गरेका उदाहरणहरु प्रशस्त छन् । यसरी फरक क्षेत्रमा राम्रो अनुभव बटुलेका व्यक्तिहरू थप अवसरका लागि राजनीतिमा प्रवेश गर्नाले राजनीतिक दलप्रति हेर्ने जनताको दृष्टिकोण नै खस्किएको महिला नेतृहरु आरोप लगाउँछन् ।

राजनीतिमा सक्रिय महिलाहरू

नेकपा एमालेबाट काठमाडौँ महानगरपालिकाको उपमेयर उम्मेदवारको सिफारिसमा परेकी कान्ति अधिकारी पनि एक हुन् । तर, पार्टीले सिफारिसका लागि छनोट गरेकी उनी सिफारिसमै सीमित भइन् ।

उनी एमालेको केन्द्रीय सदस्य पनि हुन् । पार्टी नेतृत्वले गरेको पछिल्लो निर्णयप्रति उनी पनि खुशी देखिन्नन् । राजनीतिमा योगदान दिएका महिलाहरुप्रति हेर्ने कमजोर दृष्टिकोणका कारण उनीहरु अवसरबाट बञ्चित हुने गरेको अधिकारीको बुझाइ छ ।

उपमेयरकी उम्मेदवार सुनिताले आफू सक्षम भएकाले एमालेले टिकट दिएको भन्ने अभिव्यक्तिप्रति कान्तिले भनिन्, ‘यसको मतलब एमालेले अहिलेसम्म कुनै सक्षम महिला उत्पादन गर्न सकेको छैन । राजनीति नै नबुझेकालाई अघि सार्दा हामी जस्ता वषौँदेखि राजनीति गर्ने महिला कुण्ठित भएका छन् । त्यसमा एमाले मात्र नभई अन्य पार्टी पनि उही र उस्तै हुन् ।’ पूँजीवादी विचारधाराका व्यक्तिलाई पहुँच कै आधारमा पार्टीभित्र अवसर दिएमा राजनीतिक दल र निकाय नै राम्रोसँग चल्न नसक्ने उनको दाबी छ ।

उता नेकपा एकीकृत समाजवादीकी पोलिट्ब्युरो सदस्य दिलु पन्तले पहुँचकै भरमा जो कोहीलाई राजनीतिमा अवसर प्रदान गर्नु उपयोगवाद र पूँजीवादको सम्मिश्रण भएको उल्लेख गरिन् । आन्दोलन र दुःख नगरी आज कुनै पार्टीले एउटा व्यक्तिको राम्रो परिवारिक र आर्थिक पृष्ठभूमि हेरेर उसलाई अवसर दिएमा लोकतन्त्रको लागि त्याग गरेका व्यक्ति अन्यायमा पर्ने उनको भनाइ छ ।

आन्दोलन गरेर लोकतन्त्र ल्याउन अहम् भूमिका खेलेका व्यक्तिहरुभन्दा धन, सम्पत्ति र नजिकका नातेदार मात्र स्थानीय तह निर्वाचनको उम्मेदवार बन्न लायक हुने भएपछि यस्तो प्रवृत्तिको विरोध गर्नुपर्ने उनको धारणा छ ।

उनले जनआस्थासँगको कुराकानीमा भनिन्, ’देशमा आन्दोलन गरेर लोकतन्त्र ल्याउन ठूलो भूमिका निर्वाह गरेका हजारौं व्यक्ति विभिन्न पार्टीमा छन् । तर, उनीहरुलाई अहिलेसम्म कुनै राजनीतिक दलले पत्याएका छैनन् । उनीहरुले धन सम्पत्ति, नातेदार, आसेपासे मात्रै हेरेका छन् ।’ उनले अगाडि भनिन्, ‘अहिले स्थानीय तह निर्वाचनका उम्मेदवारहरुकै कुरा गर्ने हो भने पनि धेरै स्थानमा त्यही प्रवृति देखिन्छ । कतै ठेकेदार, छोरी, छोराबुहारी, धेरै पैसा भएका व्यक्ति त कतै पहुँचवाला स्थानीय तहमा उम्मेदवार बनेका छन् । हामी कुनै पहुँच नभएका व्यक्तिहरू पछाडि परेका छौं । त्यति हुँदैमा हामी निराश भने हुन्नौं । हामी अझै राजनीतिमा दत्तचित्त भएर लागिरहन्छौं ।’

यता, मेयरको दावेदारका रुपमा २०७४ को निर्वाचनदेखि नै चर्चामा आए पनि यसपटक समेत उम्मेदवारीबाट वञ्चित एमालेकी युवा नेतृ इन्दिरा पन्तले भने फरक विचार राखेकी छन् । उनी सुनिता जस्ता युवा पुस्तालाई राजनीतिमा स्थान दिएमा सबै जनताको आस्था र भरोसा बढ्ने बताउँछिन् ।

बागमती प्रदेश सरकारका ऊर्जा, खानेपानी तथा सिचाईंमन्त्री वसन्त मानन्धरकी पत्नीसमेत रहेकी पन्त एमालेको काठमाडौं जिल्ला कमिटी सदस्य हुन् । मानन्धर नेकपा एकीकृत समाजवादीबाट मन्त्री बनेका हुन् भने नेतृ पन्त एमालेमै छिन् ।

टिप्पणीहरू