कर्णालीमा पनि धेरै वटा ‘अतिसंवेदनशील’ र ‘संवेदेनशील’ मतदान केन्द्र

कर्णालीमा पनि धेरै वटा ‘अतिसंवेदनशील’ र ‘संवेदेनशील’ मतदान केन्द्र

आसन्न स्थानीय तह निर्वाचनमा कर्णाली प्रदेशका तीन सय ९२ वटा मतदान केन्द्रलाई अतिसंवेदनशीलमा वर्गीकरण गरिएको छ । ती मतदान केन्द्रमा राजनीतिक दलका नेताहरुबीच वादविवाद, झैभगडा र बुथ कब्जाको सम्भावना रहेको सुरक्षा विश्लेषणको अनुमान छ । जम्मा १० जिल्ला रहेको उक्त प्रदेशमा १३ सय ८५ वटा मतदान केन्द्र तोकिएका छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यलयका प्रवक्ता हिराबहादुर पाण्डेले मतदान केन्द्रलाई तीन तहमा वर्गीकरण गरिएको बताए । जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा निर्वाचन आयोगले मतदान स्थलहरुलाई अति संवेदनशील, संवेदनशील र सामान्यमा वर्गीकरण गरेको हो ।

उनका अनुसार कर्णाली प्रदेशमा तीन सय ९२ अतिसंवेदनशील, छ सय ५५ वटा संवेदनशील र तीन सय ३८ वटा मतदानस्थल सामान्य रहेको छ । यता प्रदेशमा रहेका नौ सय आठ मतदानस्थलमध्ये तीन सय पाँच अतिसंवेदनशीलको सूचीमा छन् । यस्तै, चार सय छ संवेदनशील र एक सय ९६ सामान्य मतदानस्थल हुन् ।

कुन जिल्लामा कति मतदानस्थल अतिसंवेदनशील ?

जिल्ला सुरक्षा समितिको सिफारिसमा निर्वाचन आयोगले प्रदेशको सबैभन्दा बढी कालिकोटका मतदान केन्द्र र स्थल अतिसंवेदनशीलमा वर्गीकरण गरेको छ । जसमा ८९ वटा मतदान केन्द्र र ७३ वटा मतदानस्थलहरु अति संवेदनशीलको सूचीमा परेका हुन् । सो जिल्लामा निर्वाचनमा धेरैजसो विवाद र झैझगडा हुने गरेको जिल्ला सुरक्षा समितिले जनाएको छ । सुरक्षा निकायले सोहीअनुसार विश्लेषण गरी जिल्लामा सुरक्षा रणनीति अपनाएको बताइन्छ ।

जिल्ला सुरक्षा समितिले प्रदेशको सुर्खेत जिल्लामा दुई सय ९१ मतदानकेन्द्र र एक सय ३८ मतदानस्थलमध्ये ४१ वटा अतिसंवेदनशील मतदानकेन्द्रमा वर्गीकरण गरेको छ । यस्तै, एक सय ५९ संवेदनशील र ९१ वटा सामान्य सूचीमा छन् । यता २९ अतिसंवेदनशील, ७६ संवेदनशील र ३३ सामान्य मतदानस्थल रहेको प्रहरी प्रवक्ता पाण्डेले जानकारी दिए ।

त्यसपछि दैलेख जिल्लामा एक सय ३६ मतदानस्थल र दुई सय सात मतदान केन्द्रमध्ये ६० वटालाई अतिसंवेदनशील मतदान केन्द्रमा वर्गीकरण गरिएको छ । ९१ वटा संवेदनशील र ५६ सामान्य सूचीमा परेका छन् ।

सल्यानमा एक सय १४ मतदानस्थल र दुई सय एक मतादानकेन्द्र रहेको प्रदेश प्रहरीले जनाएको छ । जसमा ६० वटा अतिसंवेदनशील, एक सय ११ संवेदनशील र ३० वटा सामान्य मतदानकेन्द्र हुन् । यता ३८ वटा मतदानस्थललाई अति संवेदनशीलमा वर्गीकरण गरिएको छ । ६० वटा संवेदनशील र १२ वटा सामान्य सूचीमा छन् ।

सुरक्षा विश्लेषणअनुसार रुकुमपश्चिममा ३२ वटा अति संवेदनशील मतदानकेन्द्र छन् । निर्वाचन आयोगले ती जिल्लामा निर्वाचनका लागि ७६ मतदान केन्द्र र एक सय ३९ मतदानस्थल तोकिएको छ । जसमा ८६ वटा मतदान केन्द्र संवेदनशील र २१ सामान्य छन् । यता मतदास्थलको सम्बन्धमा पनि १९ अतिसंवेदनशील, ४५ संवेदनशील र १२ सामान्य सूचीमा छन् ।

कालिकोटका सबैजसो मतदानस्थल जोखिममा परेका छन् । जम्मा एक सय १९ मतदान केन्द्र र एक सय वटा मतदानस्थल रहेको उक्त जिल्लामा ५० वटा मतदान केन्द्र अति संवेदनशीलको सूचीमा परेका छन् । सोहीअनुसार ७३ वटा मतदास्थललाई अतिसंवेदनशीलमा वर्गिकरण गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

जुम्लामा ७९ वटा मतदानस्थल र एक सय दुई मतदान केन्द्रमध्ये ५० अतिसंवेदनशील, १८ संवेदनशील र ३४ सामान्य मतदान केन्द्र रहेका छन् । यस्तै, जिल्लाका ४१ वटा मतदानस्थल अति संवेदनशीलमा राखिएको छ । भने १५ वटा संवेदनशील र २३ वटा सामान्य सूचीमा छन् ।

सुरक्षा विश्लेषणअनुसार अन्य जिल्लामा जस्तै मुगु, डोल्पा, र हुम्लाका मतदानस्थल र केन्द्रलाई पनि तीन तहमा वर्गीकरण गरिएको छ ।

जिल्ला प्रशासन कार्यलय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अधिकारीका अनुसार अघिल्लो निर्वाचनमा भएका विविध गतिविधिका आधारमा मतदानकेन्द्र र स्थलको वर्गीकरण गरिएको हो ।

उहाँले भन्नुभयो, ‘२०७४ को निर्वाचनका आधारमा मतदानकेन्द्र र स्थलको वर्गीकरण गरिएको हो । विगतको चुनावमा भएका घटनालाई हेरेर अतिसंवेदनशील मतदानस्थल र केन्द्र छुट्याउने गरिन्छ । अहिले अतिसंवेदनशीलको वर्गीकरणमा परेका मतदान केन्द्रमा अघिल्लो चुनवमा भएका झैभगडा र बुथ कब्जा जस्ता घटना भएका थिए ।’

निर्वाचनमा सुरक्षा व्यवस्था

स्थानीय तह निर्वाचनमा कर्णाली प्रदेशमा प्रहरी र म्यादी प्रहरीसहित १२ हजारभन्दा बढी प्रहरी परिचालन गरिने भएको छ । प्रदेश प्रहरीले दिएको जानकारीअनुसार मतदानस्थलमा पाँच हजार चार सय प्रहरी र सात हजार सात सय ५३ जना म्यादी प्रहरी खटिने छन् ।

सुर्खेत जिल्लाका मतदानस्थल र केन्द्रमा महिला र पुरुष गरि १२ सय ६९ जना म्यादी प्रहरी परिचालन गरिने छ । यस्तै, दैलेखमा १९ सय ४४, जाजरकोटमा छ सय ८२, रुकुम पश्चिममा छ सय ८७, सल्यानमा एक हजार ४४, कालिकोटमा आठ सय ९५, जुम्लामा छ सय ६९, मुगुमा चार ५७, डोल्पामा पाँच सय १२ र हुल्लामा तीन सय ९४ जना म्यादी प्रहरी खटाउने तयारी भएको प्रवक्ता पाण्डेले जनआस्थालाई बताए ।

उनका अनुसार स्थानीय तह निर्वाचनमा अतिसंवेदनशील मतदानस्थलमा तीन जना प्रहरी र आठ जना म्यादी प्रहरी परिचालन गर्ने निर्णय गरिएको छ । मतदान केन्द्रमा मतपेटीका थप भएमा प्रतिमतदान केन्द्रमा एक जना प्रहरी र दुई जना म्यादी परिचालन गर्ने तयारी गरिएको छ ।

सामान्य मतदानस्थलमा तीन जना प्रहरी र पाँच जना म्यादी, संवेदनशील मतदानस्थलमा तीन जना प्रहरी र छ जना म्यादी परिचालन गर्ने निर्णय गरिएको बताइन्छ । यसका साथै प्रहरीले निर्वाचनमा ड्रोनको प्रयोग गरेर खबर संकलन तथा निगरानी समेत गर्ने भएको छ । मतगणनास्थलको सुरक्षा र इजाजतपत्र प्राप्त निजी हतियार निर्वाचन अवधिभर नजिकको प्रहरी कार्यालयमा सुरक्षित राख्ने जिम्मा प्रहरीलाई दिइएको छ ।

आगामी निर्वाचनमा कर्णालीका एक लाख एक हजार दुई सय ८२ मतदाताले १३ हजार एक सय २६ उम्मेदवारलाई मतदान गर्ने छन् । ७९ वटा स्थानीय तह रहेको सो प्रदेशमा ५४ गाउँपालिका र २४ नगरपालिका छन् ।

टिप्पणीहरू