दुईतिर खुट्टा हाल्ने डेढ सय, ‘भाग्य फैसला’ भोलि

दुईतिर खुट्टा हाल्ने डेढ सय, ‘भाग्य फैसला’ भोलि

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई हिजो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईको पालैपालो फोन आयो । उम्मेदवारी मनोनयन दर्ताको भोलिपल्ट देशभरका विवरण संकलनमा व्यस्त थपलियालाई दुई पूर्वप्रधानमन्त्रीले पालैपालो फोन गर्नुको कारण भने एउटै थियो – सिन्धुलीका दीर्घराज श्रेष्ठको उम्मेदवारीबारे चासो ।

सिन्धुलीको कमलामाई नगरपालिकामा माओवादी केन्द्रका तर्फबाट श्रेष्ठले उपप्रमुखमा उम्मेदवारी दिएका छन् । तर, उनको नाम समानुपातिक प्रणालीको बन्द सूचीमा रहेकाले निर्वाचन आयोगको सफ्टवेयरमा प्रविष्ट भएन । आयोगले कैफियत जनाएर दर्ता गरेपनि हिजो दिनभर विभिन्न मिडियामा उम्मेदवारी रध्द भएको खबर आएपछि प्रचण्डले त्यसबारे चासो राख्न प्रमुख निर्वाचन आयुक्तलाई नै फोन गर्नुभएको हो ।

प्रचण्डले आफ्ना उम्मेदवारको उम्मेदवारीबारे चासो राख्नु अनौठो कुरा पनि होइन । तर,बाबुरामले समेत यसबारे किन चासो राख्नुभयो होला ? कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेको कमलामाईमा जसपाले उपप्रमुखमा छुट्टै उम्मेदवारी दिएको छ । श्रेष्ठको उम्मेदवारी रद्द गराउन सके आफ्ना उम्मेदवारलाई गठबन्धनको सहयोगमा जिताउन सकिने परिस्थितिको आकलन गरेर भट्टराईको चासो बढेको बुझ्न कठिन छैन ।

मनोनयनको दोस्रो दिन सोमवार रसुवाबाट पनि थपलियालाई त्यसैगरी फोन आयो । एउटै पदमा एमालेका दुई जनाको उम्मेदवारी परेपछि निर्वाचन अधिकृतको कार्यालयले दुवै जनाको उम्मेदवारी रद्द गरेको सूचना निकाल्यो । एमालेबाट आमाछोदिङमो गाउँपालिका अध्यक्षमा तेब्रल तामाङले शुरुमा मनोनयन दर्ता गराएका थिए । यसअघि नयाँ शक्ति पार्टीमा छँदा उनको समानुपातिक सांसदको बन्द सूचीमा नाम पठाइएको थियो । तर,बन्दसूचीबाट नाम नहटेकाले रसिद काटेर पनि उनको मनोनयन दर्ता भएन ।

“समानुपातिकको बन्दसूचीमा नाम भएका झन्डै १५० जनाले उम्मेदवारी दर्ता गराएका छन्, जसमध्ये अधिकांशलाई आफ्नो नाम बन्दसूचीमा रहेको पनि थाहा छैन । आयोगका कर्मचारीहरुलाई अहिले उनीहरुको फोन उठाएर सम्झाउनैको हैरानी छ । “

तामाङको उम्मेदवारी रद्द भएपछि एमालेले फुर्पूसिंगी तामाङको नाममा लगत्तै मनोनयन दर्ता गरायो । तर, दुइटा राजश्वको रसिद दाखिला भएकाले अध्यक्षमा दुई जनाको नाम दर्ता हुन पुगेको भन्दै उनको पनि उम्मेदवारी रद्द भयो । त्यसपछि चर्केको विवाद र समस्या समाधानको उपाय खोज्न प्रमुख आयुक्त थपलियालाई फोन आएको हो । पछि थापलियाकै निर्देशनमा कैफियत जनाएर दोस्रो उम्मेदवारी कायम गरिएको छ ।

धादिङको थाक्रे गाउँपालिकामा टिकट कुरी बसेका एमालेका आधिकारिक उम्मेदवारले थाहै नपाउने गरी बिचैमा अर्का एक व्यक्तिले उम्मेदवारी दर्ता गराए । पार्टीको आधिकारिक पत्र लिएर पुगेका उनलाई मनोनयन गर्न ठूलै सास्ती खेप्नुपर्यो । अन्तिममा प्रमुख आयुक्त थापलियाकै निर्देशनमा कैफियत जनाएर मनोनयन दर्ता गरियो । ‘एमालेको पहिले नै उम्मेदवारी दर्ता भैसकेको भएता पनि म आधिकारिक भएकाले फेरि दर्ता गरि पाऊँ’ भनी उनले दिएको निवेदनलाई संगै राखेर अन्तिममा मनोनयन भयो ।

उम्मेदवारी मनोनयनका क्रममा विगतमा पनि यस्ता त्रुटी हुने गरेकाले निर्वाचन आयोगले यसपटक मनोनयनका लागि दुई दिनको समय दिएको थियो । तर,त्यो कामयाव भएन । अन्तिम एक घण्टामा चापाचाप गरेर दलहरु उम्मेदवारी दिन गएका कारण पहिलेको भन्दा पनि बढी त्रुटी छ,यसपटक । निर्वाचन आयोगका अनुसार समानुपातिकको बन्दसूचीमा नाम भएका झन्डै १५० जनाले उम्मेदवारी दर्ता गराएका छन्, जसमध्ये अधिकांशलाई आफ्नो नाम बन्दसूचीमा रहेको पनि थाहा छैन । आयोगका कर्मचारीहरुलाई अहिले उनीहरुको फोन उठाएर सम्झाउनैको हैरानी छ ।

देशभर ठूलो संख्यामा यस्तो देखिएपछि निर्वाचन आयोगले आज यसबारे छलफल गरेको छ । आयोगले १२ गतेभन्दा अघि दलहरुले पठाएका निवेदनका आधारमा सबैको नाम हटाइसकेको भए पनि त्यसयताका निवेदनमाथि भोलि निर्णय गर्ने तयारी छ । कानुनअनुसार भएका सबैको नाम समानुपातिक सूचीबाट हटाइदिने प्रमुख निर्वाचन आयुक्त थपलियाले बताउनुभयो । ‘१२ गतेअघिका सबै यसअघि नै हटाइसकिएको छ । १३ गतेपछि परेका निवेदनमाथि भोलि निर्णय गर्छौँ'”,उहाँले भन्नुभयो ।

बाहिर चर्चा गरिएको जस्तो अहिले नै त्यस्ता उम्मेदवार कसैको पनि मनोनयनम रद्द नभएको पनि उहाँले जानकारी दिनुभयो । छानविनको अवधि अझै बाँकी रहेको र आवश्यक प्रक्रिया नपुर्याई उम्मेदवारी रद्द हुन नसक्ने बताउँदै उहाँले अहिले कैफियतमा राखिएको र ऐनअनुसार निर्णय गर्ने बताउनुभयो ।

‘ऐनअनुसार आयोगले कसैको पनि नाम बन्दसूचीबाट हटाउँदिन भन्न मिल्दैन । हामीले त हटाइदिनै पर्यो’, थपलिया भन्नुहुन्छ, ‘भोलि ११ बजेसम्म हटाइदिन्छौँ पनि । तर, थप छानविन गर्दा निर्वाचन अधिकृतले प्रमाण पुगेको ठानेर स्वीकृत गरे उम्मेदवारी कायम रहन्छ । नत्र रध्द हुन्छ ।’

निर्वाचन आयोगका अनुसार भोलि बेलुकासम्ममा यस्ता सबै विषयको छिनोफानो भैसक्नेछ । त्यसपछि पर्सि एक दिन व्यक्ति वा पार्टीले चाहे आफैँ उम्मेदवारी फिर्ता लिन पाउँछ । गठबन्धनका दलहरुले तालमेल मिलाउन चाहे पर्सि १७ गते आवश्यकताअनुसार उम्मेदवारी झिक्न पाउनेछन् । प्रमुख निर्वाचन आयुक्त थपलियाले पनि १७ गते अगाडि उम्मेदवारी झिक्न चाहे राजनीतिक पार्टीलाई पूर्ण अधिकार रहने स्मरण गराउनुभयो ।

टिप्पणीहरू