चुनावसँगै अत्यासलाग्दो महँगी, महिला जनप्रतिनिधिको आफ्नै गुनासो

चुनावसँगै अत्यासलाग्दो महँगी, महिला जनप्रतिनिधिको आफ्नै गुनासो

सरकारले आगामी वैशाख ३० गते स्थानीय तह चुनावको मिति घोषणा गरेको छ । चुनावको मिति घोषणासँगै राजनीतिक दलहरुमा चहलपहल बढेको छ । लोकतन्त्रको आधारसमेत मानिने भएकाले संघीयतामा स्थानीय सरकारको धेरै महत्व छ । जनतासँग निकटता भएकाले यसलाई घरदैलोको सरकारको रुपमा पनि चिनिन्छ । तर, पछिल्लो समय स्थानीय चुनावमा एकपछि अर्को विकृती र विसङ्गती देखिन थालेको छ ।

बजारमा उपभोग्य सामान महँगिएझैं निर्वाचन पनि निकै मँहगो हुदै गएको छ । चुनावमा जथाभावी खर्च गर्ने प्रवृत्तिले चुनाव र बजार दुबै मँहगो हुँदै गएको जानकारहरु बताउँछन् । एजेण्डा भन्दापनि खानपान र प्रचारप्रसारमा बढी जोड दिने गरिएकाले उक्त अवस्था उत्पन्न भएको हो ।

मतदाताहरुले समेत चुनावी प्रचारप्रसार हेरेर मतदान गर्ने गरेका छन् । विवेकशील, क्षमतावान र कर्तव्यनिष्ठभन्दा पनि पैसा भएकालाई छान्ने गरिएको छ । जसको नतिजा सबैले पछिल्लो पाँच वर्षमा देखिसकेका छन् । कार्यकाल सकिन लाग्दा जनप्रतिनिधिहरुको दौडधुप पुनः सुरु भएको छ । एजेण्डा बनाउनेदेखि चुनावका लागि खर्च जुटाउनेलगायतका कार्यको सुरुवात हुन थालिसकेको छ । तर, चुनाव खर्च जुटाउन महिला जनप्रतिनिधि र आकांक्षीहरुलाई अलिक अप्ठ्यारो भएको परिस्थिति बनेको छ ।

पुरुषको तुलनामा महिलालाई चुनावी खर्चको जोहो गर्न निकै नै गाह्रो परेको बताइन्छ । पुरुषप्रधान मुलुक भएको र अंशको स्वामित्व बढी पुरुषमा हुने भएकाले पनि पुरुष उम्मेदवारलाई केही हदसम्म त्यस्तो कार्यमा सहज छ । अहिले चुनावी खर्च महिला उम्मेदावार र आकांक्षीमाथि बोझ बन्न पुगेको छ । संविधानमा महिला र पुरुषबीच समानुपातिक र सहभागितामूलक प्रतिनिधित्व हुनुपर्ने उल्लेख भए पनि चुनावी भारले समानता देखाएको छैन ।

चुनाव लड्नका लागि धेरै खर्च लाग्ने भएपछि महिलाहरु प्रतिस्पर्धामा उत्रिने संख्या कम हुनु स्वाभाविक हो । त्यसैले चुनावमा उठ्ने पुरुषभन्दा महिला थोरै देखिएका हुन् । जथाभावी हुने चुनावी खर्चमा रोक लगाउनुको सट्टा पार्टीले समेत धनाढ्यहरुलाई टिकट दिने गरेको महिला प्रतिनिधिहरुको गुनासो र आरोप दुवै छ ।

निर्वाचन सामान्य खालको हुनुपर्छ : जानुका पराजुली

सिन्धुपाल्चोकको साँगाचोकगढी  नगरपालिकाकी उपप्रमुख जानुका पराजुलीले धेरै खर्च गर्न सक्नेलाई टिकट दिने काम नै गलत भएको बताइन् । धनाढ्य, व्यापारीलाई टिकट दिने प्रवृत्तिले महिला पछि परेको उनको भनाइ छ । ‘सामान्य खर्च गर्न सक्नेलाई न पार्टीले टिकट दिन्छ, न नागरिकले भोट,’ उनी भन्छिन् ।

नागरिकले पनि आफूलाई कस्तो खालको जनप्रतिनिधिको खाँचो छ त्यो हेर्नुको साटो कुन प्रतिनिधि धेरै पैसावाल छ त्यो हेर्ने गरेको उपप्रमुख पराजुली गुनासो गर्छिन् । राम्रा, प्रतिस्पर्धी र पुरानालाई पार्टीले टिकट दिनुपर्नेमा उनको जोड छ । सिद्धान्त, लक्ष्य र एजेण्डाको आधारमा नागरिकले आफ्नो प्रतिनिधि चुन्दा राम्रो हुने उनको धारणा छ ।

चुनाव मँहगो हुँदा धेरै गाह्रो भयो : जुना जाग्री

बझाङको जयपृथ्वी नगरपालिकाकी उपप्रमुख जुना जाग्री चुनाव महँगो हुँदा धेरै गाह्रो भएको बताउँछिन् । त्यसमाथि पनि महिलालाई चुनावी खर्चको जोहो गर्न निकै गाह्रो हुने उनको भनाइ छ । भएको सम्पत्ति समेत पुरुषको नाममा हुने र आफूसँग भएको गरगहना बेचेर चुनाव लड्न पनि नसक्ने उनी बताउँछिन् ।

पछिल्लो समय राजश्व कम लाग्छ भनेर कसैकसैले महिलाको नाममा सम्पत्ति राख्ने गरेका छन् । तर, राजनीति गर्ने भन्दै उक्त जग्गा बेच्न नमिल्ने उपप्रमुख जाग्रीको भनाइ छ । ‘अझ दुर्गम जिल्लामा आफूले कमाएको रकम पनि घरपरिवारलाई दिनुपर्ने बाध्यता छ,’ उनी भन्छिन् । आफ्नो घरपरिवारले चुनाव लड, हामी सहयोग गर्छौं भनेर कहिल्यै पनि नभनेको उनको भोगाइ छ । जसोतसो चुनाव लडे पनि जनताले महिला प्रतिनिधि भनेर नपत्याउने गरेको तीतो अनुभव उनीसँग प्रशस्त छ ।

जुट्न परेपछि जुटाउन पनि सक्नुपर्यो : गीता बन्जारा

काभ्रेको पनौती नगरपालिकाकी उपप्रमुख गीता बन्जाराले जुट्न परेपछि जुटाउन पनि तयार हुनुपर्ने बताइन् । उनले तडकभडकले नभई सामान्य ढंगले चुनावी खर्च जुटाउन महिलाहरु सक्षम भइसकेको बताइन् ।

आर्थिक खर्च जुटाउनदेखि नगरभित्रका विभिन्न काममा महिलाहरु निकै नै अगाडि आइसकेका छन् । महिलाले पुरुष मेयरहरुलाई चुनौती दिएर अघि बढिरहेको उपप्रमुख बन्जाराको भनाइ छ ।

राजनीतिमा ठेकेदार वर्ग हावी : सिर्जना खड्का

रामेछाप नगरपालिकाकी उपप्रमुख सिर्जना खड्काका अनुसार राजनीतिमा ठेकेदार वर्ग हावी भएकाले चुनाव महँगो हुँदै गएको हो । राजनीतिलाई राजनीति भन्नै नसकिने अवस्था आएको उपप्रमुख खड्काको अनुभव छ । ‘खर्च गरेर चुनाव जित्ने प्रवृत्ति बढ्दो छ, समाजमा चेतनशील मतदाता कम भएकाले पनि यस्तो भएको हो,’ उनको भनाइ हो यो ।

सामान्य तरिकाले चुनाव सम्पन्न गर्नुको साटो भड्किलो प्रचारप्रसार र भोजभतेर गर्नु विकृतिको एउटा पाटो रहेको उनको विश्लेषण छ ।

महिला नेतृत्वलाई माथि आउन सहयोग गर्नुको साटो झन् गिराउने काम भइरहेको छ, उल्लेख गर्दै उनी भन्छिन्, ‘यता, मतदाताले पनि कसले नगरको विकास गर्न सक्छ भन्नेमा सोचविचार गरेर मात्र मतदान गर्नुपर्छ ।’ पारदर्शी काम, योजनाको अनुगमनलगायतका कार्यमा आफंै खट्न सक्ने, नगरवासीको समस्यालाई नै आफ्नो समस्या ठान्नेलाई मतदान गरेमा नगरको विकास छिटो हुने उनी बताउँछिन् ।

पैसाको राजनीति सँधै नराम्रो : अप्सरादेवी न्यौपाने

जुम्लाको चन्दननाथ नगरपालिकाकी उपप्रमुख अप्सरादेवी न्यौपानेले पैसाको राजनीति कहिल्यै राम्रो नहुने बताइन् । ‘विशेषतः पार्टीले पनि पैसावाललाई नै टिकट दिन्छ,’ उनी भन्छिन्, ‘यो कार्यमा रोक लगाउनुपर्छ । जुनसुकै प्रतिनिधिलाई क्षमताको आधारमा टिकट दिनुपर्छ ।’

साथै, उपप्रमुख न्यौपानेले यसपटकको चुनावमा मत किन्ने र चुनाव जित्ने प्रवृत्तिमा रोक लाग्नेमा आफू विश्वस्त रहेको जानकारी दिइन् । आमनागरिकमा धेरै चेतना आइसकेको र आफ्नो हकहितमा काम गर्ने जनप्रतिनिधि छान्ने उनको बुझाइ छ ।

टिप्पणीहरू