कोरोनामुक्त क्षेत्र

कोरोना भाइरसका कारण भीडभाड भएको ठाउँमा नजान सरकारले सूचनै जारी गरेको छ । ज्यानको सवाल छ । सूचनै आएपछि त्यसलाई पालना गर्नै प¥यो ।
साँच्चै सूचना जारी भएपछि सडकमा भीडभाड पनि कम देखिन थालेको छ । मान्छेहरूले काममा बाहेक बिनाकाम बाहिर निस्कनै बन्द गरेका हुन् । भीडभाडमा जाने त कुरै भएन ।

तर, यस बीचमा म सोचिरहेको छु, नगरमा भीडभाड त बन्द भयो, यो भीडभाडमा सधैँ सहभागी भइरहने मानिसचाहिँ कता गए त ? घरमै बसे कि ? बाहिर जिल्लातिर गए कि ? अथवा विदेशतिरै लागे ? त्यत्रो ठूलो भीडभाड त्यसै शान्त त हुन सक्दैन ।

सोचिरहेँ, सोचिरहेँ । सोच्दासोच्दै थाहा भयो, अहिले देशको सबैभन्दा ठूलो भीड त काठमाडौंको टिचिङ अस्पतालमा पो रहेछ । (यो सामग्री तयार गरिरहुन्जेलसम्म भीड त्यहीं छ । भोलि यो भीडभाड अन्ततिर सरुवा हुने सम्भावना पनि छ । अथवा सरुवा भइसकेको हुनुपर्छ) टिचिङ अस्पतालमा चाहिँ जति भीड गरे पनि कोरोना नलाग्ने व्यवस्था छ कि क्या हो ?

टिप्पणीहरू