कोरोनाको खुशी

विश्वव्यापी कोरोना भाइरसले गर्दा संसारको अर्थतन्त्रै ध्वस्त होला कि भन्ने अनुमान गर्न थालिएको छ । नेपालको ध्वस्त हुने त कन्फर्मै भयो । किनभने यो वर्षका लागि भनेर घोषणा गरिएको भिजिट नेपाल कार्यक्रम ठ्याप्पै भइहाल्यो । पर्यटक आउन छोडेर पर्यटन व्यवसाय चौपट छ । व्यापार व्यवसाय ठप्प भए पनि मानिसलाई दिक्क लाग्नु स्वाभाविकै हो ।

तर कोरोनाले व्यापार व्यवसाय ठप्प पारेको मात्र होइन, ठप्प भएको व्यापार व्यवसायलाई चकाचक बनाउने काम पनि गरेको छ । कोरोनाको यो पक्षलाई भने बिर्सन मिल्दैन । अहिले हेर्नोस्, बजारमा मास्कको व्यापार कति चकाचक ढंगले बढेको छ । ५ को मास्क ५० रे । ५० को ३०० रे । जति भने पनि हुन्छ । खालि भन्न मात्रै सक्नु पर्छ ।

खाद्यान्नको व्यापार हेर्नोस्, कति घाघडान चलिरहेको छ । पसलमा त जे राखे पनि चट् । चामल राखे चट्, चाउचाउ राखे पनि चट् । ट्वाइलेट पेपरधरी मारामार छ । मेरो टोलमै एउटा किराना पसल छ, बाजेको किराना । दुई वर्षदेखि फाल्छु भनी छुट्याएर राखिएको जिरा मसिनोसमेत चट् । चामल छैन भन्यो कि लुकाएर राखेको आरोपमा पुलिस बोलाउने डर । त्यसैले पुरानो होस् कि नयाँ, बस् बेच्न पाए पुग्यो । पुरानो फाल्नु पर्ने सामानसमेत किनेर लगेकोले बाजे मख्ख छन् । यदि, कोरोना भाइरसको त्रास अर्को छ महिना यसरी नै कायम हुने हो भने देशका जम्मै किराना पसलेहरू लखपति बनेर ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सपना स्वतः पूरा हुन जाने निश्चित छ ।

टिप्पणीहरू