महिलालाई बोक्सी भन्न मिल्छ ? कानुनले यसो गर्न दिन्छ ?

महिलालाई बोक्सी भन्न मिल्छ ? कानुनले यसो गर्न दिन्छ ?

सूचना, समाचार र मनोरञ्जनलगायत सामग्री प्रशारण गर्न सामाजिक सञ्जालको एउटा माध्यम युट्युब प्रयोग हुँदै आएको छ । तर अधिकांश युट्युबले पत्रकारिताको न्यूनतम आचारसंहिता पनि पालना गरेको पाइँदैन ।

हातमा एउटा माइक र क्यामरा बोकेर आफ्नो दैनिक कार्यमा लागिपरेका, सडकमा यात्रा गरिरहेका, बिदाको दिन पारेर पार्कलगायत क्षेत्रमा घुमफिर गरिरहेका सर्वसाधारणमाथि युट्युब आतंक बढेको छ ।

पैसा कमाउने उद्देश्यले प्रांक (जिस्किएका) भिडियोका नाममा जनतालाई दुःख दिने गरेको आरोप छ । मनोरञ्जनका नाममा प्रांक बनाइए पनि त्यसमा मनोरञ्जनभन्दा बढी अश्लीलता हुने गरेको गुनासो सर्वसाधारणले गर्दै आएका छन् । ‘मेरो फलानो मिडियामा बोल्दिनुहोस्’ न भन्दै सर्वसाधारणमाथि दुव्र्यवहार हुने गरेका गुनासा आउन थालेको प्रहरीले बताएको छ ।

इलाका तथा जिल्ला प्रहरी कार्यालयमा प्रांक गरेको भन्दै सर्वसाधारण पुग्ने तर मुद्दा दर्ता भने कमै मात्रामा हुने नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीले बताए । ‘प्रांकसम्बन्धी घटना सामान्यतयाः कमै मात्रामा आउँछन् तर यस्ता घटनामा सामान्य भएका कारण मुद्दा दर्ता गरिँदैन’, उनले भने ।
अर्कोतर्फ युट्युब च्यानलमार्फत मोटो रकम कमाउन अपाच्य भाषा प्रयोग हुने गरेको पनि पाइएको छ ।

जनतालाई अश्लील शब्द बोल्न बाध्य बनाइएको पनि युटुबमा सार्वजनिक केही प्रांक भिडियोमा देख्न सकिन्छ । कपिल मगर नाम राखेर सञ्चालित युट्युब च्यानलमा अश्लील तथा अपाच्य भिडियो प्रशस्त भेट्न सकिन्छ । उक्त च्यानलमा सर्वसाधारणलाई होच्याएर बनाइएका भिडियो धेरै छन् । माघ ६ गते सार्वजनिक एक भिडियोमा महिलालाई बोक्सीसमेत भनिएको छ ।

बोक्सी शब्द प्रयोग गरी प्रांक भिडियो बनाएको विषयमा राष्ट्रिय महिला आयोगले भने कानुनको पाना पल्टाएर हेर्नुपर्ने बताएको छ । जनआस्थासँगको कुराकानीमा आयोगकी प्रवक्ता चमिला भट्टराईले प्रांक भिडियो बनाउँदा सहमति भएको हुनसक्ने आशंका गर्नुभयो ।
बोक्सी आरोपसम्बन्धी कसुर र सजायँ ऐन हेर्न लगाउँदै ‘कानुनविपरीत बोक्सी शब्द प्रयोग गरी भिडियो बनाउने युट्युब सञ्चालक गलत ठहरिए कारबाही हुन्छ’, उहाँले भन्नुभयो ।

सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगनबहादुर हमालले पनि समाजमा प्रतिबन्धित शब्द प्रयोग गरी मनोरञ्जनात्मक सामग्री तयार पार्नु आचारसंहिताविपरीत हुने बताउनुभयो । प्रांक भिडियो बनाउँदा आपसी समझदारी नभएको भए बोक्सी भनिएकी महिलाले मानहानीको मुद्दा दर्ता गर्न सक्ने उहाँको धारणा छ । ‘यदि मिलेमतोमै बोक्सी शब्दको प्रयोग भए युट्युब सञ्चालकले सामाजिक मर्यादाविपरीत बनाइएका सामग्री हटाएर मौखिक अथवा लिखित रूपमा माफी माग्नुपर्ने’ हमालको धारणा छ ।

यता, नेपाल प्रहरीको साइबर ब्युरोले समाजमा प्रतिबन्धित शब्द र भाषा प्रयोग सामाजिक सञ्जालमा प्रकाशन प्रसारण गर्नेमाथि विद्युतीय कारोबार ऐन २०६३ परिच्छेद ९ को दफा ६५ अनुसार कारबाही हुने बताएको छ । जसअन्तर्गत सामाजिक सञ्जालको प्रयोग गरी सर्वसाधारणलाई दुःख दिएमा र अश्लील शब्दको प्रयोग गरेको पाइएमा १ लाख नगद, ५ वर्ष कैद वा दुबै सजाय हुने व्यवस्था रहेको ब्युरोका एसएसपी नवीन्द अर्यालले बताउनुभयो ।

अर्यालले पछिल्लो समय सामाजिक सञ्जाल टिकटक र युट्युबमा समाजलाई अश्लीलतातर्फ धकेल्ने गतिविधि बढिरेको बताउँदै ब्युरोमा आएका उजुरीमा ऐनको दफा ६३ (९) र ६५ अनुसार कारवाही गरिँदै आएको जानकारी दिनुभयो । मिलेमतोमा बन्ने प्रांकका सम्बन्धमा भने उहाँले प्रहरी, सूचना तथा प्रशारण विभाग र सर्वसाधारण जो–कोहीले पनि गराएको जानकारीका आधारमा साइबर ब्युरोले कारबाहीको दायरामा ल्याउने गरेको जानकारी दिनुभएको छ ।

पछिल्लो चार आर्थिक वर्षमा युट्युबसँग सम्बन्धित कूल ८२ वटा घटना भएका छन् । नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार ०७५÷७६ मा ४ वटा घटना भएका थिए । त्यस्तै, ०७६÷७७ मा युट्युबसँग सम्बन्धित घटना दोब्बरले बढेर ८ पुगेको तथ्यांक छ । ०७७÷७८ मा भने यस्ता घटना ५६ वटा भएको पाइन्छ । चालु वर्षको माघ २० गतेसम्मको तथ्यांकलाई हेर्दा यस्ता घटनामा बढोत्तरी पाइएको छ । उक्त अवधिमा १४ वटा युट्युबसँग सम्बन्धित अपराधका घटना साइबर ब्युरोमा दर्ता भएका छन् ।

सरकारले केही दिनअघि मात्र प्रांक भिडियो बनाएर दुःख दिन नपाउने बताएको छ । प्रांक भिडियो निर्माण सामाजिक मर्यादामा आँच नआउने हिसाबले निर्माण गर्नुपर्ने र त्यो पनि अनुमति लिएर मात्र सामाजिक सञ्जालमा सार्वजनिक हुनुपर्ने सरकारी निर्देशन छ ।

टिप्पणीहरू