लागुऔषध कारोबारमा १२ हजार जना समातिए

लागुऔषध कारोबारमा १२ हजार जना समातिए

लागुऔषध कारोबारमा प्रहरीले झण्डै १२ हजार जनालाई समातेको छ । अढाई वर्षको तथ्याङ्कअनुसार उक्त अवधिमा ११ हजार ९ सय ४९ जना पक्राउ परेका थिए ।

पक्राउ पर्नेमा महिलाभन्दा पुरुषको संख्या धेरै छ । आर्थिक वर्ष २०७६/७७ देखि चालू आर्थिक वर्ष २०७८/७९ को पुस मसान्तसम्म ५ सय १८ जना महिला लागुऔषध कारोबारमा पक्राउ परेका छन् । पुरुष ११ हजार ४ सय ३१ जना समातिएका छन् । पक्राउ परेका महिलाको तुलनामा पुरुषको संख्या २२ गुणाले बढी छ ।

लागुऔषध कारोबारमा सबैभन्दा धेरै नेपाली,त्यसपछि भारतीय र तेस्रो मुलुकका नागरिक संलग्न रहेको पाइएको छ । त्यसमा नेपालीपछि बढि पक्राउ पर्नेमा छिमेकी मुलुक भारतका नागरिक छन् । उक्त अवधिमा ३ सय ३४ पुरुष र ८ महिला गरी ३ सय ४२ भारतीय पक्राउ परेका हुन् । तेस्रो मुलुकका २५ पुरुष र ५ महिला गरी ३० जना यसमा परेका छन् ।

लागुऔषध कारोबार क्रमशः बढ्दो

अढाई वर्षको विवरणले नेपालमा लागुऔषध कारोबार डरलाग्दो ढंगले बढिरहेको देखाएको छ । आर्थिक वर्ष २०७६/७७ मा ४ हजार ३ सय ७४ पुरुष तथा १ सय ९९ महिला गरी कूल ४ हजार ५ सय ४६ जना पक्राउ परेका छन् । त्यो वर्ष पनि पक्राउ पर्नेमा नेपालीको संख्या बढी देखिन्छ । उक्त आर्थिक वर्षमा ४ हजार २ सय ४ पुरुष र १ सय ९३ जना नेपाली महिला पक्राउ परेका थिए । सोही अवधिमा १ सय २८ पुरुष र ३ महिला गरी कूल १ सय ३१ जना भारतीय नागरिक प्रहरीको फन्दामा परे । त्यस्तै, १५ पुरुष र ३ महिला गरी १८ विदेशी नागरिकलाई पनि नेपाल प्रहरीले समातेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा त्यस्ता कारोबारीको संख्या बढेको देखिन्छ । त्यो वर्ष ४ हजार ६ सय २६ जना पक्राउ परेका थिए । पक्राउ पर्नेमा ४ हजार ४ सय २६ पुरुष तथा २ सय महिला छन् । तीमध्ये ४ हजार २ सय ८४ पुरुष र १ सय ९५ जना महिला नेपाली हुन् । सोही अवधिमा १ सय ३५ पुरुष र ५ महिला गरी १ सय ४० जना भारतीय नागरिक पक्राउ परेका थिए । आर्थिक बर्ष २०७७/७८ मा तेस्रो मुलुकका महिला नेपालमा पक्राउ नपर्दा ७ जना पुरुष समातिएका थिए ।

“लागुऔषध सेवन गरेपछि यौनजन्य घटनाहरु जबरजस्ती करणी,बलात्कारमा भने कम संलग्नता हुने गरेको पाइएको छ”

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनामा महिला र पुरुष गरी कूल २ हजार ७ सय ७७ जना समातिएका छन् । यो अर्धवार्षिक तथ्याङ्कमा देखिएको संख्या अन्य आर्थिक वर्षको तुलनामा अत्यधिक बढी हो । गत पुस मसान्तसम्म आइपुग्दा २ हजार ६ सय ५८ जना पुरुष र १ सय १९ जना महिला प्रहरीको फन्दामा परेका छन् । जसमा २ हजार ५ सय ८४ जना पुरुष र १ सय १७ जना महिला नेपाली छन् । ७१ जना भारतीय पुरुष पक्राउ पर्दा पुस मसान्तसम्म कुनै पनि भारतीय महिला लागुऔषध कारोबारमा नेपालमा समातिएका छैनन् । तेस्रो मुलुकका भने ३ पुरुष र २ महिला गरी ५ जनालाई प्रहरीले पक्रेको छ ।

अढाई वर्षमा लागुऔषध सम्बन्धी कारोबारीलाई चलाइएको मुद्दाको संख्या सात हजार बढी पुगेको छ । प्रहरीले दिएको तथ्याङ्कका आधारमा उक्त अवधिमा कूल ७ हजार ७ सय ६४ मुद्दा दर्ता भएका छन् । चालु आर्थिक वर्ष २०७६/७७ मा २ हजार ९ सय,आर्थिक वर्ष २०७७/७८ मा ३ हजार १३ तथा चालु आर्थिक वर्षको पुस मसान्तसम्म १ हजार ८ सय ५१ मुद्दा दर्ता भएका छन् ।

यसरी पछिल्लो अढाई वर्षमा नेपालमा लागुऔषधसहित पक्राउ पर्नेको संख्या बढ्दै गएको पाइएको हो । यहि रफ्तारमा लागुऔषध कारोबारी र कारोबारको संख्या बढ्दै गएमा यसले विकराल रुप लिने प्रहरीको भनाइ छ ।
लागुऔषध कारोबारमा १६ देखि २१ वर्ष उमेर समूहको सक्रियता बढी

लागुऔषध कारोबारमा सबैभन्दा बढी किशोरावस्थाका बालबालिकाको संलग्नता पाइएको छ । नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीका अनुसार अन्य उमेरको तुलनामा १६ वर्षदेखि २१ वर्षका बालबालिकाको संलग्नता धेरै रहेको देखिएको हो । जनआस्थासँगको कुराकानीमा उहाँले लागुऔषध कारोबार दिनहुँ बढिरहेको बताउनुभयो ।

प्रवक्ता केसीका अनुसार लागुऔषध कारोबार तथा सेवन गर्नेहरु विभिन्न आपराधिक क्रियाकलापमा समेत संलग्न रहने गरेको पाइएको छ ‘विशेषगरी उनीहरुले लागुऔषध सेवनपश्चात् आफैँबीच झैझगडा,कुटपिट,चोरी तथा लुटपाट गर्ने,पैसाका लागि हत्यालगायतका जुनसुकै अपराध गर्नसमेत तयार हुने गर्छन् । लागुऔषध सेवन गरेपछि यौनजन्य घटनाहरु जबरजस्ती करणी,बलात्कारमा भने कम संलग्नता हुने गरेको पाइएको छ,’प्रवक्ता केसीले भन्नुभयो ।

समीक्षा अवधिमा कारोबारी पक्राउ पर्नेको संख्यामा बृध्दि भएको छ । यसको रोकथाममा प्रहरी मात्र लागेर नपुग्ने भन्दै सुरक्षा स्रोतले भनेको छ, ‘प्रहरीले यसको रोकथामका लागि सचेतनामूलक कार्यक्रमहरु भने गर्दै आएको छ ।’ प्रहरीले सडक,विद्यालय शिक्षा,सचेत अभिभावकलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । त्यसैगरी लागुऔषध दुर्व्यसन तथा कारोबार रोक्न पनि प्रहरी लागि परेको बताइन्छ । तर,यस्ता कार्यक्रम सञ्चालन गर्न बजेट अभाव रहेको प्रवक्ता केसीको गुनासो छ ।

उहाँका अनुसार अहिले लागुऔषध दुर्व्यसनको रोकथाम गर्ने प्रमुख दायित्व स्थानीय सरकारले पाएको छ । सरकारले लागुऔषध दुर्व्यसन रोकथामका लागि स्थानीय सरकारकोमा बजेट पठाए पनि कार्यक्रमहरु कमै मात्रामा सञ्चालन हुने गरेको उहाँको भनाइ छ ।भारतका केही प्रदेशमा लागुऔषध कारोबार गर्न पाउने व्यवस्था भएका कारण पनि नेपाली युवाहरु सीमा पार गरेर लागुपदार्थको सुई लगाई आउने गरेको पाइन्छ । खुल्ला सीमानाका कारण लागुऔषध कारोबार फस्टाएको हो ।

सबैभन्दा बढी गाँजाको कारोबार

नेपालमा अन्य लागुऔषधको तुलनामा गाँजाको कारोबार बढी हुने गरेको पाइएको छ । समीक्षा अवधिमा नेपालमा १६ हजार ६ सय २३ किलोग्राम ५ सय ३९ ग्राम गाँजा प्रहरीले बरामद गरेको हो । प्रहरीले आर्थिक वर्ष २०७६/७७ मा ४ हजार ३ सय ६७ किलो २ सय ७६ ग्राम,आर्थिक वर्ष २०७७/७८ मा ८ हजार २ सय ३४ किलो ७ सय ७४ ग्राम तथा चालू आर्थिक वर्षको पुस मसान्तसम्म ४ हजार २१ किलो ४ सय ८९ ग्राम गाँजा बरामद गरेको छ ।

गाँजापछि नेपालमा चरेश,हेरोइन,अफिम,कोकिनलगायतका लागुऔषध कारोबार हुने गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ । अन्य लागुऔषधतर्फ भने ट्याब्लेट,एम्पुल,कोरेक्सलगायतको कारोबार हुने गरेको छ । यहाँ यावा,पोल्याण्ड तथा खाद जस्ता लागुऔषधको पनि कारोबार हुँदै आएको प्रहरीको तथ्याङ्कले देखाएको छ ।

सुधार केन्द्रको सन्दर्भ

लागुऔषध दुर्व्यसनमा फसेकालाई सुधार केन्द्रमा राखिदिन दैनिक आठदेखि दश वटा फोन आउने गरेको नेपाल प्रहरीद्वारा सञ्चालित आसरा सुधार केन्द्रले जनाएको छ । जनआस्थासँगको कुराकानीमा सुधार केन्द्र रानीबारीका काउन्सिलर विपिन थापाले लागुऔषध दुर्व्यसनीलाई सुधार केन्द्रमा भर्ना गरिदिन आग्रह गर्दै फोन आउने गरेको बताउनुभयो ।

पछिल्लो समय लागुऔषध दुर्व्यसन तथा कारोबारका घटना बढिरहेको छ । सोही अनुपातमा सुधार केन्द्रमा पनि चाप बढेको उहाँले बताउनुभयो । अहिले १६ देखि २५ वर्ष उमेरका सुधारकेन्द्रमा धेरै छन् । सो उमेरभन्दा माथिका पनि जाँडरक्सी सेवन गर्ने,लागुऔषधको प्रयोग गर्नेहरु सुधार केन्द्रमा देखिन्छन् । थापाका अनुसार ५५ वर्षभन्दा माथिको उमेर समूहका मानिसहरु पनि सुधार केन्द्रमा छन् ।

नेपालमा कृत्रिम,अर्धकृत्रिम र प्राकृतिक गरी तीनै प्रकारका लागुऔषध सेवनकर्ता रहेको पाइएको छ । यसप्रकारका लागुऔषधको प्रयोगले मानिसको स्मरणशक्ति कमजोर हुँदै जाने गरेको र आफ्नो दैनिक कामकाजसमेत बिर्सने हुन्छ । लागुऔषध सेवन गर्नेमा डिप्रेशन जस्तो घातक रोग लाग्ने, शंका लाग्ने,बौध्दिकस्तर खस्कँदै जाने,शरीरको ढाँचामा परिर्वतन हुनेलगायतका समस्या देखा पर्ने गरेको थापाको अनुभव छ ।

लागुऔषध सेवनकर्तामा निको नहुने खालका रोगहरु देखा पर्न थालेका छन् । विशेषगरी एचआइभी एड्स, हेपाटाइटिस (ए,बी,सी),क्यान्सरलगायतका रोग देखा पर्ने गरेको थापाको भनाई छ । उहाँका अनुसार लागुऔषध सेवनमा संलग्न रहनेमा किशोरावस्थाका बालबालिका छन् । अभिभावकको निगरानी नहुँदा,गलत साथीभाइको संगतमा परेर कलिलो उमेरबाटै लागुऔषध दुर्व्यसनमा लाग्ने गरेको पाइएको छ ।

तर गाँजाको विषयमा मानिसले भ्रम फैलाएको थापाले बताउनुभयो । ‘गाँजाले मानिसलाई खुशी राख्ने हर्मोन क्रमशः कमजोर बनाउँदै लैजान्छ । तर,नेपालमा युवा पुस्ताले यसलाई चुरोटमा भरेर सेवन गर्दा बुध्दि बढ्ने भन्दै भ्रम छरेका छन् । यो समस्या विकराल हुँदैछ,’ थापाले भन्नुभयो ।

लागुऔषध दुर्व्यसन रोक्न सर्वप्रथम अभिभावक नै सचेत रहनुपर्ने उहाँको सुझाव छ । यस्ता कारोबार, कारोबारी र सेवनकर्ताको विगत अढाई वर्षको तथ्याङ्कलाई विश्लेषण गर्दै थापाले भन्नुभयो, ‘यो समस्यालाई बेलैमा न्यूनीकरण गर्न नसकेमा आगामी दिनमा यसले विकराल रुप लिने निश्चित छ ।’

टिप्पणीहरू