कमल थापालाई रोक्ने को,बोक्ने को ?

कमल थापालाई रोक्ने को,बोक्ने को ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संस्थापक अध्यक्ष कमल थापाले पार्टी छाडेको घोषणा गरेपछि उनी निकट नेताहरुमा अन्योल सिर्जना भएको छ । राप्रपाभित्रै बस्ने वा पार्टी छाडेर कमल थापासँगै जाने भन्ने विषयमा उनीहरुमा द्विविधा सिर्जना भएको हो ।

थापाले हिजो आफू पार्टीबाट निस्केको घोषणा गरेपछि राप्रपाका पूर्वकोषाध्यक्ष उध्दव पौडेलले पनि आज थापाको पदचाप पछ्याउँदै पार्टी छाडेको घोषणा गरेका छन् । गत महाधिवेशनमा थापाको पक्षबाट महामन्त्री विजेता कुन्ती शाहीले भने आफूले धारणा बनाइनसकेको जानकारी दिइन् । उनीलगायत थापा निकट नेता तथा कार्यकर्ताहरुले पार्टी छाड्ने वा नछाड्ने भन्ने विषयमा धारणा बनाउन सकेको देखिँदैन ।

आज पार्टी छाडेका पौडेलले भने पार्टीभित्रको विवाद मिलाउन नसकेका कारण उक्त कदम चाल्न बाध्य भएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा जानकारी गराउँदै आफू पार्टीमा नरहेको व्यहोरा सार्वजनिक गरेका हुन् ।

‘पार्टीभित्रको विवाद मिलाउन अथक प्रयास गरेँ,नसकेपछि दिक्क लागेर आयो । त्यसैले पार्टी छाडेको हुँ,’ उनले जनआस्थासँगको कुराकानीमा बताए ।  पूर्वअध्यक्ष थापा र पार्टी अध्यक्ष लिङ्देन मिल्ने संकेत नदेखेपछि आफूले पार्टी त्यागेको उनको भनाइ छ  । यद्यपि यसबीचमा पूर्वअध्यक्ष थापासँग आफ्नो प्रत्यक्ष भेटघाट भने नभएको बताए ।

“पूर्वकोषाध्यक्ष उध्दव पौडेलले पनि आज थापाको पदचाप पछ्याउँदै पार्टी छाडेको घोषणा गरेका छन् । थापाको पक्षबाट महामन्त्री विजेता कुन्ती शाहीले भने आफूले धारणा बनाइनसकेको जानकारी दिइन् ।”

उनले पार्टीभित्र पूर्वराजपरिवारको हस्तक्षेपपछि संस्थापक र वर्तमान अध्यक्षबीच विवाद उत्पन्न भएको बताए । पार्टी त्यागेपछि उनलाई कमल थापाको पदमार्ग पछ्याएको आरोप लाग्न थालेको छ । यसबारे राखिएको जिज्ञासामा पौडेलले भने, ‘तत्काल त्यस्तो कुनै धारणा बनाएको छैन ।’

राप्रपाले थापाको पार्टी त्याग्ने निर्णयमाथि पुनर्विचार गर्न आग्रह गरेको सम्बन्धमा उनले, ‘त्यो सम्भव नरहेको,’ प्रतिक्रिया दिएका छन् । थापाले नयाँ पार्टी खोल्न लागेको बारेमा उनले ‘हो’ भनेका छन् । उनले भने, ‘नयाँ दल खोल्ने प्रक्रिया अगाडि बढाउनुभएको छ भन्ने सुन्नमा आएको छ ।’

पार्टीमा अध्यक्ष लिङ्देन पक्ष र थापा पक्षलाई मिलाउने कोशिस गरे पनि नसकिएको पौडेलको भनाइ छ । त्यसैले अबको केही दिनभित्र थापा निकट अरुले पनि क्रमशः पार्टी छाडेको खबर आउने उनले बताए ।

यता, महामन्त्री कुन्ती शाहीले भने खुलेर केही पनि बताएकी छैनन् । उनले हिजो मात्रै पार्टी अध्यक्षसँग भेटेको बताउँदै, ‘आफूहरु अझै थापालाई पार्टीमा फर्काउन लागी परेको,’ प्रतिक्रिया दिएकी छन् ।

‘संस्थापक अध्यक्ष थापालाई पार्टी त्याग्ने निर्णयमाथि पुनर्विचार गर्न भनेका छौं,’ शाहीले जनआस्थासँगको कुराकानीमा बताइन् । थापाले नयाँ पार्टी दर्ता गर्न प्रक्रिया अगाडि बढाएको भन्ने विषयमा आफू जानकार नरहेको उनको भनाइ छ ।

टिप्पणीहरू