घरभित्रै गर्भवती महिलामाथि मरणासन्न हुनेगरी कुटपिट

घरभित्रै गर्भवती महिलामाथि मरणासन्न हुनेगरी कुटपिट

काठमाडौंको कागेश्वरी नगरपालिका वडा नम्बर ५ थली बस्ने ३३ वर्षीया पार्वती केसीमाथि निर्घात कुटपिट भएको छ । सात महिनाकोे गर्भवतीसमेत रहेकी केसीलाई आफ्नै जेठाजु र जेठानीले मरणासन्न हुनेगरी कुटपिट गरेका हुन् ।

गर्भवती र उनको कोखमा भएको बच्चालाई मार्ने उद्देश्यले जेठाजु र जेठानीका साथै सासू नाता पर्नेले हातपात गरेको पीडित पक्षले जनाएको छ । कुटाइबाट गम्भीर घाइते भएकी केसी हाल मेडिसिटी अस्पताल,नख्खुमा उपचाररत छिन् । पीडितको स्वास्थ्यमाथि गम्भीर असर पुगेको माइतीपक्षले बताएको छ ।

के थियो घटना ?

गत पुस १९ गते आफ्नै घरमा गर्भवतीमाथि अगुल्टो,बेल्ना र जुत्ता प्रहार भयो । जेठाजु सुवाष पौडेल र जेठानी मञ्जु पौडेलको निर्घात कुटपिटले सात महिनाको गर्भवतीलाई अस्पताल भर्ना गर्नुपरेको हो ।

सामान्य घरायसी विवादलाई लिएर गर्भवतीमाथि ठोस वस्तुले ज्यान लिने गरी प्रहार गर्दा गम्भीर घाइते भएकी उनलाई पहिले नेपाल मेडिकल कलेज अत्तरखेल भर्ना गरियो । गर्भवती महिलाको हात भाँच्चिएको छ भने लगातार रक्तश्राव भइरहेको माइती पक्षले जनाएको छ ।

कुटपिटको उजुरी बोकेर महानगरीय प्रहरी वृत्त,बौध्द पुगेका पीडित पक्षको कुरो प्रहरीले सुनेन । सामान्य घरायसी विवादको विषय भन्दै उजुरी लिन नमानेको गर्भवतीका भाइ उत्तम केसीको आरोप छ ।

‘तेरो पेटमा भएको बच्चालाई मार्छौं,’ भन्दै गर्भवतीमाथि लगातार कुटपिट भयो । गर्भवतीले गुहार भनेर चिच्याएपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।

ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्न माइती पक्षले पटकपटक आग्रह गरे पनि प्रहरीले जाहेरी लिन नमानेको हो । बल्लतल्ल अभद्र व्यवहार कसुरमा प्रहरीले उजुरी लियो । तर, गत पुस २८ गते १५ हजार रुपैयाँको दरले धरौटी तिरेर उनीहरु छुटे ।

छुटेपछि पनि गर्भवतीलाई बारम्बार यातना दिएको पीडितका माइती पक्षले जनाएका छन् । प्रतिवादीहरु धरौटीमा छुट्नेबित्तिकै फेरि पनि उही गतिविधि शुरु भयो । गर्भवती महिलाको चार वर्षीया छोरी तथा आफ्नी भाञ्जी कृपा पौडैललाई समेत मार्ने धम्की दिइएको भाइ उत्तमले बताएका छन् ।

छोरीको ज्यान लिने धम्की दिएपछि उनी फेरि पनि जेठाजु जेठानीको आक्रमणको शिकार बन्न पुगिन् । आफ्नी छोरीको ज्यान लिने धम्की दिएको भन्दै गर्दा उनीमाथि फलामे रड प्रहार गरियो । जेठाजु र जेठानी एवम् सासूआमाकी नाता पर्ने सुशिला घोरासैनीले अश्लील शब्द प्रयोग गर्दै उनलाई फलामे रडले हिर्काएको बताइन्छ ।

‘तेरो पेटमा भएको बच्चालाई मार्छौं,’ भन्दै गर्भवतीमाथि लगातार कुटपिट भयो । गर्भवतीले गुहार भनेर चिच्याएपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।

दुई पटक मरणासन्न हुनेगरी कुटाइ खाएकी गर्भवतीको रक्तश्राव अझै पनि रोकिएको छैन् । उनको टाउको र छातीमा गम्भीर चोट लागेको छ । आफ्नै घरभित्र सात महिने गर्भवतीमाथि कुटपिट भएपछि माइती पक्षले खेद जनाएका छन् ।

भाइ उत्तमले आफ्नी दिदीमाथि पहिले पनि यसरी नै कुटपिट हुने गरेको बताएका छन् । उनले भने, ‘दिदीलाई गालीगलौज गर्दै कुटपिट गरिएको छ । लछारपछार गरी कुटपिट गरेको कारण गर्भमा भएको बच्चालाई समेत चोट पुगेको छ ।’

प्रहरी के भन्छ ?

महानगरीय प्रहरी वृत्त,बौध्दका एक प्रहरी अधिकृतले गर्भवतीमाथि कुटपिट भएको र हाल मेडिसिटीमा उपचार भइरहेको बताएका छन् । उनले भने,‘गर्भवतीमाथि कुटपिट त भएको हो तर हाल अवस्था सामान्य नै रहेको छ ।’ प्रहरीले डाक्टरले दिएको रिपोर्टसमेत सामान्य भएको दाबी गरेका छन् ।

रिपोर्ट सामान्य भएकाले ज्यानमारा उद्योगमा मुद्दा गरिएन । उनले भने, ‘फेरि चौतर्फी दबाब आएपछि अहिले ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा दर्ता गरिएको छ । हाल प्रतिवादीहरुलाई महानगरीय प्रहरी वृत्त,बौद्धमै राखिएको छ भने अदालतमा पेश गर्ने तयारी भइरहेको छ ।’

के भन्छन् पीडित पक्ष ?

आफ्नी दिदीमाथि ज्यान मार्ने मनशायले प्रहार गर्नेहरुलाई कानुनअनुसार कारबाही गर्न भाइ उत्तमले माग गरेका छन् । साथै, उनीहरुले चिकित्सकीय परामर्श वापतको मानसिक खर्च,यातायात खर्च,कानुन व्यवसायीको खर्च दिलाउन माग गरेका छन् ।

त्यस्तै,गर्भवती महिलालाई मासिक आयआर्जन गर्ने ३० हजार रुपैयाँ, कुटपिटबाट गर्भभित्र रहेको बच्चालाई पुगेको असरसमेतको क्षतिपूर्तिको माग गरिएको छ ।

क्षतिपूर्ति र न्यायको माग गर्दै पीडित पक्षले गत मंगलबार प्रहरी वृत्तमा आन्दोलनसमेत गरेका थिए ।

 

टिप्पणीहरू