गैरजिम्मेवार उपप्राध्यापकहरुलाई हटाउने तयारी

गैरजिम्मेवार उपप्राध्यापकहरुलाई हटाउने तयारी
सुन्नुहोस्

त्रिभुवन विश्वविद्यालय पूर्वाञ्चल क्याम्पस, धरानका उपप्राध्यापकद्वय अलंकार काफ्ले र ईन्द्रबहादुर भण्डारीलाई स्पष्टीकरण सोधिएको छ । लामो समयदेखि बिना जानकारी कार्यालयमा गैरहाजिर रहेका उनीहरुलाई त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालय, कर्मचारी प्रशासन महाशाखाले आगामी १५ दिनभित्र चित्तबुझ्दो स्पष्टीकरणसहित उपस्थित हुन भनेको छ ।

जारी सूचनामा अन्यथा सेवाबाट हटाउने चेतावनी पनि दिइएको छ । महाशाखाका अनुसार रसायनशास्त्र विषयका उपप्राध्यापक काफ्लेले २०७५ मंसिरदेखि ०८० मंसिर १ गतेसम्म पाँच वर्षे अध्ययन बिदा स्वीकृत गराएका थिए । त्यस्तै, भौतिकशास्त्र विषयका उपप्राध्यापक भण्डारीले पनि २०७५ मंसिरदेखि ०८० मंसिर ३ गतेसम्मका लागि पाँच वर्षे अध्ययन बिदा स्वीकृत गराएका हुन् ।

स्वीकृत बिदाको अवधि सकिएको लामो समयसम्म क्याम्पसमा अनुपस्थित भएकाले उनीहरुमाथि कारबाही प्रक्रिया अघि बढाइएको हो  । जारी सूचनामा लेखिएको छ, ‘त्रिवि शिक्षक कर्मचारी सेवासम्बन्धी नियम, २०५० को परिच्छेद–९ को नियम ६५ मा बिदा तोकी तोकिएको बिदाको लागि तोकिएबमोजिम स्वीकृति नलिई काममा अनुपस्थित हुनुहुँदैन र लगातार ९० दिनसम्म बिना सूचना अनुपस्थित रहेमा सेवाबाट हटाउन सकिने प्रावधान रहेकोले सोबमोजिम विश्वविद्यालय सेवाबाट किन नहटाउने ?’

टिप्पणीहरू