​एमसिसीको रणनीति

अमेरिकी सहयोग लिने एमसिसी सम्झौताबारे अझै पनि नेकपामा विवाद चलिरहेको छ । कोही भन्छन्– एमसिसी लिनुपर्छ । कोही भन्छन्, लिनु हुँदैन । लिनुपर्छ भन्नेमा पार्टीको अग्रपंक्ति नै रहेको छ । त्यसैले विवाद उग्र बन्दै गइरहेको छ । तर, विवाद जति उग्र भए पनि अन्त्यमा जित्ने त लिनुपर्छ भन्ने पंक्तिले नै हो । किनभने एमसिसी लिनुपर्छ भन्ने पक्षमा म पनि छु । यो सम्झौतामा जानु हुँदैन भनेर जो भनिरहेका छन्, मलाई त लाग्छ तिनीहरूले कुरै बुझेका छैनन् । मलाई मात्र होइन, पार्टीको अग्रपंक्तिलाई पनि यही लाग्छ । सम्झौता गर्नु हुन्न भन्ने पक्षले यो कुरै बुझेको छैन । न केन्द्रीय सदस्यले बुझेको छ, न त स्थायी सदस्यले ।

अस्ति भर्खर मात्रै अमेरिकी दूतावासका प्रवक्ताले भने कि एमसिसी त अमेरिकाको हिन्द प्रशान्त रणनीतिकै एउटा अंग हो । उनको यो भनाइ आएपछि सम्झौता गर्न हुन्न भन्ने पक्ष दंग परेका छन् । तर, मलाई त लाग्छ, दूतावासका प्रवक्ताले पनि कुरा बुझेका छैनन् । बुझेको भए त्यसरी खुलेआम यस्तो कुरा आउँथ्यो ? एमसिसी भनेको अमेरिकाको हिन्द प्रशान्त रणनीतिको एउटा अंगै भए पनि अंग होइन भनेर अघि बढ्नुपर्छ । हिन्द प्रशान्त रणनीतिको मुख्य रणनीति भनेकै यही हो । यस्तो रणनीति नै नबुझेको प्रवक्ताले कसरी कुरा बुझ्यो भन्नु ? रणनीति होइन भन्दै अघि बढ्नु नै यसको मुख्य रणनीति हो । अब यसलाई समेत बुझ्दैन भने हामीले के गर्ने ?

टिप्पणीहरू