​छायाँमा छायाँ सरकार

विपक्षी पार्टी नेपाली कांग्रेसले केही समयअघि मात्रै छायाँ सरकार गठन गरेको थियो । तर अहिले धेरैको गुनासो छ, छायाँ सरकारले त कुनै काम गरिरहेको छैन । छायाँ सरकार यतिबेला पूरै छायाँमा परेको छ । शायद यसलाई सधैँ छायाँमा पर्ने सरकार भएकै कारणले पो छायाँ सरकार भनिएको हो कि ? छायाँमा नपरेको भए छायाँ सरकार पनि देखिनुपर्ने हो नि ! 

कांग्रेस यतिबेला सरकार त के छायाँ सरकारसम्म पनि चलाउन सक्ने अवस्थामा छैन । किनभने पार्टी यतिबेला चरम आन्तरिक तनावमा छ । सभापतिलाई पार्टीको महाधिवेशनै अघि सार्नुपर्ने दबाब परिरहेको छ । उहाँ चाहनुहुन्छ– महाधिवेशन अर्को साल गरौँ । तर, कार्यकर्ता भन्दैछन्– महाधिवेशन यही साल गरियोस् । महाधिवेशन कहिले गर्ने विवादका कारण यतिबेला कांग्रेसले आफू छायाँ सरकार हो भन्ने नै बिर्सिसक्योजस्तो लाग्छ । विवादमा यति व्यस्त भइदियो कि छायाँ सरकार चलाउने फुर्सदै मिल्न सकेन । पार्टी चलाऊँ कि छायाँ सरकार चलाऊँ ? अहिले कांग्रेसमा यही कुराको समस्या छ । पहिले त उखानै थियो, जब जब कांग्रेस सरकारमा जान्छ त्यहाँ झगडा पनि आइहाल्छ । अब सरकारमा जाँदा मात्र होइन, छायाँ सरकारमा जाँदा पनि झगडा हुन थालेछ ।

टिप्पणीहरू