​दुई सन्तानको वकालत, किन र कसलाई ?

  • वैकुण्ठ ढकाल

एक जना साथी भन्दैथिइन्, छोरी स्कुल जाने भइसकिन् तर मैले आमा भएको अनुभव गर्न पाएकै छैन । 

अचम्म मान्दै मेरो मुखबाट निस्कियो– किन ? 

प्रेग्नेन्सी थाइराइड । यसबारे मलाई जानकारी थिएन । गर्भावस्थासँगसँगै थाइराइड आयो । सीएस गर्नुप¥यो, स्तनपान गर्ने अवसर पनि जुरेन किनकि दूध आएन । ल्याक्टोजिनले छोरी हुर्किइन् । स्तनपान गराउन नपाउनुको पीडा  भोगिरहेको छु । कारण छोरी काखमा बस्न मान्दिनन् । स्तन पान र प्रसव पीडाको अनुभव गर्न पनि दोस्रो सन्तान जन्माउनु जरुरी छ । तर, योजनाअनुसार गर्दा अब त ढिला भएजस्तो लाग्छ । 

कसरी हो, एक जना पूर्वलडाकुसँग सामाजिक सञ्जालमा चिनजान भयो । प्रसंगवश सन्तानबारे कुरा भयो, दुई सन्तानकी धनी रहिछन् । छोराछोरीको उमेर अन्तर सोधेँ, १२ वर्षको फरक रहेछ । 

कारण ? 

छोरा जन्मिनेबित्तिकै घर छाडेर जंगल लागियो । पछि काठमाडौंमा पढ्न आएँ । आफ्नै जिद्दीले दोस्रो सन्तान जन्माएँ । श्रीमान्लाई जन्माउन मात्रै योगदान गर, बाँकी सबै म गर्छु भनेँ । अहिले बिहान कलेज, दिउँसो कार्यालय र छोराछोरीको स्याहार सुसार सबै भ्याइरहेको छु । तैपनि दुःख लागेको छैन । सन्तानप्रतिको जिम्मेवारी र अनुभवलाई शब्दमा व्याख्या गर्न सक्दिनँ । 

आठ महिनाको छोरो छाडेर रोजगारीमा दक्षिण कोरिया गएँ । चार वर्षपछि फर्किंदा छोरो हुर्किसकेको थियो । तर, ऊ जहिले पनि बाबा खोज्छ । ममीजस्तै ठान्दैन । कहिलेकाहीं मन अमिलो हुन्छ । तर, अब दोस्रो सन्तानको योजना छैन । बच्चाको लागि साथी बच्चा नै चाहिन्छ । उसको लागि साथी बन्नु निकै कठिन छ । 

एक पत्रकार दम्पतीलाई सोधियो, छोराछोरीबीचको उमेर अन्तर किन धेरै ? यसको कारण छ । दुबै जना पत्रकार, समयको कुनै टुंगो हुँदैन । पछि झन् धेरै व्यस्त होइएला । कम्तिमा छोरीलाई साथी त हुन्छ, एक्लो महसुस गर्दिनन् भनेर दुई सन्तान चाहिन्छ भन्ने लाग्यो । अहिले हामी काममा विहानदेखि बेलुकासम्म घोटिनुपर्छ । अहिले छोरी भाइलाई स्कुलबाट घर लगेर दूध पाउरोटी भए पनि खुवाएर राख्न सक्ने भएकी छन् । 

अर्को एक साथीकी छोरीको कुराले स्तब्ध भएँ र दोस्रो सन्तानको योजनामा पुग्यौं । छोरी सधैं खेल्ने साथीहरू कहाँ पुग्थिन्, दुर्भाग्य त्यो दिन साथीका दिदीभाइ मात्रै खेले उनलाई वास्ता गरेनन् । पूराका पूरा बेवास्ता गरे । त्यो कुरा बालमष्तिष्कमा यसरी गढ्यो कि उनी घरबाट निस्कनै छाडिन् । मोबाइल र टेलिभिजनमा पनि रमाइनन् । छोरी कहिले पनि स्वस्थ देखिइनन् । सोधखोज गर्दा साथीको त्यो दिनको व्यवहारले गहिरो छाप पारेको रहेछ । यसको मतलव साथी चाहियो भन्ने लागेर दोस्रो सन्तानको योजना बन्यो । त्यो कुरा सुनेदेखि छोरीमा आएको परिवर्तनले निकै खुशी बनायो किनकि छोरी खुशी हुँदै गइन् । ममीको ‘केयर’ गर्ने भइन । बहिनीको जन्मपछि छोरी निकै फेरिएकी छन् । अर्को वर्ष जेठी छोरीले एसईई दिन्छिन्, कान्छी छोरी अब तीन वर्षपछि मात्रै स्कुल जाने उमेरकी हुन्छिन् । 

संयोग नै मान्नुपर्छ, यी पंक्ति लेखेर बसिरहँदा भतिज जन्मिएको खबर सामाजिक सञ्जालमा पढिरहेको थिएँ । आजै जन्मिएको भतिज र उसकी दिदीको उमेर अन्तर झण्डै एक दशक छ । उनीहरूको दोस्रो सन्तान जन्मन ढिला हुनुको कारण दम्पती नै विदेश हुनु हो । विदेश भए पनि दुवै एकै देश हैन फरक–फरक देश । तपाईंंहरू कतिले याद गर्नुहुन्छ, धेरैलाई सजिलो लाग्दो हो– फेसबुक खाता खोल्दा जन्म मितिमा जनवरी १ लेखिदिन्छन् । त्यसो नहुँदो हो त तपाईंंले बिहान उठ्नेबित्तिकै तिम्रा यत्ति साथीको जन्मदिन छ भनेर अघिपछि भन्दा धेरै संख्यामा देखाउने थिएन । तर, भतिज जनवरी १ मा जन्मियो । उसलाई सजिलो भयो । 

जो जनवरी १ मा दोस्रो सन्तानको बा भए, ती दाइलाई अलि अघि सोधेको थिएँ । आफ्नो रहरभन्दा पनि छोरीले मार्न आँटी, जसरी पनि भाइ÷बहिनी चाहियो भनेर । दिनदिनै सुन्दा आफूलाई पनि दुई सन्तान त चाहिन्छ भन्ने लाग्यो । 

जन्मान्तर निकै धेरै हुँदा पनि समस्या हुँदो रहेछ । हुन पनि हो, जन्मान्तर धेरै हुनु भनेको अभिभावकको उमेर पनि बढी हुनु हो । धेरै पाको उमेर र कम उमेरमा सन्तान जन्माउनु दुवै स्वास्थ्यका लागि खतरा हुन् । तर, अभिभावक कुनै न कुनै मोडमा पुगेपछि दोस्रो सन्तान चाहिन्छ भन्ने निश्कर्षमा पुग्ने धेरै छन् । 

टिप्पणीहरू