​शिवमायाको रूप

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीलाई सभामुख छान्न नसक्दा सकस छ । एकातिर सभामुख भेटिएको छैन, अर्कोतिर उपसभामुखको राजीनामा आएको छैन । उपसभामुख शिवमाया तुम्बाहाङफे यति जिराहा निस्कनुहोला भनेर न खड्ग ओलीले सोच्नुभएको थियो न पुष्पकमल दाहालले । बालुवाटारमा बोलाएर राजीनामा दिनुस् भन्दा पनि ‘किन दिने ?’ भनी उल्टो प्रश्न राखेर हिँड्नुभयो तुम्बाहाङफेले । प्रश्न सुनेर दुवै अध्यक्ष छक्क ।
हामीले भगवान् शिवका धेरै रूप देखेका छौँ । तर, शिवमायाको यस्तो रूप पहिले कहिल्यै देखिएको थिएन । अहिले अचानक उहाँसँग यति साहस, आँट र ऊर्जा कहाँबाट प्राप्त भयो होला ? शिवमायालाई प्राप्त ऊर्जाको स्रोत कहाँ होला ? अहिले दुवै अध्यक्ष शिवमायाको स्रोत कता हो खोजिरहनुभएको छ ।

पार्टीले यसअघि पनि धेरै मन्त्रीको राजीनामा मागिसकेको हो । तर, अहिलेजस्तो सकस परेको थिएन । अध्यक्षले आँखा घुमाएपछि राजीनामा झरिहाल्थ्यो । तर, अहिले त्यस्तो छैन । वास्तवमा कस्तो भइरहेको हो त्यो अध्यक्षद्वयलाई पनि थाहा छैन । तर, थाहा छैन भन्दैमा साँच्चै केही थाहा छैन भन्न पनि मिल्दैन । उहाँहरूलाई वास्तवमा सबै कुरा थाहा छ । सबै कुरा थाहा भएकै कारण केही पनि थाहा नभएको हो । राजनीतिमा कहिलेकाहीँ बडो अनौठो हुँदो रहेछ । 

टिप्पणीहरू