​सबैलाई सलाम

अन्ततः हेटौंडा नगर प्रदेश ३ को राजधानी घोषित भएरै छाड्यो । बडामहाराजाधिराज पृथ्वीनारायण शाहको ससुराली हो हेटौंडा । संजोग कस्तो परिदियो भने पृथ्वीनारायण शाहको जन्म भएकै दिन उहाँको ससुराली नगर राजधानी घोषित हुन पुग्यो । अतः हेटौंडावासी सबैलाई कोटीकोटी सलाम !

हेटौंडा राजधानी बनेकोमा हेटौंडावासी त खुशी भए नै । त्यसमध्ये पनि सबैभन्दा कमल थापा नै खुशी भएको हुनुपर्छ । हेटौंडालाई जसरी भए पनि प्रदेशको राजधानी बनाइछाड्ने कमल थापाको सपना अहिले पूरा भएको छ । उहाँलाई शाही सलाम !

हेटौंडालाई राजधानी बनाउँदिनँ भनेर शुरुमा खुब कुर्लिनुभयो कमरेड पुष्पकमल दाहाल । पछि हेटौंडालाई राजधानी नबनाई हुन्न भन्ने पनि उहाँ नै हो । हेटौंडाका सवालमा घरीघरी बोली फेरिरहन सफल कमरेड पुष्पकमल दाहाललाई लाल सलाम !

हेटौंडालाई अस्थायी राजधानी बनाएका थिए कांग्रेसका शेरबहादुर देउवाले । उनको अस्थायी राजधानी अहिले स्थायी भएको छ । यस उपलक्ष्यमा शेरबहादुर देउवालाई जय नेपाल !

हेटौंडा राजधानी घोषित भएको खुशियालीमा हेटौंडा उपमहानगरको एउटा वडाले वडाभरिकै शिक्षण संस्थालाई बिदा दिएछ । हेटौंडाको त्यो वडालाई बाल सलाम !

टिप्पणीहरू