​राष्ट्रियसभामा नारायण

अब हुने राष्ट्रियसभाको चुनावमा नेकपाका वरिष्ठ नेता कमरेड नारायणकाजी श्रेष्ठ पनि उम्मेदवार बन्नुभएको छ । गोरखाको चुनावमा डा. बाबुराम भट्टराईसँग हारेपछि उहाँले भन्नुभएको थियो— म अब यो कार्यकालभरि संसद्मा जान्नँ । 

उहाँले त्यसो भन्नुहुँदा अब दुई वर्षपछि नै राष्ट्रिय सभाको चुनाव हुँदै छ भन्ने जानकारी पाउनुभएको थिएन । त्यसैले त्यस्तो भनिहाल्नुभयो । अब राष्ट्रियसभाको चुनावमा उम्मेदवार बन्दै गर्दा मान्छेहरू त्यही कुरा सम्झिरहेका छन् । मान्छेको सम्झनेबाहेक अरु कामै हुँदैन कि कसो ! 

अब उहाँले त्यसो भन्नुभएको कुरा मान्छेहरूले सम्झिरहे पनि उहाँ आफैले भने भुलिसक्नुभएको छ । यदि, भुलिएकै छैन भने पनि के भो ? त्यतिबेला देशको स्थिति अर्कै थियो, अहिले अर्कै भइसकेको छ । त्यतिबेला राष्ट्रियसभामा उहाँको आवश्यकता थिएन । अहिले आवश्यकता खड्किसकेको छ । देशको परिस्थिति घण्टा घण्टामै परिवर्तन भइरहेको छ । दुई वर्षमा त अझ धेरै नै परिवर्तन भइसक्यो भन्दा हुन्छ । काठमाडौंमा घरको संख्या बढिसकेको छ । गाडीको संख्या बढिसकेको छ ।

मान्छे बढिसकेको छ । बागमतीमा धेरै पानी बगिसकेको छ । देशमा यति धेरै कुरा बद्लिसकेको छ भने उहाँ संसदमा नजाने भन्ने पहिलेको कुरा बदलिँदैन ? त्यो बदलिन कुनै गाह्रो छैन । बदलिँदो परिस्थितिकै कारण उहाँ अहिले संसद्मा जान लायक हुनुभएको छ । बागमतीमै त्यत्रो पानी बगिसक्यो भने पनि उहाँ राष्ट्रियसभामा नगई भयो त ? पहले त बागमतीमा यति पानी बगेको थिएन नि ! त्यसैले उहाँलाई राष्ट्रियसभामा जानु थिएन । तर, अहिले स्थिति बदलिएको छ । तथापि अहिलेसम्म आइपुग्दा स्थिति बदलिएको हो कि उहाँ आफै बदलिएको हो, त्यो भने पत्ता लगाउनै बाँकी छ । 

टिप्पणीहरू