जर्मनीको विश्वविद्यालयमा गोली चल्यो, २ को मृत्यु

जर्मनीको विश्वविद्यालयमा गोली चल्यो, २ को मृत्यु

जर्मनीको हेइडेलबर्ग विश्वविद्यालयको लेक्चर हलभित्र गोली चलाइएको छ । घटनामा गोली प्रहार भएका एक जना विद्यार्थीको ज्यान गए छ भने अरु तीन जना घाइते भएका छन् । गोली चलाउने १८ वर्षका विद्यार्थीले आफैंलाई गोली प्रहार गरेर प्राण त्यागेका छन् ।

आत्मघाती गोली प्रहारबाट मारिएका ती विद्यार्थीले बोेकेको झोलामा एक सय थान गोली फेला परेको छ । कक्षा कोठामा छिर्दा विद्यार्थीले दुई वटा बन्दुक बोकेको बताइन्छ । त्यसमध्ये एउटा डबल ब्यारेल्ड शटगन रहेको प्रहरीले जनाएको छ ।

सवारी साधन चालक अनुमतिपत्र र बन्दुकको समेत अनुमति नलिएका ती संदिग्ध विद्यार्थीले कसरी त्यत्रो हतियार र गोली बोकेर विश्वविद्यालयसम्म छिरे भन्ने बारेमा स्थानीय प्रहरीले आश्चर्य व्यक्त गरेको छ । प्रारम्भिक अनुसन्धानबाट गोली काण्डमा संलग्न विद्यार्थीको विगत नराम्रो नभएको खुलेको छ ।

गोली प्रहार गरिँदा कक्षा कोठामा लेक्चररले २९ जना विद्यार्थीलाई पढाइरहेका थिए । त्यत्तिकैमा ती विद्यार्थी जुरुक्क उठेर नजिकैका एक महिला र तीन पुरुष विद्यार्थीमाथि ताकेर गोली हाने र सरासर बाहिर निस्केका हुन् ।

उनले आफूलाई गोली प्रहार कक्षा कोठाबाट बाहिर निस्केपछि गरेका थिए । हेइडेलबर्ग जर्मनीको सबैभन्दा पुरानो विश्वविद्यालय हो । यो सन् १३८६ मा स्थापना भएको हो ।

टिप्पणीहरू