बढुवाको बधाई

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई हार्दिक बधाई ! उहाँ पार्टीको ‘सुख्खा अध्यक्ष’ बाट बढुवा भई अब ‘कार्यकारी अध्यक्ष’ बन्नुभएको छ । 

नेकपाले उहाँलाई हालै मात्र कार्यकारी अध्यक्ष बनाएको हो । यसबाट थाहा हुन्छ, यसअघि उहाँ अध्यक्ष भए पनि अध्यक्षको कार्य भने गर्न पाइराख्नुभएको थिएन । अर्थात् कार्यकारी हुनुहुन्थेन । अध्यक्ष त अध्यक्ष तर कुनै काम गर्न नपाइने अध्यक्ष । उहाँले भन्नु पनि भएको थियो – मलाई त सेरेमोनियल अध्यक्षजस्तो महसुस भइरहेको थियो ।

अबचाहिँ उहाँ सेरेमोनियल अध्यक्षबाट एक्जिक्युटिभ अध्यक्षमा बढुवा हुनुभएको छ । त्यसो त पार्टीमा अर्को अध्यक्ष पनि कायम नै हुनुहुन्छ – पहिलो अध्यक्ष केपी ओली । उहाँको दावी छ, म पनि कार्यकारी अध्यक्ष नै हुँ । तर अध्यक्ष केपी ओली सरकार हेर्नुहुन्छ । अतः उहाँलाई सरकारी अध्यक्ष भन्न सकिन्छ । प्रचण्डचाहिँ पार्टी अध्यक्ष । एउटा सरकारको अध्यक्ष, अर्को पार्टीको अध्यक्ष । अब अध्यक्ष पुष्पकमल दाहाल कार्यकारी अध्यक्ष बनेपछि उहाँले कस्तो कार्य गर्नुहुन्छ, त्यो हेर्नु छ । अझ त्योभन्दा पनि अर्को हेर्नु त के छ भने उहाँले कुनै कार्य गरेपछि त्यसको काउण्टरमा अर्का अध्यक्ष केपी ओलीले चाहिँ के कार्य गर्नुहुने हो !  

टिप्पणीहरू