ठेक्का खोस्

‘टाइममा काम नसकाउने ठेकेदारको ठेक्का खोस्नु !’ प्रधानमन्त्री केपी ओलीका तर्फबाट यस्तो सन्देश आएपछि कर्मचारी अति नै खुशी भएका छन् । जुन ठेकेदारले काम गर्दैन उसको ठेक्का खोस्नु सबैभन्दा राम्रो काम हो । रमाइलो पनि यसैमा हुन्छ । 
काम नगरेको दोष लगाएर ठेकेदारको ठेक्का खोस्ने । अनि त्यो ठेक्का अर्को ठेकेदारलाई दिने । त्यो ठेकेदारले समयमा काम नसकाए फेरि त्यसबाट पनि खोसेर अर्कोलाई दिने । त्यल्ले नसकाए त्यसको खोस्ने र फेरि अर्कोलाई दिने । यसरी एउटै काम विभिन्न ठेकेदारलाई दिँदै जान पाइयो भने त्यसबाट पाइने कमिशन पनि थपिँदै जान्छ । जति जना ठेकेदार त्यति नै कमिशन । योचाहिँ राम्रो आइडिया हो । 
अब ठेकेदारलाई कसरी टाइममा काम सक्न नदिने हो त्यो त कर्मचारीलाई राम्रै थाहै छ । कहिले यो मिल्दैन भन्ने, कहिले त्यो मिल्दैन भन्ने । कहिले चेक रोकिदिने, कहिले भुक्तानी रोकिदिने । कहिले फाइल हराइदिने, कहिले मान्छे हराइदिने । यस्तो भएपछि ठेकेदारले कसरी टाइममा काम सकाउँछ ? टाइममा काम नसकिए पनि कमिशन त टाइममै पाइसकेको हुन्छ । त्यसपछि ठेकेदारलाई फाले पनि भयो, पाले पनि भयो ।
प्रधानमन्त्रीले भन्नुभएका अरु कुनै काम नमाने पनि कर्मचारीहरूले योचाहिँ पूरापूर मान्लान् कि ? 

टिप्पणीहरू