एक इञ्च भूमि

प्रधानमन्त्री केपी ओलीले विदेशी सेनालाई नेपाली भूमि छाड्न अनुरोध गर्नुभएको छ । यद्यपि, कसै–कसैले प्रधानमन्त्रीले गर्नुभएको यो अनुरोधलाई अनुरोध होइन ‘अनुनय’ पनि भनेका छन् । अब जे भए पनि उहाँको आशयचाहिँ एउटै हो, विदेशी सेनाले नेपाल छाड्नुप¥यो । 

उहाँले विदेशी सेना त भन्नुभयो तर कुनचाहिँ देशको सेना भन्ने प्रष्ट छैन । त्यसैले उहाँले यति धेरै अनुनय गर्दा कुनै पनि देशको सेनाले नेपाल छाडेको छैन । (बरु सेनाका जवान नै धमाधम नेपाल छाड्दै विदेशतिर लाग्ने क्रम बढिरहेको छ ।)

साथै, उहाँले यो पनि भन्नुभएको छ कि नेपालको एक इञ्च भूमि पनि विदेशीलाई दिइने छैन । अब एक इञ्च भूमि कसले पो लिन आउला र ? भारतले अतिक्रमण गरी लिएको भूमि त सयौं वर्गकिमि छ । त्यहाँ इञ्च भन्ने कुरै छैन । प्रधानमन्त्रीज्यूको धारणाले भूमि अतिक्रमण गर्ने ‘विदेशी सेनालाई’ खुशी पनि लाग्यो होला । किनभने विदेशी सेनाले एक इञ्च भूमि त कहीँ पनि अतिक्रमण गरेको छैन । जम्मै ठाउँमा किलोमिटरका किलोमिटर अतिक्रमण भएको छ । उनीहरूको बुझाइ छ— प्रधानमन्त्रीले एक इञ्च मात्रै अतिक्रमण गर्ने हो भने त्यो गर्न पाइँदैन, त्योभन्दा बढी गर्ने हो भने त्यसमा स्वागत छ भन्नुभएको होला । जति बढी अतिक्रमण गर्न सकियो त्यति नै छुट भनेको त हैन ? 

टिप्पणीहरू