सरकार पुनर्गठन

दुनियाँमा सबैभन्दा गाह्रो काम भनेको मन्त्रिमण्डल पुनर्गठन नै हो कि जस्तो लाग्न थालेको छ । किनभने प्रधानमन्त्री केपी ओलीले कुन बेलादेखि पुनर्गठन गर्न खोज्दा पनि गर्न नसकिएको अवस्था छ । उहाँले पानीजहाज ल्याउने भन्नुभयो, रेल ल्याउने भन्नुभयो, मेट्रो ल्याउने भन्नुभयो । त्यो जम्मै बरु आउलाजस्तो छ, मन्त्रिमण्डल पुनर्गठन भएर नयाँ मन्त्रीचाहिँ आउलाजस्तो छैन । 

मन्त्रिमण्डलसम्म पनि पुनर्गठन गर्न नसकेपछि प्रधानमन्त्री ओलीको कार्यक्षमतामा प्रश्न उठ्न थालेको छ । जसले यति हल्लाखल्ला गरेर पनि एउटा मन्त्रिमण्डल पुनर्गठन गर्न सक्दैन भने त्यसले के समृद्धि ल्याउला र देशमा ! अस्तिसम्म चिनियाँ प्रधानमन्त्री आउने भएकाले पुनर्गठन नगरेको भन्ने गरिन्थ्यो । अहिले त चिनियाँ राष्ट्रपति मात्र होइन, बंगलादेशका राष्ट्रपतिसमेत आएर गइसक्नुभयो । तर, पुनर्गठन भएन । अब कहाँको राष्ट्रपति आएपछि पुनर्गठन गर्ने ?

अहिले त सुन्नमा के आएको छ भने जुन–जुन मन्त्री हटाउने चर्चा चलेको छ ती मन्त्रीका मन्त्रालय नै सुनसान हुन थालेको छ । मन्त्री हटिसकेको हुँदैन तर हल्लाले हटाएको भन्दा चौपट पारिसकेको हुन्छ । जुन मन्त्रीको मन्त्रालय यति सुनसान छ त्यहाँ अब मन्त्री हुनु र नहुनुको अर्थ के ? मन्त्री भएर पनि मन्त्रालय सुनसान भएपछि राजीनामाको अर्थ के ? 

टिप्पणीहरू