दिल्लीको धुलो

भारतको नयाँदिल्लीमा धुलो उडेपछि काठमाडौं मैलिने सम्भावना बढेको छ । नयाँदिल्लीमा लागेको धुलोले काठमाडौंलाई पनि प्रभावित गरेको रिपोर्ट आउन थाल्दै छ । वास्तवमा कुरो अनौठो पनि छ । नयाँदिल्लीमा धूलो लाग्ने, प्रभावितचाहिँ काठमाडौं हुने ? 

वास्तवमा काठमाडौंलाई नयाँदिल्लीले प्रभावित गरेको यही पहिलोचोटि भने अवश्य होइन । यसअघि पनि काठमाडौं नयाँदिल्लीबाट धेरै पटक प्रभावित भएको छ । नयाँदिल्लीमा नयाँ प्रधानमन्त्री आयो कि काठमाडौं प्रभावित भइहाल्छ । नयाँदिल्लीमा नयाँ सरकार आयो कि काठमाडौं तरंगित भइहाल्छ । नयाँदिल्लीमा नयाँ चुनाव, नयाँ बजेट, नयाँ नीति, नयाँ नेता मात्र होइन नयाँ सचिव आए पनि काठमाडौं प्रभावित भइहाल्छ । अझ कहिलेकाहीँ त नयाँदिल्लीमा केही नभए पनि काठमाडौं प्रभावित भइरहेको हुन्छ । अर्थात् नयाँदिल्लीमा केही नहँुदा काठमाडौंमा पनि केही हुँदैन । त्यहाँ केही नभएका बेला यहाँ केही नहुनुलाई पनि त्यहाँको प्रभाव नै भन्नुपर्छ । नभए त्यहाँ केही नभएकै बेला यहाँ पनि किन केही नहुनुप¥यो ? 

दिल्लीबाट काठमाडौं कति प्रभावित छ भन्ने यहींबाट थाहा हुन्छ । कुनै जमाना यस्तो पनि हुने गथ्र्यो, दिल्लीमा पानी प¥यो कि काठमाडौंमा छाता ओढिहाल्ने । दिल्लीमा पानी परेको समाचार आयो कि काठमाडौंमा केही मानिस हत्तपत्त छाता ओढिहाल्थे । स्थिति अहिले पनि त्यस्तै छ । दिल्लीमा धुलो उडेको समाचार आउनेबित्तिक्कै काठमाडौंमा केही मानिसले मास्क लगाउन थालिसकेका छन् । 
 

टिप्पणीहरू