​सुनबिनाको तीज

हिन्दू महिलाहरूको महान् चाड तीज यसपालि त्यति चकाचक थिएन । किनभने सुनको भाउले आकाश जो छाएको छ । सुनको अभावले चाँडै सुनसान । सुन सस्तो भएको भए चाडको ‘शान’ बढ्थ्यो । सुन महँगो भएकाले शान होइन सुनसान भइदियो । 

वास्तवमा सुनबिनाको तीज सुनसानै हुँदो रहेछ । किनभने केही वर्षदेखि, देशमा तीज पर्व होइन सुनको ‘ज्वेलरी शो’ मा परिणत हुँदै जान थालेको छ । तीजको गन्ध शुरु हुनेबित्तिकै दिदीबहिनीहरू पर्व कसरी मनाउने भन्दा पनि गहना कस्तो किन्ने भन्नेमा व्यस्त हुन थाल्छन् । गहनाबिनाको तीज ‘तीज’जस्तै लाग्दैन । अनौठो त के भने नेपालमा भ्रष्टाचार बढ्न थालेदेखि नै तीज पनि तडकभडकपूर्ण हुन थालेको छ ।

केही आर्थिक विश्लेषकको भनाइ पनि आएको छ, देशमा जति भ्रष्टाचार बढ्दै जान्छ तीज पनि त्यति नै तडकभडकपूर्ण हुँदै जान्छ । अब भ्रष्टाचार र तीजबीच के सम्बन्ध छ त्यो त ऋषेश्वर महादेव नै जानुन् । महादेवको निधारमा जडित सीसी क्यामेराले त्यो पनि देखिरहेकै होला । सायद त्यो देखेर उहाँ चकित हुनुभएको होला । किनभने महादेव आफंै कुनै गहना लगाउनुहुन्न । गहनाको नाममा गलामा एक थान जिउँदो नाग झुण्ड्याएर हिँड्नुहुन्छ । तर, आफ्ना भक्तिनीहरूचाहिँ गलामा थानका थान सुनको माला झुण्ड्याएर आएको देखेपछि चकित नहुने कुरै भएन । तर, के गर्नु, सुन यति महँगो हुँदा पनि कुनै पनि भक्तिनीले गलामा नागको हार बेरेको देखिएन । 

टिप्पणीहरू