​भिडियोबाट अंकुश

नेपालको मन्त्रिमण्डल क्रमशः स्मार्ट बन्दै गइरहेको छ । मन्त्रीहरू स्मार्ट नभए पनि मन्त्रिमण्डल स्मार्ट भएको छ । अब मन्त्रिमण्डलको बैठक भिडियो कन्फरेन्सबाट पनि सम्भव भएको छ । हालै मात्र सिंगापुर बस्नुभएका प्रधानमन्त्री केपी ओलीसँग भिडियो कन्फरेन्समार्फत मन्त्रिमण्डलको बैठक बसेको थियो । यसअघि मन्त्रिमण्डलको बैठक ‘पेपर लेस’ शैलीमा चलाउने प्रथा शुरु भएको हो । कुनै पनि मन्त्रीले कागज प्रयोग गर्दैन । सबैले ल्यापटपबाटै काम चलाउँछन् । 

हामी आशा गरौँ, भविष्यमा मन्त्रिमण्डलजस्तै मन्त्रीहरू पनि क्रमशः स्मार्ट बन्दै जाउन् । अब जहाँसम्म प्रधानमन्त्रीले भिडियो कन्फरेन्समा बसेर मन्त्रिपरिषद् बैठक सञ्चालन गरेको प्रसंग छ, यसमा कतिको आपत्ति पनि रहेको देखियो । प्रधानमन्त्री विदेशमा भए पनि उहाँले यता कार्यवाहक प्रधानमन्त्री त तोकेरै जानुभएको थियो । तैपनि बैठकचाहिँ उहाँकै अध्यक्षतामा किन ? यसको कारण हो, मन्त्रिमण्डलमा अंकुश हाल्नु । उहाँले यति अंकुश नहाले मन्त्रिपरिषद् निरंकुश हुन बेर छैन । त्यसै पनि सरकारमाथि निरंकुशताको आरोप लागेकै छ । त्यसमा पनि प्रधानमन्त्रीले अंकुश नलगाए यो पूरै निरंकुश बन्ने खतरा छ । त्यसैले अब भिडियोबाटै भए पनि अंकुश लगाउन प्रधानमन्त्रीले यस्तो कन्फरेन्स गर्नुभएको हो । अब त बुझियो होला नि गाँठी कुरा ! 
 

टिप्पणीहरू