​नजानेको कुरा सिक्ने कसरी ?

  • शरद अधिकारी

सरकार आफैंमा केही होइन, जतिबेलासम्म नागरिकको सहयोग हुँदैन । जनता भनेका जनार्दन हुन् । कसलाई सत्तामा पु¥याउने, कसलाई सत्ताबाट खसाउने, कसलाई कुन भूमिका दिने भन्ने कुरा नागरिकमै भर पर्छ । सरकार सफल र असफल त्यतिबेला हुन्छ जतिबेला जनताले त्यसलाई सहयोग वा असहयोग गर्छन् । जनताले चुनेका प्रतिनिधिले नै लोकतन्त्रमा शासन गर्ने हुँदा जनताका लागि शासन गर्नेहरू जनताप्रति उत्तरदायी हुनैपर्छ । विश्व इतिहासको लामो कालखण्डमा धेरैको इतिहास लेखिएको छैन । लाखौं वर्ष भयो पृथ्वी उत्पत्ति भएको । यो अवधिमा के कस्ता परिवर्तन भए ? कस्ता मानिस आए ? के–कस्ता काम गरे ? कति दुःख गरे ? कति संघर्ष गरे ? त्यो सवैको लेखाजोखा छैन । कतै लेखिएका थोरै ताम्रपत्र, कतै लेखिएका थोरै शिलालेख, कतै पातमा लेखिएका कुरा, कतै भेटिने पुराना हतियारका आधारमा, कतै भेटिने पुराना खजानाका आधारमा इतिहासलाई लिपिबद्ध गर्ने काम भइरहेको छ । रहस्यको गर्भमा रहेका विषय उजागर हुने क्रम जारी छ । 

जनमतको कदर नहुने व्यवस्था अधिनायकवाद हो । जहाँ चुनाव हुँदैन । चुनाव भए पनि एकलौटी हुन्छ । व्यक्ति प्रधान हुन्छ । व्यक्तिले आफूलाई केन्द्रमा राखेर व्यवहार गर्छ । तर लोकतन्त्रको सौन्दर्य कसैले मास्न सक्दैन । लोकतन्त्रमा सरकार हुन्छ । प्रतिपक्ष हुन्छ । जनता हुन्छन् । हामीले यतिबेला गरिरहेको स्थानीय तहको सरकार प्रतिपक्षविहीन छ । कतिपय विषय यस्ता हुन्छन् जसबारे नागरिकसँग छलफल गर्नै पर्छ । जानकारहरूसँग बहस गर्नै पर्छ । जन्मँदै जानेर कोही आएको हुँदैन । पढेर सबै कुरा कसैले जान्दैन । कसैले भाग्यमा लेखेर ल्याएको कुरा गर्छन् । लेखेर ल्याएको भन्ने पनि हुँदैन । कतिपय कुरामा पढेर जानिन्छ, कतिपय कुरामा परेर जानिन्छ । पढेर जानियोस् या परेर जानियोस् जान्नु ठूलो कुरा हो । कहिलेकाँही अरूले गरेको हेरेर पनि धेरै कुरा सिकिन्छ । आफूले पढेर जान्ने कुरा त छँदै छ । 

हामी जान्न तयार छौं कि छैनौं ? बुझ्न÷बुझाउन तयार छौं कि छैनौं । भनिन्छ, भरिएको घैंटामा पानी हाल्न सकिँँदैन । पानी भर्न घैंटा खाली हुनुपर्छ । मैले सबै जाने÷बुझेको छु । मलाई सबै कुरा थाहा छ । मैलेजति अरू कसैले जानेको छैन भन्ने कुरा गरियो भने त्यो पक्कै घातक हुन्छ । यो दुनियाँमा एउटाले एउटा कुरा जानेको होला, अर्कोले अर्को कुरा जानेको हुन्छ । एउटा व्यक्ति सबैमा पूर्ण हुँदैन । एउटालाई सबै कुरा थाहा हुँदैन । थाहा नभएको कुरा अरूबाट सिक्नुपर्छ र सिक्न सकिन्छ । जान्ने र सिक्ने कुरा पनि कि पढेर जानिन्छ कि परेर । पढेर जाने पनि परेर जाने पनि जान्ने कुरा महत्वपूर्ण हो । 

हामीकहाँ स्थानीय सरकार आएको दुई वर्ष नाघेको छ । यो अवधिमा स्थानीय सरकारले कति काम गर्न सके वा सकेनन् ? कसैले सत प्रतिशत, कसैले ९० प्रतिशतको दाबी गरिरहेका छन् । परीक्षामा सतप्रतिशतभन्दा धेरै नम्बर दिने चलन हुँदैन । कसैले राम्रो अक्षर लेखेका कारण धेरै नम्बर पाउँदैन । राम्रा भएको दाबी गर्नेहरू कसरी त्यसो भए भन्नेबारे खोज्नुपर्छ । राम्रो गरेकाहरू धन्यवादका पात्र छन् । नराम्रो गरेकाहरूले राम्रो गरेकाबाट सिक्न सक्छन् । बुझ्न सक्छन् । जान्न सक्छन् । अनुभव लिन सक्छन् ।

स्थानीय सरकारले स्थानीय सरोकारवालासँग कत्तिको सहकार्य गरे ? किसानको कुरा सुने कि सुनेनन् ? मजदुरको कुरा सुने कि सुनेनन् ? विद्यार्थीको मर्का बुझे कि बुझेनन् ? बालबालिकाको कुरा बुझे कि बुझेनन् ? अपांगको कुरा बुझे कि बुझेनन् ? वृद्धवृद्धाको मर्का जान्न खोजे कि खोजेनन् ? यात्रुको कुरा बुझे कि बुझेनन् ? चालकको कुरा सुने कि सुनेनन् ? कर्मचारीको कुरा सुने कि सुनेनन् ? शिक्षकको कुरा सुने कि सुनेनन् ? अभिभावकको कुरा सुने कि सुनेनन् ? वकिल, सुरक्षाकर्मी, पत्रकार र अग्रजसँग छलफल गरे कि गरेनन् ? स्थानीय रूपमा दीर्घकालीन योजना बने कि बनेनन् ? स्थानीय लगानीको वातावरण बनाइयो कि बनाइएन ? अहिलेसम्म स्थानीय सरकारले स्थानीयको कुरा सुनेका छैनन् । पहिले जनतालाई यो वा त्यो दिन्छौं भनेर हिँडेकाहरूले अब जनताको आवाजको सुनुवाइ गर्नुपर्छ । पहिले मागका आधारमा विकास ग¥यौं अब आवश्यकताका आधारमा विकास लैजानुपर्छ भन्ने कुरालाई नै ध्यान दिनुपर्छ । स्थानीय तहले छलफल गर्ने अनेकन विषय छन् । सहकार्य कसरी गर्ने ? कर कसरी उठाउने ? कति उठाउने ? विकास निर्माणका योजना कसरी अघि बढाउने ? वातावरण क्षेत्रमा कसरी काम गर्ने ?

जनसहभागिता कसरी बढाउने ? जनताको मनोभावनाअनुरूप कसरी काम गर्ने ? सञ्चारको सवालमा कसरी काम गर्ने ? हामीकहाँ गम्भीर विषयमा पनि हलुका छलफल गर्ने चलन छ । गम्भीर विषयमा गम्भीर तरिकाले छलफल गरौं । हलुका विषयमा हलुका तरिकाले नै छलफल गरौंला । आज हामीलाई जुन जिम्मेवारी प्राप्त भएको छ यो कम्तीको जिम्मेवारी होइन । नेपालको इतिहासमा २०१५ पछि बनेको बिपीको सरकारको, २०५१ सालमा बनेको मनमोहन नेतृत्वको सरकार र २०७२ पछि बनेको केपी ओली नेतृत्वको सरकारको चर्चा अलि बढी हुने गरेको छ । इतिहासमा धेरै सरकार आए र गए । धेरै व्यक्ति आए र गए । आउने र जानेहरूको हिसाब राख्ने काम कसैले गर्ला तर राम्रो काम गर्नेको हिसाब खोज्ने हो । राम्रो गर्नेलाई स्याबास भन्ने हो । इतिहासमा थोरैले मात्रै अवसर पाउँछन् । जिम्मेवारीलाई अवसरका रूपमा लिएर सफलता पाउनेहरू नै इतिहासका सच्चा पात्र हुन्छन् ।

टिप्पणीहरू