बच्चा जन्माउन मात्रै योगदान गर्नेहरूका नाममा

  • वैकुण्ठ ढकाल

अरूलाई लेख्न ठूला विषय चाहिन्छ । तर लेख्नुपर्ने साना विषय नै हो । सरकारले जेठ १५ गते बजेट भाषण ग¥यो । जसमा विद्यालयमा निःशुल्क प्याड वितरण गरिने पनि उल्लेख छ । प्याड आफैंमा राम्रो कुरा हो । तर, प्याड बाँड्नुअघि लगाउने तरिका सिकाउनुपर्दैन ?

नढाँटी भनौं, म अहिले साढे तीन दशकको भएँ । तर मलाई प्याड लगाउन आउँदो रहेनछ । किन ? म त्यसको प्रयोगकर्ता हैन । तर, लगाइदिन त जान्नुपर्ने रहेछ । बजेट भाषण आउनु ५ दिनअघि दोस्रो पटक बा बनें । पहिलो पटकजस्तै नतिजा आयो । प्रक्रिया पनि उही थियो सिजरिङ सेक्सन । 

अस्पतालमा म र बहिनी थियौं । श्रीमती सुत्केरी, मध्यरातको १२ बजे । दिनभर अफिसको कामले थकित बहिनी सुतेकी थिइन् । प्याड फेर्ने बेला भयो । लगाइरहेको प्याड निकालें, नयाँ लगाइदिएँ । तर, राम्रोसँग लगाउन जानेजस्तो लागेन । बहिनीलाई उठाएर चेक गर्न लगाएँ, शायद उनले मिलाइदिइन् । 

अर्थमन्त्रीले बजेट भाषण गरिरहँदा म पाँच दिनअघिको घटना सम्झिरहेको थिएँ । 

पाटन अस्पताल, सँगैको अर्को बेडमा । पहिलो सन्तानको बा–आमा थिए । लुगा फेराउने बेला भयो, केटा मान्छेहरू बाहिर गइदिनुहोस् भन्थे, हामी बाहिरिन्थ्यौं । पहिलो पटक उनीहरूले प्याड लगाउँदा हामी सबै बाहिर थियौं । आखिर केटा मान्छे न थियौं, नर्सको बुझाइमा । तर कुरा त्यसो थिएन, हामी लोग्ने थियौं, जीवनको सहयात्री थियौं । तर, प्याड फेराउने बेलामा सँगै रहन पाएनौं । 

पहिलो सन्तानको बालाई कस्तो सास्ती भयो, त्यो पल ? अहिले पनि आँखाअगाडि घुमिरहेको छ । ३३ वर्षको उमेरमा पहिलो सन्तान । श्रीमतीको उमेर ३० वर्ष । सुदूरपश्चिमको एक कलेजमा पढाउने । गर्भवती भएदेखि काठमाडौंमै बास । अनेकन समस्या । १० दिनको अस्पताल बसाइपछि बल्लबल्ल अप्रेशन । ती बा बेलाबेलामा भुत्भुताउँथे । प्याड नर्सले फेराइदिए हुन्थ्यो । दूध चुसाउन सघाइदिए हुन्थ्यो । यस्तै यस्तै थियो उनको कुरा । विदेशका कुरा पनि गर्ने, आखिर युएसआईडीको कुनै प्रोजेक्टमा काम गर्ने न परे केही देश घुमे, सुने र देखे । यत्ति गफ त गर्र्नै प¥यो । योजनामै रहेछ ढिलो सन्तान जन्माएको, विवाह भएको पाँच वर्षपछि मात्रै । 

प्याडको सकसपछि दूध खुवाइको पनि कुरा गरौं । यो बेला नर्सहरूले केटा मान्छे बाहिर गइदिनुस् भनेनन् । बच्चालाई दूध चुसाउने तरिका सिकाइदिए । एक हातको दुई औंलाले दूधको मुन्टो समाएर बच्चाको मुखमा लगाइ दिने, अर्को हातले बच्चाको टाउको थामिदिने । लेख्दा कत्ति सजिलो लाग्छ, पढ्दा झन् सजिलो लागिरहेको होला । तर, बाउ नबनेकाहरूले त्यो समय आएपछि चाल पाउँछन् । हाम्रो दोस्रो बच्चा भन्ने थाहा थियो, त्यही भएर सिकाउनु पर्दैन भन्ने नर्सहरूलाई लाग्यो । पहिलो पटक बा–आमा भएकालाई केही सेकेण्ड समय बढी लगाए । 

हुन त अस्पतालको भित्तामा पनि लेखिएको हुन्छ– गर्भवती हुँदा के गर्ने ? सुत्केरी हुँदा के गर्ने ? के नगर्ने ? स्तनपान कसरी गराउने ? आदि इत्यादि । तर सबैको स्तन एकै प्रकारको हुँदैन । अरू प्रकारको कुरा नगरौं, बच्चालाई चुस्न सप्ठ्यारो, अप्ठ्यारो दुई प्रकारको हुन्छ । शिशुलाई चुस्न अप्ठ्यारो स्तन हुनेहरूको सकस भोग्नेलाई मात्रै थाहा हुन्छ । 

नर्सहरूको उर्दी थियो, दुई दुई घण्टामा दश दश मिनेट दूध चुसाउनुहोला । दुई घण्टा अनि दश मिनेटको यहाँ के सम्बन्ध ? सीधा जवाफ हो, जे रटे त्यही भने । दश मिनेट चुस्दा पनि दूध आएन भने ? दुई मिनेटमै बच्चा अघायो भने ? यस्ता व्यावहारिक कुरा पनि होलान् नि ? नागरिकताका लागि होस् वा लोकसेवा वा अन्य सेवाको फारम भर्न दुवै कान देखिने गरी हालसालै खिचिएको फोटो चाहिन्छ भनेर, तर कानै नभएकाहरूले कसको कान देखिने गरी फोटो खिच्ने ? व्यावहारिकता र सैद्धान्तिक अध्ययन फरक हुन सबैले हेक्का राखेको राम्रो । 

संयुक्त परिवारमा बसेर बालबच्चा हुर्काएका बाहरू पनि बजारमा बसेर गुड्डी हाँक्छन् मैले यत्तिवटा छोराछोरी हुर्काएँ भनेर । तर, तिनीहरूलाई नवजात शिशुको दिसाको रंग थाहा हुँदैन । टालो फेरिदिने तरिका पनि थाहा हुँदैन । तर गफ उनीहरूकै ठूलो हुन्छ । डाइपरको फाइदा–बेफाइदा त विज्ञहरूले भन्लान् तर ती बाहरूलाई डाइपर लगाइदिने तरिकासमेत थाहा हुँदैन । तर, इमान्दार बाहरू पनि छन् जो हाकाहाकी भन्छन्– छोराछोरी हुर्काउनमा हैन जन्माउनमा मात्रै मेरो योगदान छ ।

आमा–बा हुन्, अर्को जन्म पनि हो । बच्चा जन्माउने आमा हुन्छिन् । यो अर्को जन्म हैन र ? यसर्थ जन्म भनेको सानो कुरा हैन, यसलाई कम आकलन गर्नै हुन्न । हर कुरालाई मसिनो गरी बुझ्नुपर्छ र त्यसरी नै व्यवहार गर्नुपर्छ । 

टिप्पणीहरू