​कम्युनिष्टलाई सिध्याउँछ कसले ?

  • प्रेमराज सिलवाल

कम्युनिष्टविरोधीहरु भन्दैछन्– ‘नेपालका कम्युनिष्टहरू सिद्धान्तबाट च्यूत भए ।’ तिनले निर्वाचन र संसदीय व्यवस्था मान्दैनन् तर चुनावमा आएपछि भने सिद्धान्तको धज्जी उड्यो । निजी घर बनाउने, गाडी चढ्ने, मोबाइल बोक्ने, टाइ–सुट लगाउने पनि कम्युनिष्ट हुन्छ ? माक्र्सको बाटो र सिद्धान्त छोडेपछि पनि कोही कम्युनिष्ट रहन्छ ?’ यस्तै–यस्तै अनेकथरि आरोप लाग्न थाले । अर्काे धारचाहिँ फेरि नेपालका कम्युनिष्टहरू कार्ल माक्र्सकै बाटोमा गयो पनि भन्दैछन् । यसरी एउटा धारले नेपालका वामपन्थीहरू ‘कम्युनिष्ट’ रहेनन् भन्ने र अर्काे धारले रूस र चीनमा जस्तै एकतन्त्रीय शासक बन्न थाले पनि भन्दैछन् । कान्तिपुरमा बिष्णु सापकोटाले लेखे, ‘नेपालका कम्युष्टिहरूले गाडी चढेका छन्, घर बनाएका छन्, आधुनिक सुविधा लिएका छन् । त्यो ‘कम्युनिष्ट’ सिद्धान्तभित्र पर्दैन । अर्का लेखक श्रीकृष्ण अनिरूद्र गौतम सोही पत्रिकामा लेख्छन्, ‘नेपालका वामपन्थीहरू निरंकुश बन्नेतर्फ अघि बढेका छन् ।’ 

कम्युनिष्टले समय, आवश्यकता, औचित्य, जनचाहना, जनमत, राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थितिको मूल्यांकन गरी आफूलाई जनपक्षीय बनाउँदा टाउको दुखाई किन ? कम्युनिष्ट, वामपन्थी वा जुनसुकै सिद्धान्त मान्ने भए पनि त्यो पहिले मानिस हो । सामाजिक प्राणी हो । तर उसलाई मानवीय स्वभावभन्दा बाहिर राखेर विश्लेषण किन गरिन्छ ? अनुभव, अध्ययन, विचार, विश्लेषण, ज्ञान, दर्शन, विवेक, विश्लेषण, विवेचना आदिका कारण मानिसको सोचाई, चिन्तन र बुझ्ने क्षमता फरक–फरक हुन पुग्दछ । यिनै कारण उसका धारणामा पनि फरकपन आउँछ । समाज परिवर्तनको विचार दिँदैमा वा वामपन्थी विचार राख्दैमा घरै नहुने, कुनै आधुनिक सुविधै प्रयोग नगर्ने वा मोबाइलजस्ता कुराको प्रयोग नै नगर्ने भन्ने हुन्छ ? आधुनिक सुविधा र सेवाको प्रयोग गरेर नेपाली समाजको अग्रगामी सुधारमा उसले आफूलाई समाहित गर्न सक्छ । प्रतिस्प्रर्धाको यस्तो युगमा पुरातन मान्यतामा मात्रै अड्ने हो भने जनताको परिवर्तनको चाहना, आवश्यकता, विकसित मान्यतालाई संबोधन नै गर्न सकिन्न । तर त्यसको अर्थ आधुनिक सुविधा र सेवामा भुल्ने र डुब्ने भन्ने हुन्न । त्यो तरिकाले फेरि एउटा कम्युनिष्टलाई सुविधामै सीमित बनाउन पुग्छ । युवा नेता घनश्याम भुषालले भने जस्तै ‘भ्रष्टहरूसँग ठक्कर खाँदा–खाँदा थोरै सोच्ने क्रान्तिकारी’ बनिन्छ ।

महाधिवेशनबाट नै वामपन्थीले जनमुखी सिद्धान्त बनाएका छन् । ‘प्रजातन्त्रवादी’हरू कम्युनिष्टको नाम आयो भने ‘लेनिन र स्टालिन’ देख्ने, आवधिक निर्वाचन, विधिको शासन, प्रजातन्त्र, मानवअधिकार, स्वतन्त्र निर्वाचन, स्वतन्त्र न्यायालयजस्ता मूल्य र मान्यता आदिको वकालत हुन थाल्यो भने ‘कम्युनिष्टहरू सिद्धान्तबाट च्यूत बने’ भन्ने कोणबाट आलोचना भइरहने मनोरोग हावी भएको देखिन्छ । साराका–सारा डकुमेन्टमा विधिको शासन र प्रजातन्त्र मान्ने भन्ने उल्लेख छ । सोही धारणामा संविधान बनेको छ । संविधान बनाउने प्रमुख पात्र वामपन्थी नै हुन् । फेरि पनि ‘फुलो परेका बुद्धिजीवीहरू’ कम्युनिष्टलाई सराप्दै छन् । चुनावअघि पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले ‘कम्युनिष्टले जिते रून पनि नपाइने’ घोषणा नै गरिदिए । उनको घोषणालाई जनताले विश्वासै गरेनन् । कम्युनिष्टले जिते । केन्द्रदेखि स्थानीय तहसम्म सरकार बनाए । कतै मानिस रून नपाएको देखिएको छ ? 

०४८ सालअघि पनि कम्युनिष्टले जितेमा ‘बूढाबूढीलाई गोली ठोक्छन्’ भन्ने भाषण गरे । तिनका बुद्धिजीवीले सोही धारणालाई बल पुग्ने गरी ‘स्टालिनकालीन’ उदाहरणलाई धारावाहिक रूपमा प्रस्तुत गरे । त्यो कुरा त्यतिबेला पनि जनताले खारेज गरेकै हुन् । त्यसयता बाग्मतीमा धेरै पानी बग्यो । धेरै निर्वाचन भए । धेरै सरकार फेरिए । धेरै पात्र देखिए । जनताले देखे, भोगे, जोखे, तौलिए र चिने । 

कम्युनिष्ट आफैंभित्रबाट सुधार गर्नुपर्ने आवश्यकता भने आजको सन्दर्भमा पनि उत्तिकै अर्थपूर्ण रहेको देखिन्छ । पटक–पटक जनताबाट अनुमोदित भएका वामपन्थीहरूलाई जाँच्ने भनेको व्यवहारबाटै हो । मनमोहन अधिकारीको सरकारले इतिहासमा लोकप्रिय कार्यक्रम ल्याएको कारण आजसम्म पनि जनताले सम्झने गरेका छन् । जनमतको सही सदुपयोग गर्न सकियो र वामपन्थी पार्टीको एकताले सार्थकता पायो भने कुनै पनि खालको प्रोपोगण्डालाई जनता आफैंले ध्वस्त पारिदिनेछन् । नेपाली समाजमा आज वामपन्थी विचार र शक्ति नङ र मासु जस्तै भइसकेको छ । कम्युनिष्ट र वामपन्थीलाई कसैले ध्वस्त पार्न सक्दैन । सक्छ भने रुसमा झंै आफ्नै कार्यशैली र व्यवहारले सक्छ । भ्रष्ट सोच र चिन्तन, व्यवहारले सक्छ ।

टिप्पणीहरू