​जसले बेलायतमा नेपालीलाई जोगायो

  • केशव श्रेष्ठ

टिमोथी हिभर मेरो सम्पर्कमा आएको १९ वर्ष पुगेछ । बेलायती नागरिक भएर पनि पहिलो भेटमै गरेको सहयोग र मिजासिलो व्यवहारको कारण म उसको नजिक हुन पुगें ।

त्यसबेला बेलायत छिर्न सफल प्रायःजसो नेपाली विभिन्न बहानामा शरणार्थी हुन यहाँको होम अफिस (गृह मन्त्रालय) मा निवेदन दिने गर्थे । त्यसबेला सोभियत संघनिकट पूर्वसमाजवादी राष्ट्रहरु युरोपियन युनियनको सदस्य भइसकेका थिएनन् । बेलायतलाई निम्न ज्यालादारीमा काम गर्ने मानिसको खाँचो थियो । त्यसैले अहिलेको जस्तो आप्रवासी समस्या त्यति चर्को थिएन । नेपालीहरू शरणार्थी हुने निवेदन दिँदै काम गरी बस्थे । तर, उनीहरूलाई थाहा थिएन कि यसनिम्ति कुन नियम पूरा हुनुपर्छ । हो त्यही अवस्थामा उसले नेपालीलाई निःशुल्क सहयोग र अप्रत्यक्ष रूपमा कानुनी सल्लाह दिन थाल्यो । उसको यो क्षेत्रमा प्रवेश हुनुपहिले विभिन्न व्यक्तिले सहयोगको नाममा नेपालीलाई ठग्ने गर्थे । त्यसको ऊ कट्टर विरोधी थियो । यसै कारण केही व्यक्ति उसको विरोधी भैदिए ।

कतिपयलाई लाग्ला, बेलायती नागरिक सबै आर्थिक रूपमा सम्पन्न हुन्छन् । तर म भन्न सक्छु, यो कुरा सत्य होइन । उनीहरूका पनि आ–आफ्नै समस्या छन् । त्यही समस्याभित्र मित्र टिमोथी हिभर पनि पथ्र्यो । तर, आर्थिक रूपमा कमजोर भएर पनि कसैसँग आफूले दिएको सेवाबापत शुल्क लिएन । कसै–कसैले भन्ने गर्थे यसलाई होम अफिसले नेपालीबीच जासुसी गर्न पठाएको होला त्यसैले योसँग पैसाको खाँचो छैन । तर, मलाई थाहा थियो, ऊ कस्तो व्यक्ति हो र आर्थिक अवस्था कस्तो छ भनेर ।

हामीबीच व्यक्तिगत कुरा पनि सेयर हुने गथ्र्याे । होम अफिसले नेपालीलाई सहयोग गरेबापत ऊसँग दुई÷तीनपटक स्पष्टीकरण पनि सोधेको थियो । सायद बेलायती नागरिक नभएको भए ऊ देशनिकालामा पनि परिसक्थ्यो होला ।

कहिलेकाहीँ त पैसाो अभावमा ऊ भोकै पनि परेको छ । तैपनि खानका लागि कसैसँग पैसा मागेन । नेपालीले केही दिए खुशी मानेर खान्थ्यो । म ऊ आउँछ भनेर मनपर्ने केही खानेकुरा किनी फ्रिजमा राख्ने गर्थें ।

म उसलाई विश्वास गर्थें । घरमा आउन×–जान स्वतन्त्र थियो । ऊ पनि मलाई आफ्नै सम्झन्थ्यो । पकाएर राखेको वा फ्रिजमा भएको खानेकुरा झिकेर खान्थ्यो । आर्थिक सहयोगको आशा नराखी अर्काको गाडीमा लिफ्ट मागेर भए पनि नेपालीको घर, बस्तीमा गएर आवश्यक सहयोग र कानुनी सल्लाह दिने गथ्र्याे । 

नेपालीको निम्ति काम गर्ने हँुदा मैले आफ्नो घरमा उसलाई कम्प्युटरको व्यवस्था गरिदिएको थिएँ । एक हिसाबले भन्नुपर्दा मेरो घर पनि भूतपूर्व गोर्खाहरूलाई भेला गराएर निवेदन लेख्ने स्थल बन्न पुगेको थियो ।

 त्यो समय नेपालमा माओवादी र सरकारबीच द्वन्द्व चलिरहेको थियो । माओवादीहरू भूतपूर्व गोर्खाहरूले आफू र आफ्ना कार्यकर्तालाई बन्दुक चलाउन सिकाओस् भन्ने चाहन्थे । नेपाल सरकारले पनि भूतपूर्व गोर्खाहरूले उनीहरूलाई तालिम दिँदै गरेको शंकासहित निगरानीमा राख्न थालेको थियो । यस्तो दोहोरो चेपुवामा परेका उनीहरू गाउँँघरबाट विस्तारै पलायन हुन थाले । यसै क्रममा विभिन्न माध्यमबाट बेलायत आउने क्रम शुरु भयो । यसरी आएका व्यक्तिसँग वर्कपर्मिट हुँदैनथ्यो । त्यसैले लुकेर निम्न ज्यालामा काम गर्न बाध्य थिए । पुलिसले भेटे समातेर नेपाल फर्काउन सक्थ्यो । यस्तो अवस्थामा टिमोथी लुकेर बसेका तिनै भूतपूर्व गोर्खाहरूको कोठामा पुगेर हौसला दिन्थ्यो र आफूले तयार पारेको निवेदनमा हस्ताक्षर गराएर होम अफिसमा पठाउने गथ्र्याे ।

बेलायतको सुरक्षार्थ हजारौंको संख्यामा बलिदान दिएका गोर्खाहरू जसले संविधानअनुसार ‘पाँच वर्ष वा सोभन्दा बढी आर्मीफोर्समा बसेर काम गरिसकेका छन्, उनीहरूलाई शरण नदिए अन्तर्राष्ट्रिय स्तरमै बदनाम हुने तर्क राख्थ्यो । 

ब्रिटिस गोर्खा वेलफेयर सोसाइटी (बीजी डब्लुएस) टिमोथी हिभरको यही योजना र प्रयासको उपज हो । उनैको सहयोग र सल्लाहमा यसको जन्म भएको थियो । यद्यपि यो संस्था बन्नुपहिले नै ‘गेसो’ ले पेन्सनको विषयलाई उठाएर बेलायतमा मुद्दा हालिसकेकोे थियो । यसको उद्देश्य र माग भने नेपालीले बेलायतमा बस्न पाउनुपर्छ भन्ने थिएन । त्यसैले टिमोथी हिभर नै पहिलो व्यक्ति हो, जसले भूतपूर्व गोर्खालाई गोलबन्द ग¥यो ।

टिमोथी नेपालीलाई निकै मन पराउँँथ्यो । त्यसैले सम्भव भएसम्म नेपालीको प्रत्येक कार्यक्रममा सहभागी हुन्थ्यो । कुनै समस्या परेका बेला आफंै कुक भएर भान्सामा समेत मद्दत गथ्र्याे । उसको यही स्वभावका कारण हङकङमा अलपत्र पारिएका गोर्खा सेनाका छोराछोरीहरू अर्थात् ब्रिटिस नेशनल ओभरसिज (बिएनओ) हरूको समस्या समाधान हुन सक्यो ।

तत्कालीन बिएनओ अध्यक्ष मधुकर गुरुङका अनुसार बिएनओ पासपोर्ट होल्डरलाई हङकङ वा चाइनाले आफ्नो नागरिकको मान्यता दिएको थिएन । नेपालको संविधानअनुसार विदेशी पासपोर्ट लिएको व्यक्ति नेपाली नागरिकताबाट स्वतः वञ्चित हुन्छ । यस्तो अवस्थामा राज्यविहीन भएर बसेका व्यक्तिलाई सहयोग गर्न उही टिमोथीले आफ्नो हात अगाडि बढाएको थियो । 

२५ जुलाई २०१९ का दिन नेपालीहरूका मित्र टिमोथी ओलिभर हिभरको अचानक स्वर्गारोहण भएको छ । नेपाली माझ ऊ सधैं बाँचिरहोस् । सम्पूर्ण नेपालीको तर्फबाट यही प्रार्थना गर्दछु ।

  – केशव श्रेष्ठ 

 

टिप्पणीहरू