ट्रम्प, सेलिब्रेटी ओमार र अमेरिका !

  • नारायण पौडेल

अमेरिकालाई कतै प्रतिकात्मक हिसाबले प्रस्तुत गर्नुप¥यो भने स्ट्याचु अफ लिबर्टीको प्रयोग गरिन्छ । सिक्रीले बाँधिएकी नारी बन्धनबाट मुक्त भएर हिँड्न लागेको आकृति लिबर्टीको विशेषता हो । मूर्तिमा देखिने नारीले दायाँ हात टाउको भन्दा माथि उठाएकी छन् र हातमा बल्दै गरेको टुकी लिएकी छन् । उनले बायाँ हातमा रोमन अंकमा १७७६, जुलाई ४ खोपिएको वस्तु समातेकी छन् । त्यसदिन अमेरिका बेलायती उपनिवेशबाट मुक्त भएको थियो ।
 
न्युयोर्कको म्यानह्याटनस्थित टापुमा सो मूर्ति सन् १८८६ मा प्रतिस्थापन गरिएको थियो । मूर्ति फ्रान्सेली जनताले उपहारस्वरूप पठाएका थिए । फ्रान्सका हजारौं जनताबाट सुका–सुका जम्मा गरेर कलाकार फ्रेड्रिक अगस्ट बार्थोडीले उक्त मूर्ति बनाएका हुन् ।

रोमन किंवदन्तीमा स्वतन्त्रताकी देवीको आकृतिलाई आधार मानी सो मूर्ति निर्माण गरिएको बताइन्छ । देवीको आकृतिलाई आधार माने पनि बार्थोडीले मुहारचाहिँ काटीकुटी आफ्नै आमाको जस्तो बनाइदिए । पुत्रधर्म निर्वाह गर्ने योभन्दा उपयुक्त साइत उनका लागि सायदै कुनै अर्को हुन्थ्यो ।

मूर्तिको आकृति रोमन देवीसँग मिलोस् कि मुहार बार्थोडीकी आमासँग, कुरा प्रस्ट छ– स्ट्याचु अफ लिबर्टीको आकृति र मुहारसँग अमेरिकाको जन्मजात साइनो छैन । म्यानह्याटनमा १५० बर्ष यता ठिंग उभिइराखेको मूर्ति आप्रवासी हो तैपनि अमेरिकाको प्रतीक हो ।

अमेरिकालाई आप्रवासीको देश मानिन्छ । इटालीका किष्ट्रोफर कोलम्बसले सन् १४९२ मा पत्ता लगाएसँगै अमेरिकामा युरोपियनको बसाइँसराइ चल्यो । प्रकृतिका पुजारी रैथाने अमेरिकनहरूको तुलनामा बसाइँसराइ गरेर अमेरिकन भएका युरोपियन नै अमेरिकाको सत्ता र शक्तिमा हाबी भए । डोनाल्ड ट्रम्पलाई उदाहरणका रूपमा लिन सकिन्छ । आप्रवासीलाई बेलाबखत कटाक्ष गरेर चर्चामा आइरहने वर्तमान राष्ट्रपति ट्रम्प आफैँपनि आप्रवासीका सन्तान हुन् । उनकी आमा म्यारी स्कटल्याण्डबाट आएकी थिइन् । बुबापट्टिका हजुरबुबा र आमा दुवै जर्मन आप्रवासी हुन् । तीन पत्नीमध्ये दुई आप्रवासी हुन् । जेठी इभाना चेकोस्लोभाकियाकी हुन् । ट्रम्पसँग विवाह गरेपछि उनले अमेरिकाको अंगीकृत नागरिकता प्राप्त गरेकी थिइन् । अमेरिकाको प्रथम महिलासमेत रहेकी कान्छी तथा बहालवाला श्रीमती मेलानिया युगोस्लाभियाकी हुन् । उनले नागरिकता लिएको केही वर्ष मात्र भयो ।

आप्रवासीको छोरो, आप्रवासीको पति भए पनि ट्रम्प आफूलाई अमेरिकन आदिवासी अर्थात् रेड इण्डियनभन्दा बढ्दा आदिवासीझैँ प्रस्तुत गरिरहेका छन् । हुँदाहुँदा जन्मजात अमेरिकी संघीय संसद् सदस्यलाई समेत आफ्नै देश फर्कन सुझाव दिएका छन् । 

अमेरिकाको संघीय संसद्का बहालवाला चार महिला सांसदबारे ट्रम्पले गरेको ट्विट र टिप्पणीका कारण विश्वभर तरंग पैदा भएको छ । म्यासाच्युसेट राज्यकी आयना प्रेस्ली, न्युयोर्ककी अलेक्जेन्ड्रिया ओकासिया कार्टेज, मिचिगनकी रशिदा हर्बी टालिब र मिनेसोटाकी इल्हान ओमारलाई राष्ट्रपति ट्रम्पले अमेरिका मन नपरे आफ्नै देश फर्कन सुझाएका हुन् । अमेरिकाको संघीय सांसद रहेका उनीहरूमध्ये तीनजना जन्मजात अमेरिकी हुन् भने ओमार सोमालियाबाट बाल्यकालमा आएकी हुन् । यी चार जनामध्ये पनि ट्रम्पले ओमारको नामै किटेर आलोचना गर्दै आएका छन् । ट्रम्प उनीमाथि अलकायदाको प्रशंसक रहेको बात लगाउँ छन् । भलै, सो आरोपको पुष्टि गर्न सकेका छैनन् । आफ्नै देश फर्की जाऊ भन्ने विवादास्पद अभिव्यक्तिप्रति संसद्को तल्लो सदनले खेद प्रस्ताव पारित गरेको छ । 

संसारकै सर्वशक्तिमान व्यक्ति ट्रम्पको एकपछि अर्को ट्विटे आक्रमणका कारण ओमारको परिचय विश्वव्यापी बनेको छ । २ वर्ष अघिसम्म खासै चर्चामा नरहेकी उनी अहिले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका लागि हट केक बनेकी छन् । उनका दैनिक गतिविधि र यात्राबारे विशेष सामग्री प्रकाशन तथा प्रसारण हुन थालेका छन् । क्यानडा, जर्मनीलगायत देशका सरकार तथा राष्ट्रप्रमुखले ट्रम्प–अभिव्यक्ति अस्वाभाविक भन्दै ओमार–समूहप्रति ऐक्यबद्धता जनाएका छन् । हेर्दाहेर्दै ओमार अन्तर्राष्ट्रिय सेलिब्रेटी बनेकी छन् । 

को हुन् ओमार ?

तिमी मलाई तिम्रा शब्द बाँण प्रहार गर्न सक्छौ

तिमी मलाई तिम्रा आँखाले छेदन गर्न सक्छौ

तिमी मलाई तिम्रो घृणाले मार्न सक्छौ,

तैपनि, म फेरि उठ्नेछु, हावासरी !

ट्रम्पको पछिल्लो ट्विट आक्रमण र ट्रम्प समर्थकको ‘फर्की जाऊ ओमार’ भन्ने नाराबाजीको जवाफमा ओमारले माया अंगेलु रचित कविताको यो अंश ट्विट गरिन् । कवितामा भनिएझैँ इल्हान अबदुल्लाही ओमार ट्रम्पको निशानामा परेसँगै हावासरी विश्वभरि परिचित भएकी छन् । 

अमेरिकी राजनीतिमा उनको उदय केही कीर्तिमानसहित भएको छ । उनी अमेरिकाको संघीय सांसद बन्ने पहिलो सोमाली–अमेरिकन हुन् । साँसद निर्वाचित हुने पहिलो अंगीकृत अफ्रिकन अमेरिकनको रेकर्ड पनि ओमारको पोल्टामा परेको छ । मिनेसोटा राज्यबाट सांसद निर्वाचित हुने पहिलो अस्वेत महिला पनि उनै हुन् । इतिहासमै पहिलो पटक सन् २०१९ मा मुस्लिम महिला अमेरिकाको सांसद बने । ती दुई मुस्लिममध्ये एक हुन् ओमार । प्यालेस्टाइनी मूलकी रशिदा हर्बी तालिब मुस्लिम भए पनि परम्परागत हिजाव लगाउँदिनन् । तर, ओमारको राष्ट्रिय राजनीतिमा व्यापक परिचय हिजावका कारण पनि स्थापित भयो । अमेरिकी संसद्को १८१ बर्षे इतिहासमा संसदभित्र टोपी वा टाउको ढाक्ने गरी केही लगाउन पाइन्नथ्यो । संसद्मा ओमारको आवागमनसँगै सो नियम परिमार्जन गरियो । धार्मिक आस्थाका आधारमा लगाइने हिजावजस्ता पहिरनलाई फुकुवा गरियो । अमेरिकी संसद्भित्र टाउको छोपेर प्रवेश गर्ने पहिलो सांसद्को रूपमा ओमारको नाम अंकित भयो । सबैभन्दा फराकिलो मत अन्तरले बिजयी हुने साँसदका रूपमा पनि अमेरिकी राजनीतिक इतिहासमा ओमारको नाम लेखिएको छ । 

उमेरले ३६ पुगेकी ओमारको यो राजनीतिक छलाङ कथात्मक चलचित्रको जस्तो देखिन्छ । सन १९८२ मा सोमालियामा जन्मिएकी उनी शरणार्थीका रुपमा केन्या हुँदै १२ वर्षको उमेरमा अमेरिका प्रवेश गरेकी थिइन् । अमेरिका प्रवेश गरेको २३ वर्षमै ओमार अमेरिकी राजनीतिको केन्द्रीय पात्रमा दरिएकी छन् । स्पष्ट वक्ता ओमार परम्परागत कतिपय अमेरिकी मान्यताको कटु आलोचक रहँदै आएकी छन् ।

अरू देशमा सैन्य क्याम्प खडा गर्दैमा अमेरिका शक्तिशाली र सुरक्षित रहन नसक्ने उनको मान्यता छ । उनी अनावश्यक सैन्य ब्यारेक राख्न खर्च गर्नुको साटो शिक्षामा लगानी गर्नुपर्ने तर्क गर्छिन् । ट्रम्प प्रशासनले कागजातबिहीन आप्रवासीलाई कडाइ गरिरहँदा उनी अमेरिकाभित्र रहेका कागजातविहीनले पनि सहज स्वास्थ्य सेवा पाउनुपर्ने तर्क गर्छिन् । निःसर्त स्वास्थ्य सेवा ओमारको नीति हो । ओमार आप्रवासनसम्बन्धी अमेरिकी नीतिको आलोचक रहँदै आएकी छन् । 

अमेरिकाले प्यालेस्टाइनको अस्तित्वबारे भूमिका निर्वाह गर्न नसकेको ओमारको ठम्याइ छ । उनी प्यालेस्टाइनप्रति इजरायली नीतिको कटु आलोचक हुन् । अमेरिकाको मानवअधिकारसम्बन्धी धारणा सन्तुलित नभएको ओमारको निश्कर्ष छ । आफू पक्षधरले मानवअधिकारको गम्भीर उल्लंघन गर्दासमेत अमेरिकी सेना र सत्ताले आँखा चिम्लेको भनी ओमारले संसदीय सुनुवाइमा व्यक्त गरेको विचारले उनीप्रति धेरैको ध्यान तानेको थियो । एल साल्भाडोर, ग्वाटेमाला र निकारागुवामा अमेरिकी समर्थक समूहले गरेको नरसंहारप्रति अमेरिकी सेना मुकदर्शक बनेको सन्दर्भ ओमारले संसद्मा उठाइदिएकी थिइन् । भेनेजुयलाका बहालवाला राष्ट्रपतिलाई अवैध घोषणा गर्ने ट्रम्प नीतिको पनि ओमार आलोचक हुन् । अर्को देशको आन्तरिक मामिलामा अमेरिकाले हस्तक्षेप गर्न नहुने ओमारको तर्क छ । 

अरूको देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्नका लागि गरिने खर्च शिक्षा क्षेत्रमा लगाए सबै अमेरिकनलाई निःशुल्क शिक्षा दिलाउन सकिने ओमारको विश्वास छ । पढ्नका लागि लिइएको शैक्षिक ऋण मिनाह गर्ने ओमारको नीतिका कारण पनि उनीप्रति युवावयको चासो बढेको छ । ट्र«म्पको बोर्डर वाल अर्थात् सीमा क्षेत्रमा पर्खाल लगाउने नीतिलाई ओमारले पैसाको सत्यानाशका रूपमा अथ्र्थाउने गरेकी छन् । 

अर्थात्, ओमार अमेरिकाको राजनीतिमा बागी बनेर उदाएकी छन् । अमेरिकामा आप्रवासीका लागि अथाह अवसर छ भन्ने उदाहरण पनि ओमार बनेकी छन् । आप्रवासीको उदय र आवाजप्रति रंगभेदी तप्का कति असहिष्णु छ भन्ने बुझाउन पनि ओमारको राजनीतिक यात्रा काफी जानकारीमूलक देखिन्छ । 

टिप्पणीहरू