सत्ताको सुपले फेरियो नेताको रूप

  • संकेत कोइराला

यो देशमा कसैले संघीय गणतन्त्रात्मक शासन व्यवस्था छ भन्यो भने त्योभन्दा पटमूर्ख बुझाई केही हुन्न । राज्यका संयन्त्र प्रयोग गरेर व्यक्तिका इच्छा पूरा गर्ने व्यवस्था संसारको कुनै राजनीतिक प्रणालीले कल्पना गरेको छैन । तर देशव्यापी त्यही अभ्यास भइरहेको छ । यो देशमा काठमाडौंमै घरजग्गा, गाडी र सन्तानलाई राम्रा स्कुलमा पढाउने सपना जुत्ता सिलाउनेदेखि सिंहदरबार चलाउनेसम्मले देखेका छन् । सम्पत्ति व्यक्तिको हुन्न भन्ने पाठ जिन्दगीभर घोकेका कम्युनिष्ट नेताहरू कार्यकर्ताको अभिष्ट पूरा गर्ने अभियानमा छन् । जब जग्गा र गाडी नेपालीको नाभीसँग जोडिएर आउँछ भने त्यसैलाई राजनीतिको भाँडो किन बनाइन्छ ? भारतीय बजारमा ७ लाखमा पाइने गाडी यहाँ ४० लाख किन तिर्नुपर्छ ? घरजग्गा खरिद अपराधको जननी किन बन्छ ? घोषणापत्र त गाईको पुच्छर हो, जसलाई छेउ समाएर मस्म भने पुग्छ । कार्यकर्ता या मतदाताले प्रश्न गरेका दिन गफ बुन्न जानेकै छ । नेपाल धर्म बेचेर खानेहरूको देश हो । धर्म मानिसले धारण गर्ने अचुक तत्व हो ।

शेरबहादुर देउवा र रामचन्द्र पौडेल तातोपानीमा डुबुल्की मार्दा देउवाको जनै नभएको दृश्यले चर्चा पायो । आखिर किन ? माधव नेपालले आमाको किरिया नबसेकोमा बहस जन्मियो । प्रचण्डले छालाको जुत्ता लगाएर बाउलाई मुखाग्नि दिएकोमा मानिसले आपत्ति जनाए । नेता पनि समाजका अंश हुन् । अमेरिकी राष्ट्रपतिले कम्युनिष्टलाई देश छोड्न किन धम्की दिए ? उत्तर सजिलो छ– ‘कुनै दिन यस्तो नआओस् कि कम्युनिष्टले अमेरिकाको धर्म, संस्कृतिमाथि धावा बोलेर समाज भडकाउन् ।’ मक्का मदिना जाने मुसलमान, टुँडिखेलमा भेला हुने तामाङ, चौधरी, मगरका पर्वमा नाटक गर्ने नेताहरू शिवरात्रीमा पशुपति जान किन सक्दैनन् ? कार्यकर्ताको धर्म, संस्कृति, परम्परा हुन्छ भने नेताको हुँदैन ? दोहोरो र पाखण्डी जीवन बाँच्नु हुँदैन । रक्सी खाने भए सीसाको गिलासमा खाने हिम्मत गर्नुपर्छ । स्टिलको गिलासमा जाँड धोकेर आदर्शका राजनीति गर्ने युग उहिल्यै समाप्त भए । वास्तवमा राजनीतिक नौटंकी गोट्टीको शुरुवाती बाहुन नेताबाटै भएको छ । नेपालमा अब कोही कसैले कांग्रेस र कम्युनिष्टको अलग अन्तरा घोकेर अलग अस्तित्वको बाजा नबजाए हुन्छ । हरेक प्रधाानमन्त्रीको गर्जन ‘म नै राज्य हुँ’ बाट प्रारम्भ हुन्छ । यस्ता दुईपैसे घमण्ड नपाले हुन्छ । यो देशमा कोही रिसाएर खाँबो चिथोरे पनि जनताको एउटा रौं हल्लँदैन । सरकारी निर्णयले चुलोको अर्थशास्त्रलाई केही फरक पार्दैन । अमेरिका र नेपालको अन्तर भनेकै यही हो । सत्ता त मूलतः नेताको रूप फेर्ने मीठो सुप मात्र हो । 

फेसबुके नेता, फेसबुके प्रशासक, फेसबुके जनताको भाइरसले देशका तमाम अंगहरू निष्कृय छन् । नूनको सोझो चिताउने भन्दा फेसबुकको लाइकमा रमाउने उन्मादले सबैलाई उत्ताउलो बनाउँदै लगेको छ । बाउ मरेको समाचार अपडेट नगरी घाटको कर्म गौण ठान्ने सन्तानहरू हजारौं, लाखौं जन्मन थालेका छन् । सामाजिक सञ्जालमा देखिएका, लेखिएका वाक्य हेर्दा यो देशमा लक्ष्मीप्रसाद देवकोटाको बौद्धिकता, बीपी कोइराला, मदन भण्डारी, मनमोहन, गणेशमानसिंहका राजनीतिक निष्ठा रंगहीन प्रमाणित हुन्छन् । मानौं अष्टबक्रजस्तै जन्मिनुअघि नै सबलाई सवै कुराको ज्ञान छ । नेपालमा प्रकट हुने राष्ट्रियताको चकमके झिल्कोले केही समयमै अमेरिकाले उत्पादन गरेका युरेनियम भट्टी क्षणभरमै खरानी बनाइदिने छ । विवेकको बट्टामा बिर्को लगाएर दास मानसिकताहरू असरल्ल छरिएका छन् । शिकार गर्ने ताकत सकिएपछि झिंगेदाउमा लागेको बाघभैंm अर्ती र बुद्धिको भकारी भएर बाँचेका नेता र प्रशासकका कुण्ठाले फेसबुकमा राम्रै जागिर पाएको छ । आफ्नो समयमा परिवर्तनको नाममा वास्तुशास्त्रीले दिएको सल्लाह हुबहु मानेर कुर्सी र टेबलको दिशा फेरेको बाहेक अरु काम नगरेका यस्ता भूतपूर्वहरूले नमागिएको सल्लाह दिएर अभूतपूर्व हुने जाँगर देखाउनु घोडाअघि बग्गीको प्रवेशजस्तै हो । वास्तवमा सामाजिक सञ्जालका राम्रा नराम्रा आ–आफ्नै विश्लेषण होलान् तर यसले यो देशमा जनताको नाममा दलका झोले मात्र बाँचेको प्रमाणित गर्छ । यहाँ मानिस मर्दैनन्, पार्टीका कार्यकर्ता मर्छन् । 

 

अहिलेको समकालिन दृश्य हेरेर विश्लेषण गर्ने जोसुकैले निकाल्ने निश्कर्ष हो–सृष्टिको पहिलो र अन्तिम सिर्जना नेपाल कम्युनिष्ट पार्टी हो । महत्वाकांक्षीलाई व्यवस्थापन गर्न नसकेर जिल्लामा आधा दर्जन मुखिया जन्माइएका छन् । यिनीहरूको काम, कर्तव्य, अधिकार भनेको खादाको खपत मात्र हो । मानिलिनुस् , देशैभरि नेकपाको बर्चस्व भयो रे ! के हुन्छ ? के सृष्टिको नियम बद्लिन्छ ? बरु जनादेश पाएका दलको तुलनामा प्रतिपक्षले फलमासु रोजीरोजी खाएको छ । भोलि उसैलाई ह्याकुलो टक्र्याउन तपाईंहरू तयार हुनुहुन्छ । पैसाले अघाएका कुन पार्टीका कुन नेता भेटिएला ? ४० प्रतिशत पद बिक्रीमा राख्नुभएकै छ । शान्ति सुरक्षाको जिम्मा लिएर बसेका सिडीओहरू समाज गठन गरेर राजनीति गर्छन् । उनीहरूलाई आफ्नो हैन, ओली, प्रचण्ड, देउवा हेडक्वार्टरको चिन्ता हुन्छ । न्यायाधीशहरू संघ बनाएर पानी आपैंm प्यासले तड्पिएको छनक दिन्छन् । न्यायालयमा पन्पिएको राजनीतिक बीउ अब अलि वर्षपछि यसरी झाँगिने छ कि त्यतिबेला कम्युनिष्ट, काँग्रेस र राजावादीका छुट्टाछुट्टै बेञ्च हुनेछ । एउटाले गरेको पैmसला अर्कोलाई चित्त बुझ्ने छैन । त्यसपछि पूर्ण इजलासको माग हुनेछ । त्यसमा पनि सत्ता सन्तुलनको आधारमा न्यायाधीशको राय बाझिनेछ । त्यसबेला स्वतन्त्र न्यायालयको विरूप दृश्य कस्तो देखिएला, सम्झ“दा पनि काँडा उम्रन्छ । अब राष्ट्रियताको जग मजबुत पार्ने जिम्मेवारी कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका र प्रेस जगतले नभएर सिमेन्ट र डन्डीले लिएका छन् । देशको मेरुदण्ड र नेपालीलाई जोड्ने सेतूका रूपमा यत्र, तत्र, सर्वत्र व्यापारिक विज्ञापन प्रकट हुन थालेपछि हात्ती र हात्तीछाप चप्पलबीचको अन्तर खुट्टिन छाडेको छ । नेपालको सन्दर्भमा मुलुकको कार्यकारी पद जिम्मेवारी नभएर चटकेको आसन बन्दै गयो । मूढ बुद्धि भएकाहरू पनि त्यहाँ पुगेपछि परमार्थी पुरुष बन्ने अभिनयमा मस्तराम भए । सिक्नु नपर्ने, सल्लाह लिनुनपर्ने तर आपूmले बोलेका हरेक वाक्य ब्रम्हवाक्य भन्ने भ्रम पाल्नुपर्ने अनौठो मनोविज्ञानबाट उनीहरू हौसि“दै गए । प्रधानमन्त्रीलाई अनुकूल हुने एजेण्डा लिएर जाने हुक्के, बैठकेहरूको भीडले ठूला मानिसहरू छोपिँदै गए । राम्रो लाउने र मीठो खानेमा सीमित ती एजेण्डाले व्यक्तिको अनुहार त फेरियो तर देश गर्तमा जाकिने प्रस्थान विन्दु कोरियो । जमिनविनाको त्यो अभिनय पदबाट खुस्केका भोलिदेखि सियोले घोचिएपछिको बेलुनको हावामा अनुवाद भयो । सिंहदरबार देशको त्यस्तो खतरनाक ७८ औं जिल्ला हो, त्यहाँ पुगेपछि अपवाद बाहेक सबै दाँत फुक्लेको बाघ भएर फर्किएका छन् । 

पुलिस र सेनामा क्रान्तिकारी संघ खुल्नुबाहेक त्यहाँभित्रका रमिता झन्झन् छताछुल्ल भएका छन् । फौजीका हेडसर घर फर्कंदा विनोद चौधरीजस्ता अर्बपति भएर निस्कन्छन् । सरुवा–बढुवा हुन ब्रिफकेस हटकेक बनेका सन्दर्भ भलीभाँती बाहिर आएकै हुन । देशका हरेक निर्णय दारी र सारीका प्रभावमा पर्ने क्रम तीब्र छ । रामनाम जप्नेहरू हराउँदै छन् । बरु रिटायर्डहरू नेभर टायर्ड भन्दै राज्यकै सुविधामा रमाउन कस्सिँदैछन् । रिटायर्ड हुनुअघि नै पदको मेलोमेसो मिलाएर निस्कनेहरूको भीड पनि उत्तिकै हेर्नलायक देखिन्छ । आपूmबाहेक संसारलाई उल्लू देख्नेहरूको रोचक भिडन्त घरघर र टोलटोलका भट्टीमा देख्न पाइन्छ । 

राम्रो विचारले कालान्तरमा राम्रै कर्मको जन्म दिन्छ । त्यागको अभिमान धनको अभिमानभन्दा बढी खतरनाक हुन्छ । गौतम बुद्ध मूर्ति पूजाका विरोधी थिए । तर कालान्तरमा विश्वभर लाखौं उनैका मूर्ति बनाइए । प्रत्येक मानिस बुद्ध हो । मात्र फरक भगवान गौतम बुद्ध उठेका बुद्ध हुन् भने हामी सुतेका बुद्ध । हरेक मानिस जागृत हुने हो भने बुद्धत्व प्राप्त गर्न सक्छ । पुस्तकालयमा राखिएका गीता, कुरान र बाईबल आपैंंm युद्ध गर्दैनन्, जो युद्ध गर्छन् तिनीहरूले त्यसको रस लिएकै हुँदैनन् । गाई जुनसुकै रंगको किन नहोस् दूध त सेतै हुन्छ !

 

टिप्पणीहरू