​मार्नु र मार्छु भन्नु

प्रधानमन्त्रीको हत्या गर्छु भनी फेसबुकमा पोष्ट गर्ने मान्छेलाई त प्रहरीले एकैछिनमा समातेको छ । प्रहरी फोर्स अब एकदमै चनाखो भइसक्यो नि । यस्तो हत्या गर्छु, मार्छु, काट्छु भन्नेलाई प्रहरीले एकैछिनमा समाइदिन्छ ।

समाउन नसक्ने त उही मारेर भाग्ने, हत्या गरेर फरार हुनेलाई मात्रै हो । मान्छे मार्नेहरू धेरै जनालाई प्रहरीले आजसम्म समाउन सकेको छैन । समाउने भनेको उही मार्छु, काट्छु भन्नेलाई मात्रै हो । 

प्रहरीको यो तदारुकताबाट थाहा हुन्छ कि नेपालमा मान्छे मार्न सजिलो छ तर मान्छे मार्छु भन्नचाहिँ गाह्रो छ । प्रहरीले मान्छे मार्नेलाई भन्दा पनि मान्छे मार्छु भन्नेलाई पटक्कै नछोड्ने रहेछ । त्यसैले मानिसहरू होशियार हुनुपर्छ । 

तैपनि प्रहरीले देखाएको यो तदारुकताले अबचाहिँ प्रहरीले निर्मला पन्तका हत्यारालाई पनि छिट्टै समाउने, अझ सम्भव छ भने मदन–आश्रितका हत्यारालाई पनि तत्कालै समाउने छाँट देखिँदै छ । प्रधानमन्त्रीलाई मार्छु भन्नेलाई तत्काल समाएर प्रहरीले जगाइदिएको यो आशाका लागि एक थान धन्यवाद किन नदिऊँ !

टिप्पणीहरू