​जागृत मात्र भएर के काम ?

केही समय अघि मात्रै नेपाली कांग्रेसले जागरण अभियान चलाउने घोषणा गरेको थियो । कांग्रेसीहरू त्यसै जागृत हुँदैनन् । जागृत बनाउन पनि कार्यक्रम अथवा अभियान चलाउनु पर्छ । पार्टीले अभियान चलाए पछि सोचेको थिएँ कि अब कांग्रेस र कांग्रेसी दुवै जागृत हुनेछ । 

तर कांग्रेस अहिलेसम्म कति प्रतिशत जागृत भयो त्यो भने पत्ता लागेको छैन । अब जागृतै भएको छैन कि ? वा, जागृत भएर पनि हामीले थाहा नपाएको हो ? यदि जागृत भएको हो भने त्यो थाहा पाउनु हामी सर्वसाधारण नागरिकको अधिकार पनि हो । सूचनाको अधिकार सम्बन्धी कानूनले पनि हामीलाई त्यो अधिकार दिन्छ । 

तर कांग्रेसले आजसम्म आफू जागृत भइसकेको बारे कुनै वक्तव्य दिएको छैन । आएको पनि छैन । त्यसो त भन्नेहरू कतिसम्म भन्छन् भने कांग्रेस जागृत हुने भनेको उही सत्तामा भएको बेला मात्रै हो । सत्तामा नभए पछि जागृत हुँदैन । जब सत्तामा पुग्छ तब कांग्रेसका साना साना कार्यकर्ता समेत जागृत हुन्छन् । र, आफूलाई यो पद चाहियो, त्यो पद चाहियो भन्दै कुद्न थाल्छन् । अहिले त जागृत भएर पनि कुनै फाइदा छैन । पाइने केही होइन, खालि जागृत मात्र भएर के गर्नु ?

टिप्पणीहरू