​ओशोका नाममा शीलाको बोसो

सात–आठ कक्षामा पढ्दा हुनुपर्छ, कैलाली जनपुस्तकालयको अलमारीमा एक सेतो ‘दाढिवाल’ साधुको किताब हात लाग्यो ः फर्गटन ल्याङ्ग्वेज अफ हार्ट । धर्म, दर्शन र तर्कशास्त्रमा रुचि भएकाले कसरी–कसरी म यो किताबसम्म आइपुगेको थिएँ । पढ्दा मज्जा लाग्यो । ओशोका कुरा एकदमै तार्किक थिए । त्यही किताब पढ्दै गर्दा एक जना कांग्रेसनिकट विद्यार्थी संगठनको नेता क्षितिज भण्डारी आएर पछिबाट टाउको मुसार्दै खुब तारिफ गरे । सानै उमेरमा त्यस्ता गहन विषयप्रतिको रुचिले उनलाई प्रभावित गरेको हुनुपर्छ । मैले त खासमा जिज्ञाशाले समाएको थिएँ तर त्यो प्रतिक्रियापश्चात् झन् ओशोतिर आकर्षित भएँ । बच्चा बुद्धि न हो !

पुस्तकालयमै अर्को पुस्तक पनि थियो । विश्वप्रसिद्ध शृंखलाअन्तर्गत सो पुस्तकमा विभिन्न सन्तबारे नकारात्मक कुरा लेखिएको थियो । साइबाबादेखि ओशोसम्म त्यसमा थिए । ओशोको पुना आश्रममा सन्न्यासीहरू आपत्तिजनक मुद्रामा रहँदाको एउटा तस्बिर राखिएको थियो । एउटा धार्मिक परिवारमा संकीर्ण सोचसाथ हुर्किएको किशोरलाई त्यो तस्बिरमा देखाइएको कुरा पाच्य नहुनु स्वाभाविकै हो । त्यो देखिसकेपछि धर्मप्रति अनास्था र साधु–सन्तप्रति वितृष्णा बढ्दै गयो । 

त्यति हुँदासम्म धेरै कुरा बिग्रिसकेको थियो । घरमा पनि ओशो पसिसकेका थिए । उनका मत्रमुग्ध बनाउने वाणीप्रति सबै कायल थिए । कतिपय बेलामा म आफैं पनि ओशोको नक्कल गरेर सबैलाई हँसाउँथें । दिदी खासगरी बढी आकर्षित थिइन् । मैले बीचैमा छाडेँ तर दिदीले थप अध्ययन गर्दै गइन् । घरमा एकपटक ‘सम्भोग से समाधी’को मोटो न मोटो किताब पस्यो । ओशोका विचार कत्तिको सहज रूपमा ग्रहण गर्न सकिने खालका थिए भन्ने कुरा उक्त पुस्तक दिने मान्छेले दिदीलाई पत्रिकामा बेरेर दिएबाटै थाहा हुन्छ । 

‘बिना ध्यान किए ये सब सुनोगे तो ठीस हो जाओगे ।’ धनगढी बसाइका क्रममा किनमेलका लागि गइने गौरी फण्टा बजारमा ओशोको सिडी किन्दा पसलेले भनेको थियो । 

काठमाडौं बस्दा एक दिन तपोवन गएँ । त्यतिबेलासम्म दिदी ओशो सन्न्यासी भइसकेकी थिई । सन्न्यास मेरालागि निष्क्रिय जिन्दगीतर्फको ढोका थियो । तर, दिदीमा खास केही परिवर्तन आएको थिएन । ओशोका माला लगाउने र बेलाबेला तपोवनमा ध्यान गर्न जानेबाहेक बाँकी सबै जीवन सामान्य नै थियो । म आफू ठिस भएको हुँ कि भन्ने लागेर पनि एकचोटि ध्यान गर्न भनी तपोवन गएको हुँ । 

तपोवनको बसाइ केही शंका र केही आनन्दसँगै बित्यो । पहिलो पटकको डायनामिक मेडिटेसन हिचकिचाहटका कारण त्यति मज्जा लिन नसके पनि एउटा नौलो अनुभव भने भयो । सत्संगका क्रममा ईश्वरको अस्तित्वबारे अरुण स्वामीसँग प्रश्न राखेको थिएँ । नयाँ अनुहार देखेर उनले बडो गम्भीर भावमा उत्तर दिए । 

‘जब त्यो सत्ता स्विकार्दा जीवन सरल बन्छ र समाज नियममा बाँध्न सहज हुन्छ भने किन नकार्ने ? नास्तिकका लागि जीवन एकदम कठोर हुन्छ’, यस्तै यस्तै भनेर एकदमै लामो समय लिई उनले जवाफ फर्काए । 

‘यति गम्भीर त यो आश्रम कहिले पनि भएको थिएन’ भन्ने उनको उद्गारसँगै आश्रममा फेरि हाँसोको फोहोरा छुटेको थियो । 
त्यसपछि विदेश आइयो । बेलाबेला प्रवचन सुन्ने र दिदीसँग बहस गर्नेबाहेक खास त्यस्तो केही भएन । मलाई दिदीको आस्थाप्रति ईष्र्या भाव जाग्थ्यो । मैले एक तस्बिरका कारण जुन बाटो पहिल्यै त्यागिसकेको थिएँ त्यो बाटोमा ऊ निकै अघि बढिसकेकी थिई । अब फिर्ता हुने कुरै थिएन । अरू ओशोप्रति आस्था राख्नेहरूका लागि पनि हालसालै बजारमा चलेको हल्लाले खासै फरक पर्छ होला । 

हो, बजारमा अहिले निकै हल्ला छ । नेटफ्लिक्सले ओशोको जीवनीमा आधारित एउटा धारावाहिक तयार गरेको छ । छ भागको, ६ घण्टाभन्दा केही बढी लामो त्यो धारावाहिकमा त्यो जानकारी छ जो ओशोका धेरै आस्थावानको लागि चासोको विषय हुन सक्छ । अमेरिकाको ओरेगन राज्यमा साढे पाँच मिलियन डलर खर्च गरेर ८० को दशकमा किनिएको ६४ हजार एकड जमिनमा खडा एउटा नमुना सहर रजनीपुरमको उत्थान र पतनको घटनालाई केन्द्रबिन्दुमा राखी बनाइएको सो धारावाहिकको एक रोचक पात्रमा आनन्द शिलाको अन्तर्वार्ता पनि छ । त्यही अन्तर्वार्ताले यो पुस्तक पढ्न प्रेरित गरेको हो । रनजीशपुरमको स्थापनादेखि त्यसको बचाउका लागि उनले मिडियासँग गरेको विवादास्पद संवादका अंश र ओशोसँगको सान्निध्यका कारण पनि उनले ओशोबारे जानेका थप कुरा बुझ्न उनको ‘डन्ट किल ओशो’ नामक पुस्तकसम्म आइपुगेँ । 

नामै अलि सनसनीपूर्ण लागेर पुस्तकमा पक्कै पनि ओशोको शंकास्पद मृत्युबारे केही जानकारी होलाजस्तो लागेको थियो । तर, पुस्तक विशेष गरी शिलाले आफूलाई निर्दोष सावित गर्न लेखेजस्तो लाग्यो । रजनीशपुरममा भएका तमाम गैरकानुनी कामकारबाहीको एक्ली दोषीजस्तै बनाइएकी शिलाले आफ्नो सफाइ पेस गर्नु थियो । यो पुस्तक उनले त्यसैका लागि लेखेकी हुन् भन्दा अत्युक्ति नहोला ।

टिप्पणीहरू