मापसे जाँच गर्दा कोरोना संक्रमणको जोखिम हुन्छ ?

मापसे जाँच गर्दा कोरोना संक्रमणको जोखिम हुन्छ ?

कोरोनाको जोखिम अहिले पनि उत्तिकै छ । कोरोना संक्रमणको सम्भावना हटिसक्यो भन्दै निस्फिक्री ढंगले हिँड्न सक्ने अवस्था बनिसकेको छैन । कोरोनाको जोखिमबाट बच्न राजधानीमा अधिकांशले मास्क लगाएको देखिन्छ । तर, सवारी साधनका चालकहरुलाई ट्राफिक प्रहरीले गर्ने मापसे चेकको बेलामा मास्क खोलेर ब्रेथलाइजरमा फुक्नु साह्रै जोखिमपूर्ण हुन सक्ने बताइएको छ ।

चौबिसै घण्टा सवारी साधन चलिरहने राजधानीका चालकलाई चेक गरिने ब्रेथलाइजरलाई कुन बेला निर्मलीकरण गर्न भ्याइएला ? अनि कहिले र कसरी गरिएको छ भन्ने प्रश्न उठ्न थालेको छ । अहिले त्यहि प्रश्ने सवारी चालकहरुलाई पिरोलेको हो । पछिल्लो समय मापसे गरेर सवारी चलाउनेको संख्या ह्वात्तै बढेको ट्राफिक महाशाखाले जनाएको छ ।

मादक पदार्थ सेवन गरेको छ कि छैन भनेर जाँच गर्ने कार्यलाई निरन्तरता दिइएको ट्राफिक प्रहरीको भनाइ छ । काठमाडौं उपत्यकामा दैनिकजसो एक सय ५० जनाको हाराहारीमा चालकहरु मापसे कारबाहीमा पर्ने गरेको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी सञ्जीव शर्मा दासले जानकारी दिनुभयो । मापसे चेक गर्ने क्रममा प्रहरीले ब्रेथलाइजरको प्रयोग गर्छ ।

ब्रेथलाइजरमा सामान्य दूरीबाट चालकलाई फुक्न लगाएर मापसे चेक गरिन्छ । मापसे गरे वा नगरेको सडकमा छुट्याउने अन्य विधि नभएकाले ब्रेथलाइजरको प्रयोग गर्नुपरेको उहाँ बताउनुहुन्छ । ब्रेथलाइजर प्रयोग गर्दा कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने दाबी ट्राफिक प्रहरीको छ ।

ट्राफिकका अनुसार ब्रेथलाइजरलाई निर्मलीकरण गरेमा मदिरा सेवन गरेको वास्तविक अवस्था देखिँदैन । त्यसैले ब्रेथलाइजरको पाइप निकालेर फाल्ने गरेको दासले बताउनुभयो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका विशेषज्ञ शेरबहादुर पुनले ब्रेथलाइजर फुक्ने क्रममा हाछ्युँ गरेमा, खोकेमा वा र्याल झारेमा कोरोना सर्ने सम्भावना बढी हुने बताउनुभयो ।

नेपालमा हालसम्म कोरोना संक्रमणको कारण ११ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । स्वास्थ्य मापदण्डको अनिवार्य पालना गरेर कोरोना संक्रमणबाट जोगिन पनि डा. पुनले आग्रह गर्नुभएको छ ।

टिप्पणीहरू