​पानी प¥यो काँ प¥यो था’ छैन

  • सुशील पन्त

कसको निमन्त्रणामा आएको अझै प्रष्ट भइनसके पनि भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणले उत्पन्न गरेको राजनीतिक तरंग अझै सेलाएको छैन । सुष्मालाई केपी ओलीले नै बोलाएको भनेर प्रचार भए पनि एमाले नेताले सो कुराको खण्डन गरिसकेका छन् । फेरि भारतीय सरकारको प्रतिनिधिलाई बोलाउने हैसियतमा ओली छैनन् । परन्तु ‘वेटिङ प्राइमिनिष्टर’सँग भारतीय विदेशमन्त्री र भारतीय जनता पार्टीकी नेत्रीको भेटले नेपालको राजनीतिक सरगर्मी बढाइदिएको भने पक्कै हो । सामाजिक सञ्जालमा ओलीको राष्ट्रियताप्रतिको प्रतिबद्धतालाई लिएर प्रश्न उठाइएका छन्, यहाँसम्म कि भारतीय पत्रिका नवभारत टाइम्सको मास्टर हेडमा भद्दा फोटो बनाएर नेपालका नदी नाला सुम्पिन तयार छु भन्ने आशयका अफवाह फैलाइएको छ ।

मानांै ओलीले भारतीय विदेशमन्त्रीसँग कुनै गोप्य सम्झौता नै गरिसकेका छन् जसोगरी । उसो त पछिल्ला दिनमा सामाजिक सञ्जाल अरूलाई दोषारोपण गर्ने, अनर्गल गाली र लाञ्छना लगाउने माध्यमका रूपमा दुरूपयोग हुन थालेका छन् । छद्म नाममा बनाइएका ट्वीटरबाट अरूलाई गाली गर्ने ‘परपीडक’हरूको निगरानी कसले गर्ने भन्ने प्रश्न छ । आमनागरिकमा बढेको ‘राष्ट्रवादी सेन्टिमेन्ट’का कारण पनि नेपाली नेताले भारतीय अधिकारीलाई भेट्दा आशंकाको नजरले हेर्ने गरिएको छ । २६ जनवरीमा भारतीय दूतावासमा आयोजित चियापानमा नगएका ओली भोलिपल्ट अर्को कार्यक्रममा गएको भनेर पनि आलोचना भएकै हो । 

स्वागत र बिदाइका लागि सरकारका मन्त्रीहरू सुष्मा चढेको जहाजको ढोकासम्म पुगे पनि भेटको केन्द्रविन्दु ओली थिए भन्ने कुरा लुकाउनुपर्ने विषय रहेन । कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेट औपचारिक र महत्वहीन थियो । आफूलाई नभेटेको भनेर कमल थापाले त बालुवाटारमा आयोजित दिवाभोज नै बहिष्कार गरे । थापा तिनै व्यक्ति हुन्, जसले ओली सरकारका परराष्ट्रमन्त्रीको रूपमा सुष्मासँग पटक–पटक वार्ता गरेका थिए । भारतीय विदेशमन्त्रीसँगको भेटमा ओलीले परराष्ट्र मन्त्रालयका प्रतिनिधि राखेनन् भन्ने विषयलाई लिएर कांग्रेसका केही युवा नेताले विरोध जनाए । उसो त प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा पनि परराष्ट्रका प्रतिनिधि देखिएनन् । नेपालमा कूटनीतिक मर्यादाको धज्जी उडाउल लागिएको धेरै भइसक्यो । कूटनीतिक मर्यादा ख्याल नगर्दा भारतीय राजदूतहरू चप्पल लगाएर नेपालका प्रधानमन्त्रीको निवास र शयनकक्षमा पुग्ने गरेका छन् ।

यसपटक ओली र सुष्माबीच ‘वान टू वान’ वार्तामा भएका कुरा दुईजनालाई मात्र थाहा हुने कुरा भयो । तर भारतले विगतमा गरेका अमानवीय नाकाबन्दी गल्ती थियो भन्ने रियलाइजेसन मात्र होइन नेपालसँग सम्बन्ध सुधारको लागि आतुरता देखाएको भारतीय मिडिया पढ्दा पनि आकलन गर्न सकिन्छ । नेपाल–भारत सम्बन्धमा यसपटक क्रमभंग भएको छ, विगतमा नयाँ सरकार गठन नहुँदै यताबाट दूत, विशेषदूत पठाइने गथ्र्याे । यसपटक विदेशमन्त्री विशेष दूत बनेर आइन्, यसले भारतीय छटपटाहटलाई बुझ्न सकिन्छ । सुष्माको सातौं नेपाल भ्रमणलाई लिएर नेपाल र भारतमा अनेक टिप्पणी भइरहेका छन्, कतिपयले आफूखुशी व्याख्या पनि गरेका छन् । 

भारतीय पत्रकारहरूको बुझाइ र प्रचार बेग्लै छ । सुष्माको नेपाल भ्रमणप्रति माओवादी केन्द्र असन्तुष्ट रहेको चर्चा भइरहँदा भारतीय केही पत्रकारले भने भारतको चाहना ओली नभई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भन्ने आशयका टिप्पणी पनि नलेखेका होइनन् । जस्तो कि, कँवलजित सिंहले डेलीओड्ट इनमा २१ माघमा एक टिप्पणीमा लेखेका छन्, ‘राजनीति भनेको सबै सम्भावनाको खानी हो र नेपालमा कुनै पनि राजनीतिक गठबन्धनले सत्ता चलाउने सम्भावना छ । भारत चीनपरस्त ओलीभन्दा प्रचण्डले नै सत्ता चलाऊन् भन्ने चाहन्छ तर सुष्मा स्वराजको भ्रमणले नेपालको तरल राजनीतिलाई कस्तो असर पार्छ हेर्न बाँकी नै छ ।’ परन्तु अहिले प्रचण्ड प्रधानमन्त्री बन्ने अवस्था छैन, यदि बन्दा हुन् त शेरबहादुर देउवाले उनलाई पाँच वर्ष ढुक्क भनिसकेका थिए, राजपाका नेताहरूले पनि मुख खोलिसकेका थिए ।

यता र उता फरक–फरक विश्लेषण भए पनि नयाँ सरकार नबन्दै नेपाल भ्रमणको हतारोचाहिँ नेपाल अब चीनतर्फ ढल्किन्छ कि भन्ने भय नै हो । दक्षिण एशियाली मुलुकमा कमजोर बन्दै गइरहेको आफ्नो प्रभाव र बढ्दो विरोधको सामना गर्न सुष्मा नेपाल आएको विश्लेषण गरिँदै छ । उनको भ्रमणको अर्को सन्देश नेपालको संविधानप्रति घुमाउरो समर्थन पनि हो । यसअघि संविधान संशोधनका लागि मधेसकेन्द्रित दललाई उकास्दै आएको भारतले यसपटक संविधान संशोधनको कुरा उच्चारणसम्म गरेन । बरु मधेसकेन्द्रित दललाई संविधान संशोधन होइन मधेसमा मिलेर सरकार बनाउन सुझाव दिएको कुरा आयो । यिनै सुष्मा हुन्, जसले भारतको राज्यसभामा नेपालको नाकाबन्दीसम्बन्धी छलफलको जवाफका क्रममा संविधानले मधेसीलाई विभेद गरेको भनेर भारतीय जनतालाई दिग्भ्रमित पारेकी थिइन् ।

विगतमा एकअर्काको ‘दुस्मन’ भनेर प्रचार गरिएका एमाले र मधेसकेन्द्रित दल मिलाएर सरकार बनाउने र वामगठबन्धन फुटाउने सुष्मा भ्रमणको गुप्त एजेण्डा थियो भन्ने पनि टिप्पणी भइरहेको छ । सुष्मालाई भेटेका मधेस केन्द्रित केही दलका नेताको अनुहारमा देखिएको प्रशन्नताबाट उनीहरूको सत्तारोहण सुनिश्चित भएको बुझ्न कठिन छैन । एमाले–माओवादी गठबन्धन फुटाउन अदृश्य चलखेल भइरहेका छन् । चुनावी सुनामीले बढारिएर अस्तित्व नामेट भइसकेको राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति समशेर राणाले बेमौसमी ढंगले दुई पार्टीबीच एकता हुनै नसक्ने भविष्यवाणी गरेका छन्, सुष्मा फर्केपछि । यता या उताका पुरातनवादी शक्ति सकेसम्म एमाले–माओवादी सम्मिलित सरकार नबनोस्, बने पनि पार्टी एकता नहोस् भन्नेमै देखिन्छन् । 

भारतीय हिन्दी दैनिक जागरणमा प्रकाशित एक विश्लेषणमा नेपालमा इन्टरनेट कनेक्सन जोडिएको, अप्टिकल फाइबरको जालो बिच्छ्याएको जसकारण नेपालमा चीनको दबदबा बढ्दै गएको विश्लेषण गरिएको छ । चीनको बढ्दो भूमिका कम गर्न सुष्माले काठमाडौं भ्रमण गरेको सो विश्लेषणको निचोड छ । नेपालको इन्टरनेटमा भारतीय एकाधिकार सकिएको भनेर भारतमा रोइलो छ । राजनीतिमा प्रयोग हुँदै आएको ‘दिल्लीमा पानी पर्दा काठमाडौंमा छाता ओढ्ने’ विम्ब पनि तोडिँदै छ । नेपाल–भारत सम्बन्धमा यो एकप्रकारको क्रमभंग नै हो कि अब नेपाललाई फकाउन भारतीय नेपाल धाउने दिनको शुरुवात ।

टिप्पणीहरू