सीमाक्षेत्रमा भारत निर्भरताको यो हविगत

सीमाक्षेत्रमा भारत निर्भरताको यो हविगत

भारत निर्भरताको पीडा अनुभूत गर्नु छ भने दार्चुलाको सीमाक्षेत्र भ्रमण गरे हुन्छ । हुन तः नेपालको राष्ट्रिय राजनीतिमा छिमेकीकै प्रभाव रहेको भनिन्छ । अतिक्रमित कालापानीको भूगोल रहेको दार्चुला जिल्लामा भारत निर्भरताको पराकाष्टा जनजनले भोग्नुपरेको छ । राज्यको बेवास्ता र सरकारको लापरबाहीले भारतसँग सीमा जोडिएको दार्चुलामा जनता आक्रान्त बनिरहेका छन् ।

एक वर्षअघि सिंगो देश एकढिक्का भएर अतिक्रमित लिम्पियाधुरा–लिपुलेक–कालापानको भूगोल समेटेर नयाँ नक्सा जारी गरियो । सँगसँगै अतिक्रमित भूगोल नजिकका अन्तिम गाउँहरू छाङरु र टिंकरसम्म जोड्ने पैदल बाटो मर्मत गरी सञ्चालनमा ल्याउने जमर्को पनि भयो । व्यास गाउँपालिका वडा नम्बर २ मा पर्ने घाटिबगर क्षेत्रको ४ सय ५० मीटर लामो चट्टान फुटाएर पैदलमार्ग खोल्न नेपाली सेनालाई चार महिनासम्म खटाइयो । सेनाको टोलीले कठिन भूगोल,वर्षातको मौसम र चुनौतीपूर्ण अवस्थामा काम गर्यो र व्यासक्षेत्र जोड्ने पैदल बाटो खोलिएको घोषणा पनि गर्यो ।

भारतीय सडक निर्माणले नेपालको बाटो भत्कियो,भारतकै अनुमतिमा व्यास जानुपर्ने बाध्यता

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले व्यवस्थित र दीगो रुपमा व्यासक्षेत्रको पैदलमार्ग सञ्चालनमा ल्याउन डिपिआर तयार गरेपछि बाटो निर्माणको ठेक्का पनि खोलिसकेको छ । बाटो निर्माणको ठेक्का सम्झौता गत चैत्रमा भए पनि हालसम्म निर्माण कार्यको भने थालनी भएको छैन । एक वर्षअघि सेनाको टोलीले निर्माण गरेको बाटो यस पटकको बर्खामा भारतीय सडक निर्माणले क्षतविक्षत भइसकेको छ ।

महाकाली नदी किनार बनाइएको बाटो भारततर्फको महाकाली नदी किनारमा निर्माणाधीन सडकका कारण भत्किएको हो । जिल्ला प्रशासन कार्यालय दार्चुलाले दुई महिनाअघि मात्रै यसबारे भारतीय समकक्षी पिथौरागढ जिल्ला प्रशासनलाई पत्राचार गरेको थियो । तर भारतीय पक्षले यसबारे हालसम्म कुनै जवाफ वा प्रतिक्रिया दिएको छैन । दार्चुला जिल्ला प्रशासनले गृह मन्त्रालयलाई पनि यसबारे लिखित जानकारी गराएको छ तर केन्द्रबाट समेत यसबारे कुनै पहल र परिणाम नआएको बताइन्छ ।

गतवर्ष नेपाली सेनाले खुलाएको पैदलबाटोको भग्नावशेष पनि महाकाली नदी किनारमा खोज्नुपर्ने भएको छ । भारतीय सडक निर्माणमा अत्यधिक जिलेटिन प्रयोग गर्दा महाकालीवारी नेपाली भूगोलको बाटो क्षतविक्षत भएको हो । गतवर्ष खुलाइएको पैदलबाटो आधा दर्जनौं स्थानमा क्षतविक्षत भएको व्यासवासी योगेश बोहरा बताउँछन् । दुम्लिङदेखि बुँदीसम्मको क्षेत्रमा पैदलबाटो क्षतिग्रस्त भएको उनको दाबी छ । ‘नेपालको बाटो हिँडडुल गर्नसक्ने अवस्थामा छैन,भारतको बाटो भएर व्यासक्षेत्र पुग्नुको विकल्प छैन’ व्यासको छाङरु गाउँका स्थानीय विमल सिंह बोहराको भनाई हो यो ।

भारतीय क्षेत्रमा भइरहेको सडक निर्माणले नेपालको बाटो भत्किएको छ । यसबारे नेपाल सरकार जानकार पनि छ । तर भारतीय पक्षसँग समन्वय गरेर क्षतिग्रस्त बाटो मर्मत गर्न सकिरहेको छैन । दार्चुला जिल्ला प्रशासन कार्यालयको भूमिका गृह मन्त्रालय र भारतीय प्रशासनलाई पत्राचार गर्नमै सीमित छ । ‘माथि (गृह मन्त्रालय) बाट प्राप्त आदेशअनुसार हामी चल्ने हो, भारतीय पक्षसँग समन्वय गर्ने हो, दुबै सन्दर्भमा हामी सक्रिय छौं तर पत्राचार गर्नु बाहेक व्यासको क्षतिग्रस्त बाटो मर्मतका लागि केही गर्न सकिएको छैन’ जिल्ला प्रशासनका एक कर्मचारीले वास्तविकता झल्काउँदै भनेका छन् ।

सीमाक्षेत्रको अवस्थाबारे गृह मन्त्रालय उदासीन र भारतीयपक्ष गैरजिम्मेवार रहेको जिल्ला प्रशासन कार्यालयका ती कर्मचारी बताउँछन् । ‘हामीले पठाएको चिट्ठी पढेर थन्क्याउने काम मात्र भइरहेको छ, गृह मन्त्रालयबाट ठोस पहल भएको छैन, भारतीय प्रशासनले पनि हाम्रो पत्राचारलाई महत्व नै दिएको छैन’ प्रशासनका अर्का कर्मचारी भन्छन् ।

भारतीय सडक निर्माणले क्षतिग्रस्त भएको नेपालको पैदलबाटोबारे भारतको प्रशासनले पत्रको जवाफ नै दिने गरेको छैन । तर, भारतीय मिडियाले नेपाली सेनाले पैदल बाटो समेत सञ्चालन गर्न नसकेको भन्दै समाचार भने लेखिरहेका छन् । ‘भारतीय प्रशासनले सीमाक्षेत्रको विषयमा नेपाली पक्षसँग समन्वय र सम्पर्क दुबै गर्दैन, उल्टै भारतीय मिडियाले हेपाहा दृष्टिका साथ बाटोबारे गलत समाचार नै छापेको छ’ दार्चुलास्थित एक सुरक्षा अधिकारी बताउँछन् । असार ३० गते प्रकाशित हिन्दुस्तान दैनिकमा ‘टिंकरसम्मको सडक निर्माणमा कस्सिएको नेपाली सेनाले व्यास जोड्ने पैदलबाटो समेत खोल्न नसकेको’ भन्दै समाचार लेखिएको छ ।

व्यास गाउँपालिकाको वडा नम्बर १ मा पर्ने छाङरु र टिंकर गाउँका १ सय २० घरपरिवारले भारतीय बाटो प्रयोग गर्नुको विकल्प नभएको वडाअध्यक्ष अशोक सिंह बोहरा बताउनुहुन्छ । ‘भारतीय मोटरबाटो र गोरेटोबाटो भएर मात्र व्यासक्षेत्र पुग्नुपर्ने बाध्यता छ, हामीसँग अर्को विकल्प छैन’ उहाँले भन्नुभयो । गतवर्ष नेपाली सेनाले चट्टान फुटाएर खोलेको बाटोसमेत क्षतिग्रस्त भएपछि तत्काल बाटो खुल्ने सम्भावना नै नभएको उहाँको भनाई छ ।

टिप्पणीहरू