निजामती कि नागरिक ?

निजामती कि नागरिक ?

नेपालको सार्वजनिक नागरिक प्रशासनमा प्रचलित निजामती शब्दलाई नकार्दै शुद्ध सार्वजनिक नागरिक सेवा हुनुपर्ने माग कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य अर्जुननसिंह केसीले गर्नुभएको छ । तर, निजामती ऐन संशोधन गर्ने बेला आइसक्दा पनि निजामतीको अर्थ ज्ञानबारे विज्ञहरूले ध्यान दिएका छैनन् । 

निजामती सेवाको अर्थ कुनै निजाम अर्थात् हालका भारतीय राज्यको टेरिटोरी भन्ने बुझिन्छ । जस्तै निजामे हैदरावाद आदि । तसर्थ यस्तो गलत अर्थ बोकेको शब्दलाई सच्याउँदै परिवर्तन गर्न आवश्यक भएको हो । पहिले भारतीय राज्यहरूलाई निजाम भनिन्थ्यो, त्यही निजाममा ई प्रत्यय लगाएर निजामती बनाइएको र जसको अर्थ निजामका लागि काम गर्ने भन्ने हुन्छ । 

अरबी भाषामा निजामतको अर्थ अरुभन्दा फरक र चम्किलो तारा हो यो शब्द रैथाने नभएर भारत हुँदै आएको हो । किरात, लिच्छवि, मल्लकालीन नेपालमा पनि यो शब्द अहिलेको अर्थमा प्रयोग भएको पाइँदैन । राणाकालमा नागरिक प्रशासनका लागि चिफ साहेब र जंगीतर्फ लाठ साहेबको प्रयोग हुन्थ्यो । 

सर्वप्रथम ००७ सालको अन्तरिम संविधानमा निजामती शब्दको प्रयोग भएको पाइन्छ । त्यसपछि २००९ सालमा मातृकाप्रसाद कोइराला प्रधानमन्त्री भएको बेला नेपालको नागरिक प्रशासन सेवामा संरचनागत आवश्यक सुधार ल्याउन भारतीय विज्ञ एम एच बुचको नेतृत्वमा एक टास्क फोर्स गठन भएको थियो । ५ सदस्यीय सो समितिमा भारतीय केपी माथ्रनी, एके आनन्द र नेपालको तत्कालीन प्रशासन तथा कानुन र न्याय मन्त्रालयका सचिव तिलकसमशेर राणासहित अर्थ मन्त्रालयका सचिव हिमालसमशेर राणा थिए । त्यसबेला निजामत शब्दको प्रयोग भएको पाइन्न ।

विज्ञहरूका अनुसार सो प्रतिवेदनमा ‘सिभिल एडमिनिस्ट्रेशन’ शब्द प्रयोग भएको पाइन्छ र जसको नेपाली रूपान्तर गर्दा ‘नागरिक प्रशासन’ हुन्छ । ०१३ सालमा गठित प्रशासन पुनर्गठन आयोगको प्रतिवेदन भने सिभिल सर्भिस एडमिनिस्ट्रेशनको बदला निजामती सेवा नियमावली २०१३ लेखेर जारी भएको पाइन्छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू