प्रधानमन्त्री पत्नीको स्कूलबाट सोझै योजना आयोग

प्रधानमन्त्री पत्नीको स्कूलबाट सोझै योजना आयोग

प्रधानमन्त्री शेरबहादुर देउवा पाँच पटक मुलुकको प्रधानमन्त्री बन्नुभयो । धेरै पटक प्रधानमन्त्री बन्ने थोरै नेतामध्येमा उहाँ पर्नुहुन्छ । तर,यसअघि उहाँका चारवटै प्रधानमन्त्रीत्वकाल मुलुकका लागि उत्साहजनक मानिँदैन । बरु उहाँमाथि २०४७ सालमा प्राप्त प्रजातन्त्र दरबारलाई बुझाएको आरोप लाग्ने गरेको छ ।

प्रधानमन्त्रीका रुपमा देउवाको असफलतामा कतिपयले पत्नी आरजु राणालाई दोष दिने गर्छन् । देउवाका हरेक निर्णयमा आरजु हावी हुँदा विवादित हुने गरेको स्वयम् काँग्रेसीहरु नै स्वीकार गर्छन् ।

अप्ठेरो अवस्थाकाबीच पाँचौ पटक मुलुकको कार्यकारी बन्नुभएका प्रधानमन्त्री देउवालाई यसपटक पुराना असफलता बिर्साउने गरी काम गर्ने अवसर प्राप्त भएको छ । तर,शुरुआत भने सकारात्मक देखिएको छैन । बरु उहाँले गरेका नियुक्तिलाई लिएर आलोचना हुन थालिसकेको छ । त्यसमा पत्नी आरजुकै हात रहेको आरोप छ ।

देउवाले काँग्रेस सांसद उमेश श्रेष्ठलाई अस्ति स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गर्नुभयो । शिक्षा र स्वास्थ्य क्षेत्रमा छुट्टै खालको व्यवसायीको पहिचान बनाएकालाई नियुक्ति दिनुलाई काँग्रेस र सत्ता गठबन्धनका अन्य दलले रुचाएका छैनन् । पार्टी र गठबन्धनको असहमतिका बाबजुद् श्रेष्ठलाई मन्त्री बनाउनुमा आरजुको ‘च्वाइस’ ले काम गरेको जानकारहरु बताउँछन् । स्कूल, जलविद्युत,अस्पताललगायतका क्षेत्रमा ठूलो लगानी गरेका श्रेष्ठ र आरजुबीच व्यावसायिक सम्बन्ध रहेकाले नै उनी मन्त्री बनेको दाबी गरिन्छ ।

यता हिजो योजना आयोगको उपाध्यक्ष नियुक्तिमा पनि आरजु जोडिनुभएको छ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थविद् डा. विश्व पौडेललाई नियुक्त गरेको छ । डा. पौडेल आरजुले सञ्चालन गरेको एक निजी स्कुलका बोर्ड अफ ट्रस्टिज हुन् । पौडेललाई योजना आयोगको जिम्मा दिइनुमा त्यहि सम्बन्धलाई कारण मानिएको छ ।

ललितपुरको खुमलटारमा रहेको उलेन्स स्कुलको चेयरपर्सन स्वयम् देउवापत्नी आरजु हुनुहुन्छ । पौडेल सोही स्कुलका बोर्ड अफ ट्रस्टिज हुन् । पौडेलले यसअघि स्वर्णिम वाग्ले उपाध्यक्ष रहँदा आयोगमा सल्लाहकार भएर काम गरिसकेका छन् ।

टिप्पणीहरू