माधव र भीम रावल मिलाउन सुदूरपश्चिमका कमरेडको ओइरो

माधव र भीम रावल मिलाउन सुदूरपश्चिमका कमरेडको ओइरो

नेकपा (एमाले)भित्रको किचलो साम्य बनाउन सुदूरपश्चिमका एमाले कमरेडहरू कस्सिएका छन् । जसरी पनि वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावलबीच बढेको दूरी घटाउन उनीहरूले भएभरको मेहनत गरिएको बताएका छन् ।

सुदूरपश्चिम सरकारका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाहको नेतृत्वमा संघीय राजधानी काठमाडौं आएको टोलीले यसबीच नेता नेपाल र रावललाई भेटेर आफ्नो कुरा राखिसकेको छ । वरिष्ठ नेतासँगको भेटमा शाही टोलीले अलग अलग अघि बढेर कसैको फाइदा नभएको उल्लेख गर्दै ‘भीम रावल तपाईंहरू पछिको नेता रहेको,’ढंगले बुझिदिन आग्रह गरेको बुझिएको छ ।

“आफूहरूले कोटेश्वर र टोखामा नरम शब्दमा कडा कुरा राखेपछि रावल कमरेडले राजीनामा फिर्ता लिने अवस्था बनेको उहाँहरूको दाबी छ ।”

शाही टोलीले गरेको आग्रह उद्धृत गर्दै स्रोतले भनेको छ, ‘तपाईंहरू (नेपाल र रावल) दुई नेता मिलेको कारण पार्टी धेरै पटक स्खलनमा झर्न जोगिएको छ । तपाईंहरूको संयुक्त प्रयासले नेपाली कम्युनिष्ट आन्दोलनलाई अहिलेको उचाईसम्म पुर्याएको हो । यो पक्षलाई मनन गरिदिनुहोला ।’

प्रत्युत्तरमा नेता नेपालले उहाँहरूलाई ‘ठीक छ,त्यसो हो भने म रावल कमरेडसँग कुरा गर्छु’ भन्ने वचन दिएर टोखा पुगी प्रतिनिधिसभाबाट राजीनामा फिर्ता लिन आग्रह गरेको बताइन्छ ।

नेपालको प्रत्युत्तरपछि पनि उहाँहरूले उठ्ने बेला १५ वर्षसम्म महासचिव हुनुभएको र भोलि पनि नेतृत्वमा बस्नुपर्ने भएकाले त्यहि ढंगले अघि बढ्न अनुरोध गर्नुभएको थियो । नेपाललाई ‘मूल आन्दोलनबाट बाहिर जान हुँदैन, तपाईं र भीम रावल कमरेड अलग अलग हुनु हुँदैन । त्यसो गर्न मिल्दैन,एकै ठाउँमा बस्नुपर्छ । सल्लाह गरेर निश्कर्षमा पुग्नुहोस्,’ भनेर सुझाव दिएको टोली

रावलसँग भेट्न टोखा पुगेको थियो । शाही टोलीसँग रावलले ‘सबै कुरो पार्टी नेतृत्व,वरिष्ठ नेताको सल्लाहबाट गरिएको बताउनुभयो ।’ छलफलमा रावलले राष्ट्रियताको अडान,एमसीसी, लिम्पियाधुराको विषयमा सबैभन्दा धेरै लड्ने आफू मात्र भएको बताउनुभएको थियो । तर अहिले अध्यक्ष केपीसँग मिल्यो भन्ने आरोप लागेपछि उहाँको चित्त दुःखेको मन्त्री शाहीको टोलीले अनुभूत गरेको बताइन्छ ।

“आधा तटस्थ बस्ने,आधा विश्वासमा भोट दिने,आधा नदिने,कोही यता र कोही उता जाने भएपछि आफूले बोल्ड डिसिजन गरेको रावलको दाबी थियो ।”

रावलले स्पष्ट पार्दै भन्नुभएको छ, ‘सबै काम माधव कमरेडको सल्लाहमा गरेको हुँ । १० बुँदे बनाउनेदेखि सहमति सार्वजनिक गर्दासम्म उहाँलाई थाहा दिएको हुँ ।’

तर,परिस्थिति नसोचेको ढंगले अघि बढेपछि आफूले राजीनामाको निर्णय गरेको उहाँले बताउनुभएको थियो । पार्टीका सांसद तथा नेताहरू आधा तटस्थ बस्ने,आधा विश्वासमा भोट दिने,आधा नदिने,कोही यता र कोही उता जाने भएपछि आफूले बोल्ड डिसिजन गरेको रावलको दाबी थियो । ‘नेतृत्व कमजोर भएर यस्तो गाईजात्रा भइसक्यो,म टुलुटुलु हेरेर बस्ने मान्छे होइन । सँधैभरि जुनसुकै विषयमा कि पक्षमा कि विपक्षमा भन्ने मान्छे हो । तर यसपटक देखिएको फोहोरी खेलबाट बाहिर बस्न मन लागेकोले त्यस्तो निर्णय गरेको हुँ,’ रावलको स्पष्टीकरण थियो ।

तर पश्चिमका कमरेडहरूले सम्झाउँदै भनेका थिए, ‘मुलुक र पार्टी संकटमा छ । देशको लागि लडेको र जनताको लागि लडेको नेताले नै भिन्दै भएँ भन्नुले राष्ट्रियता कमजोर हुन्छ । सुदूर पश्चिमबाट सबै पक्ष र पार्टी तपाईंलाई सहयोग गर्न काठमाडौं आएको छ । राजीनामा फिर्ता लिनुस् ।’

आफूहरूले कोटेश्वर र टोखामा नरम शब्दमा कडा कुरा राखेपछि रावल कमरेडले राजीनामा फिर्ता लिने अवस्था बनेको उहाँहरूको दाबी छ । दुबै जना नेताले ‘तपाईंहरूको कुरा ठीक हो’ भनेर आश्वस्त तुल्याउनुभएको थियो ।

छलफलमा सहभागी एक जना सुदूर पश्चिमे नेताका अनुसार रावलले गत चैतको पार्टी कार्यकर्ता भेला ताका नै पार्टी फुटाऊँ भन्नुभएको थियो । तर परिस्थितिले उहाँलाई साथ दिएन । अरु नेताहरू फुटाउने मनस्थितिमा आज पनि हुनुहुन्न । हिजो पनि हुनुहुन्थेन ।

पछिल्लो दिनमा वरिष्ठ नेता नेपालको सल्लाहबमोजिम नै उहाँले एउटा पक्षबाट कार्यदल नेतृत्वको जिम्मा लिनुभएको हो । त्यहि आधारमा सबै गतिविधिको रिपोर्टिङ माधव नेपालकोमा पुग्ने गरेको पश्चिमका कमरेडहरूको विश्वास छ ।

नेपाल र रावलबीच कुनै कुरामा मिस अण्डरस्ट्याण्डिङ भएको आशंका गरिएको छ । त्यसमा संस्थापन पक्षले समेत फुटाऊ र राज गर भन्ने ब्रिटिशकालीन नीति प्रयोग गरेको छ । नेपालको कम्युनिष्ट आन्दोलनमा अहिलेसम्म त्यो नीति रहँदै आएकोले एमालेभित्र भीम कमरेड बिच्किनुमा त्यो सिद्धान्तको प्रभाव भन्नेहरू पनि भेटिएका छन् ।

त्यहि कार्ड प्रयोग गरेर सबैलाई आफ्नो पक्षमा तान्ने प्रयास गर्दा अहिले संस्थापन पक्ष आफैँ यता न उता भएको छ । यो शैलीको चरम प्रयोग गर्दा अन्ततः सबै समाप्त हुने तल्लो तहका नेताहरूले हिसाब निकालेका छन् ।

पार्टी एकता गराउन राजधानीमा सक्रिय सुदूरपश्चिमका एमाले नेताहरूको धारणा छ,‘माधव नेपालसहितको पार्टी एकता हो । भीम रावल र नेपालबाहेकको एकताको कुनै अर्थ हुँदैन । त्यो कसैले सोचेको छ भने,पार्टीलाई न रहे बाँस, न बजे बाँसुरीको अवस्थामा पुर्याउने गलत रणनीति हुनेछ ।’

अब वरिष्ठ नेता नेपाल र रावल एक ठाउँमा हुने बित्तिक्कै अध्यक्ष ओली मिल्नैपर्ने अवस्थामा आउनुपर्ने अवस्था उत्पन्न हुँदै गएको उहाँहरूको निश्कर्ष छ । त्यही निश्कर्ष निकालेर सुदूर पश्चिमका कमरेडहरू घर फर्किने मुडमा देखिनुभएको छ ।

जनआस्थासँगको सम्पर्कमा एक जना नेताले भन्नुभएको छ, ‘शीर्ष तहमा नमिलेसम्म तल मिलेर केही हुनेवाला छैन । पार्टी एकताको निम्ति आवश्यकता पर्यो भने अर्को शिराबाट पनि सोच्नुपर्छ । हामीले त्यहि आग्रह गरेका छौं ।’

टिप्पणीहरू