ओलीको अध्यादेश शीतल निवासबाट खारेज

ओलीको अध्यादेश शीतल निवासबाट खारेज

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश खारेज भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज अध्यादेश खारेज गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्ति जारी गर्दै सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा अध्यादेश खारेज भएको जानकारी दिएका छन् ।

‘सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको मिति २०७८/४/३ मा प्राप्त पत्रानुसार नेपाल सरकार,मन्त्रिपरिषद्को मिति २०७८/४/२ को निर्णय एवम सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम संवैधानिक परिषद (काम,कर्तव्य,अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश,२०७८ खारेज गर्नुभएको छ’, विज्ञप्तिमा भनिएको छ ।

संवैधानिक नियुक्तिमा आफूलाई सजिलो हुनेगरी ऐन संशोधन गर्न ओलीले अध्यादेश ल्याउनुभएको थियो । अध्यादेशमा बहुमत सदस्यले सँवैधानिक निकायहरुमा नियुक्तिको निर्णय गर्न सक्ने बनाइएको थियो ।

त्यतिबेलाको प्रमुख प्रतिपक्ष काँग्रेससहितका दलहरुले अध्यादेशको चर्को विरोध गरेपनि त्यसैका आधारमा संवैधानिक नियुक्ति गरिएको हो । त्यसविरुद्ध परेको मुध्दा अहिले पनि सर्वोच्च अदालतमा पेशी नचढी बसेको छ ।

टिप्पणीहरू