माधव नेपालले भन्नुभयो-मध्यावधि रोकौँ,एकता गरौं

माधव नेपालले भन्नुभयो-मध्यावधि रोकौँ,एकता गरौं

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले तत्काल चुनावमा जानु एमालेको दुवै समूहका लागि घातक हुने बताउनुभएको छ । आफ्नै निवासमा भेट्न पुगेका विघटित कार्यदलका नेताहरुसँगको छलफलमा नेता नेपालले ‘अर्ली इलेक्सन’ रोक्नका लागि पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनु उपयुक्त हुने धारणा राख्नुभएको हो ।

नेपालले सरकारले विश्वासको मत नपाए ६ महिनामा चुनाव हुने र उक्त चुनाव एमालेका लागि प्रतुत्पादक हुने बताउनुभएको उहाँ निकट स्रोतले जनाएको छ । सो क्रममा नेपालले प्रतिनिधिसभा विघटन हुनबाट रोक्न देउवालाई विश्वासको मत दिएपनि पार्टी एकताको प्रक्रिया रोक्न नहुनेमा जोड दिनुभएको थियो ।

सरकारलाई विश्वासको मत नदिन आग्रह गर्दै पुगेका कार्यदलका सदस्यलाई नेता नेपालले संसद विघटनपछि हुने निर्वाचनको परिणाम एमालेका लागि हानिकारक हुने भएकाले त्यसतर्फ जान नसकिने प्रष्ट अडान राख्नुभएको बताइन्छ ।

‘संसद्को प्रक्रिया पूरा भैसकेपछि पनि एकताको काम चलिरहन्छ । एकताको त लामो प्रक्रिया छ । सरकारले विश्वासको मत पाएन भने ६ महिनामा चुनाव हुन्छ । चुनाव हुँदा हामी सबैको बिजोग हुन्छ । त्यसैले अहिले विघटनको बाटोमा नजाऊँ । यो सरकार रहँदा पनि हाम्रो पार्टी एकताको प्रक्रिया रोकिने होइन । त्यसैले गम्भीर भएर सोचौं’,नेता नेपालको भनाइ उद्धृत गर्दै उहाँ निकट स्रोतले भन्यो ।

यसअघि नेपाललाई भेट्न पुगेका ओलीपक्षीय नेता शंकर पोखरेलले माधव नेपालका कारण पार्टी एकताका लागि भएको तीन महिनाको मेहनत खेर गएको टिप्पणी गर्नुभएको थियो । कार्यदलले तयार गरेको १० बुँदे प्रस्तावमा नेता नेपाल असहमत भएकाले एकता प्रयास निर्रथक बनेको पोखरेलको भनाइ थियो ।

नेपाल निकट स्रोतले भने ओली पक्षले १० बुँदे प्रस्तावलाई बार्गेनिङ्गको हतियार बनाएको बताएको छ । ‘उहाँहरुको भनाइ बहुमतको आधारमा निर्णय गरौँ भन्ने छ । बादलहरुसहित बैठक बस्नुपर्छ भन्नुको अर्थ पनि त्यहि हो । कार्यदलको प्रस्तावमा शीर्ष तहमा छलफल नै नगरी एकैचोटी पार्टी कमिटीमा लैजाने उहाँहरुको जोड भनेको बहुमतले पेल्ने कुरासँग जोडिएको छ’,उक्त स्रोतले भन्यो ।

टिप्पणीहरू