चीनसँग पाकिस्तानको आँप व्यापार,दुवै देशको सम्भावना अपार

चीनसँग पाकिस्तानको आँप व्यापार,दुवै देशको सम्भावना अपार

विश्वमा पाकिस्तानी आँपलाई निकै स्वादिलो मानिन्छ । झण्डै १८ लाख टन वार्षिक उत्पादन हुने त्यहाँको आँप विदेशमा समेत निर्यात हुने गरेको छ । कोरोना महामारीमा समेत त्यहाँको आँपको माग विश्वव्यापी रुपमै बढी देखिएको छ ।

सोही मागलाई ध्यानमा राखेर पाकिस्तानले यो वर्ष १ लाख ५० हजार मेट्रिक टन आँप निर्यात हुने अनुमान गरेको छ । यसअघि ८० हजार मेट्रिक टन आँप निर्यात गर्ने लक्ष्य राखेकोमा उसले १ लाख ४० हजार मेट्रिक टन आँप निर्यात गरेको थियो ।

पाकिस्तानी आँप जति लोकप्रिय छ,त्यत्ति नै त्यहाँको उत्पादनपूर्वका कार्यमा अवरोध रहेको बताइन्छ । अखिल पाकिस्तान फलफूल तथा तरकारी निर्यात,आयात एवम् व्यापार संघका अध्यक्ष सहजाद शेखका अनुसार बूढा रुख, उत्पादनमा उच्च लागत,कोल्ड स्टोरेजको अभाव,यातायातको समस्या र अनुसन्धान तथा विकासको अभाव नै आँप उत्पादन तथा निर्यातमा प्रमुख बाधक रहेको छ ।

पाकिस्तानी आँप विज्ञ तथा सरकारी अधिकारीहरूले आँपको उत्पादन बढाउन चीनसँग आवश्यक समन्वय र सहकार्यमा जोड दिएका छन् । चीन विश्वमा सबैभन्दा धेरै आँप उत्पादन गर्नेमध्ये दोस्रो ठूलो देश हो । त्यसैले चीनसँगको सहकार्यमा कृषि संरचना र प्रविधिको आधुनिकीकरण गर्दै आँपको विकास गर्ने लक्ष्य पाकिस्तानले राखेको बताइएको छ ।

पाकिस्तानका संघीय खाद्य सुरक्षा तथा अनुसन्धानका लागि संघीय मन्त्री सैयद फखर इमामले आधुनिक खेती र कीट–नियन्त्रण विधि,उच्चतम प्याकिंग टेक्नोलोजी,कोल्ड चेन सुविधाका साथै फलफूलको उत्पादन र बिक्री बढाउन धेरै वटा बिक्री च्यानल खोलेको कारण चीन विश्वको दोस्रो सबैभन्दा ठूलो आँप उत्पादक देश बनेको बताएका छन् ।

उनका अनुसार चीनले चीन–पाकिस्तान आर्थिक कोरिडोर (सीपीईसी) अन्तर्गत मुलुकभर आपूर्ति र सडक पूर्वाधारको सुधार गरी सडक मार्गबाट हुने व्यापार विस्तारमा पाकिस्तानलाई निरन्तर सहयोग गरिरहेको छ ।

मन्त्री इमामले पाकिस्तानी आँपलाई विश्व बजारमा आकर्षक मूल्यमा बेच्न दुवै देशले संयुक्त अनुसन्धान आयोजना थालेको र आँपको गुणस्तरमा सुधार ल्याउन थप प्रदर्शनी क्षेत्रको स्थापना गर्नु पर्नेमा समेत जोड दिएका छन् ।

पाकिस्तानले आफ्नो आँपको विशिष्ट स्वादको प्रचार गर्न हालैका वर्षहरुमा चीनमा धेरैवटा कार्यक्रम आयोजना गर्दै आएको छ । आँप निकासीकर्ताहरुले चीनबाट सोचेको भन्दा राम्रो प्रतिक्रिया पाएको बताएका छन् ।

स्रोत : सिन्ह्वा

टिप्पणीहरू