लथालिंग देशको भताभुंग चाला

मध्य र सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्र नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पस अस्तव्यस्त छ । विद्यार्थी कम छन्, कर्मचारी, शिक्षकको ताँती छ, भवन जीर्ण छ, क्याम्पस प्रांगण जंगलमा रूपान्तरण भएको छ । क्याम्पस भवन जीर्ण हुँदा जोखिम मोलेर पठनपाठन भइरहेको छ । ५० वर्ष पुरानो भवन जीर्णोद्धार नहुँदा जोखिमपूर्ण अवस्थामा पठनपाठन गर्नैपर्ने बाध्यता छ ।

पानी चुहेर पाठ्यपुस्तकसमेत भिज्ने गरेको छ । क्याम्पस प्रमुख गणेशकुमार रेग्मी भवन जीर्ण भएका कारण संकट परेको बताउँछन् । उनले समयमा मर्मत सम्भार नभए दुर्घटना हुने खतरासमेत बढेको बताए ।

०१९ सालमा महेन्द्र डिग्री कलेजको नाममा स्थापना हुँदा भवन निर्माण भएको हो । ०२८ सालमा आएर महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्ज नामकरण गरिएको थियो । स्थापना भएको ५० वर्ष पार हुँदासम्म पनि क्याम्पस भवनको अहिलेसम्म मर्मत सम्भार भएको छैन । भवन जीर्ण हुनु पनि विद्यार्थी कम हुनुको एक प्रमुख कारण हो ।

भवन मर्मत सम्भारका लागि त्रिभुवन विश्वविद्यालय तथा स्थानीय निकायका साथै विभिन्न दातृ निकायसँग अनुरोध गरिए पनि सुनुवाइ नभएको क्याम्पस स्रोतको भनाइ छ । यद्यपि, क्याम्पसकै आन्तरिक स्रोतबाट पनि कुनै पहल भएको पाइँदैन ।

यही क्याम्पस पढेका थुप्रै विद्यार्थी सांसद, मन्त्री भएका छन् तर क्याम्पसतिर भने कसैले फर्केर हेरेका छैनन् । भारत सरकारको सहयोगमा १२ वर्षदेखि निर्माण थालिएको क्याम्पसको डिग्री ब्लक र छात्रावास क्याम्पस प्रशासन र नेपालगञ्ज उपमहानगरपालिकाको चरम बेवास्ताका कारण अपूरै छ । १७ बिघा क्षेत्रफलमा फैलिएको क्याम्पसमा हाल २ हजार हराहारीमा विद्यार्थी छन् । क्याम्पसमा स्नातक र स्नातकोत्तर तहका मानविकी, शिक्षा, विज्ञान, शिक्षा र व्यवस्थापन तथा कानुन संकायको पठनपाठन हुने गरेको छ ।

– मोहम्मद हसन

टिप्पणीहरू