महन्थ र राजेन्द्रको दौडधुप बढेपछि जसपाले बोलायो बैठक

महन्थ र राजेन्द्रको दौडधुप बढेपछि जसपाले बोलायो बैठक

नयाँ सत्ता समीकरणलाई लिएर दुई कित्तामा विभाजित जनता समाजवादी पार्टी (जसपा)ले पदाधिकारी बैठक बोलाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि भोलि बोलाएको संसद बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल गर्न बैठक बस्न लागेको हो ।

जसपामा विश्वासको मतको पक्ष र विपक्षमा परस्पर दुई धारणा सार्वजनिक भैरहेको छ । उपेन्द्र-बाबुरामसहितको बहुमत खेमा ओलीविरुद्धको विपक्षी गठवन्धनमा खुलेर लागेको छ । यादवले काँग्रेस सभापति शेरबहादुर देउवा,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले बरिष्ठ नेता माधव नेपालसँग लगातार छलफल गरिरहनु भएको छ । बहुमत भनिएको यो पक्ष कुनै हालतमा सरकारलाई विश्वासको मत नदिने अडानमा छ ।

यता,प्रधानमन्त्री ओलीको पक्षमा खुलेरै लागेको महन्थ-राजेन्द्र खेमा भने अहिले विश्वासको मतको सन्दर्भमा तटस्थ बस्ने योजनामा छ । आज बिहान बूढानिलकन्ठ पुगेर महन्थ र राजेन्द्रले तटस्थ बस्ने जानकारी गराइसकेका छन् । आजै उनीहरुले बालुवाटारमा प्रधानमन्त्री ओलीसँग पनि छलफल गरेका थिए । ओलीसँगको भेटमा विश्वासको मत नदिने र विपक्षी गठवन्धनलाई पनि सहयोग नगर्ने रणनीति बनाइएको बताइन्छ । विपक्षी गठवन्धनलाई बहुमत पुर्याउन रोक्ने र संसद विघटनमा लैजाने प्रधानमन्त्री ओलीको तयारीअनुसार नै महन्थहरुले तटस्थ बस्ने निर्णय लिएको बताइन्छ ।

जसपा नेता मोहमद इस्तियाक राईनले भने विपक्षी गठवन्धनलाई आफूहरुको साथ रहने बताए । प्रतिगमनविरुद्धको गठवन्धनमा जसपाको निर्णायक भूमिका रहने भन्दै उनले आजको बैठकले संस्थागत निर्णय गर्ने बताए । ‘पार्टीले प्रतिगमनविरुद्धको गठवन्धनमा महत्वपूर्ण भूमिका खेल्छ’,उनले भने ।

राईनले सकेसम्म सर्वसहमति, नभए बहुमतले निर्णय गर्ने बताए ।बहुमतको निर्णय सबैले मान्नुपर्ने भन्दै उनले अन्यथा पार्टी छोडेर जान सुझाव दिए । जसपाको केन्द्रीय कार्यकारिणी र संसदीय दलमा उपेन्द्र-बाबुराम पक्ष बहुमतमा रहेको बताइन्छ ।

टिप्पणीहरू