अदालती फैसलाको नकारात्मक असर

अदालती फैसलाको नकारात्मक असर

२३ फागुनको अदालती फैसलाका नकारात्मक असर क्रमशः प्रकट हुँदैछन् । बमकुमार श्रेष्ठ र कुमार रेग्मी दुई जना श्रीमानले रहर गर्दा नेकपाको अस्तित्व मात्र कोल्याप्स भएन छँदाखाँदाको बहुमतप्राप्त ओली सरकार र सबैभन्दा ठूलो दल नेकपा एमालेमा समेत चट्याङ्ग परेको छ ।

मदन भण्डारीको अवसानपछि पन्ध्र बर्षसम्म पार्टी चलाएका माधवकुमार नेपाल तथा ०३९ देखि ०४६ र ०६४ देखि पाँच बर्ष एमालेको नेतृत्व गरेका झलनाथ खनाल पक्षधर सांसदहरु राजीनामाको तयारीमा पुगेका छन् । भोलि प्रतिनिधिसभाबाट विश्वासको मत प्रधानमन्त्री ओलीलाई नपुग्ने देखिएको छ ।

प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित ८० मध्ये नेपाल पक्षका २२ सांसदले आजै राजीनामा दिने सम्भावना छ । एमालेले पाएको कूल ४१ मध्ये समानुपातिकतर्फका माधवनिकट ११ जना सांसदले भने आजै राजीनामा दिने छैनन् ।

समानुपातिकतर्फका सांसदले राजीनामा दिएमा बन्द सूचीमा रहेका त्यसभन्दा मुनिकाले अवसर पाउने र रिक्त पद तुरुन्तै शोधभर्ना हुने स्थिति छ भने प्रत्यक्षतर्फ निर्वाचितको सिट खाली भएमा छ महिनाभित्र उपनिर्वाचन गर्नुपर्ने हुन्छ ।  एमालेबाट अहिले प्रतिनिधिसभामा समानुपातिकसहित १२१ सांसद छन् ।

यस्तै,राजीनामाको तयारीमा रहेका नेपाल–खनाल समूहबाट प्रत्यक्ष निर्वाचित सांसदहरुमा झलनाथ खनाल,माधवकुमार नेपाल , योगेश भट्टराई,जयकुमार राई, भवानी खापुङ,यज्ञराज सुनुवार, गणेश पहाडी,पवित्रा निरौला खरेल,जीवनराम श्रेष्ठ,नारायण खतिवडा,विरोध खतिवडा,सुरेन्द्र पाण्डे,घनश्याम भुसाल,गोकर्ण बिष्ट,मेटमणी चौधरी, दिपकप्रकाश भट्ट,राजबहादुर बुढा,झपट रावल,भीम रावल, कृष्णलाल महर्जन तथा सोमप्रसाद पाण्डे हुन् ।

त्यस्तै,समानुपातिक तर्फ रामकुमारी झाँक्री,बिनादेवी बुढाथोकी मगर,मुकुन्द न्यौपाने, कल्याणीकुमारी खड्का, लक्ष्मीकुमारी चौधरी,गंगा चौधरी सत्गौवा,निरादेवी जैरु,समिना हुसेन,पुष्पाकुमारी कर्ण यादव, सरलाकुमारी यादव र कलिला खान रहेको बताइएको छ ।

टिप्पणीहरू